>>मुक्ति मोर्चाका दुवै समूहलाई औपचारिक वार्ताका लागि पत्र
काठमाडौ २७ माघ २०६३ । तराईमा उत्पन्न प्रदर्शन र हिंसा समाधान गर्न सरकारद्वारा गठित वार्ता समितिले तराईमा हिंसात्मक गतिविधि संचालन गरिरहेको तराई जनतान्त्रिक मुक्ति मोर्चासँग वार्ता गर्न पत्राचार गरेको छ।
वार्ता टोलीका संयोजक एवं कृषि तथा सहकारी मन्त्री महन्थ ठाकुरले तराईमा भएको आन्दोलनबाट पीडितहरुका लागि राहात वितरण गर्ने कार्य सुरु भइसकेको जानकारी पनि दिनुभएको छ।
तराई समस्या समाधान गठित सरकारी वार्ता समितिको शुक्रबार बसेको बैठकले तराईमा आन्दोलनरत पक्षसँग औपचारिक रुपमा वार्ता गर्ने निर्णय गरेको हो । सरकारी वार्ता समितिका संयोजक मन्त्री महन्थ ठाकुरको अध्यक्षतामा बसेको बैठकको निर्णयअनुसार तराई जनतान्त्रिक मुक्ति मोर्चाका ज्वाला सिंह समूह र जयकृष्ण गोइतले नेतृत्व गरेका दुवै मोर्चालाई औपचारिक वार्ताका लागि पत्राचार गरिएको छ।
आन्दोलनका क्रममा घाइते भएकाहरुको उपचारमा लाग्ने सम्पूर्ण खर्च सरकारले बेहोर्ने र अस्पतालमा उपचार गराइरहेका घाइतेहरुको कुरुवालाई प्रतिदिन १ सय ५० उपलव्ध गराउने निर्णय पनि बैठकले गरेको छ। वार्ता समितिलाई प्राप्त ५६ जना घाइतेको उपचार काठमाडौका विभिन्न अस्पतालहरुमा भइरहेको छ।
समितिको बैठकले प्रत्येक मृतकका परिवारलाई राहात स्वरुप १० हजार रुपैया उपलव्ध गराउने निर्णय पनि गरेको छ। यसैबीच तराईमा सो रकम वितरण कार्य सम्पन्न भइसकेको वार्ता समितिले जनाएको छ। आन्दोलनका बेला क्षतिग्रस्त भएका संरचनाको विवरण संकलन गर्ने निर्णय पनि बैठकले गरेको छ।
समितिले वार्ताका लागि नेपाल आदिवासी जनजाति महासंघलाई पनि पत्र लेखेको बताइएको छ। सरकारी टोलीले मधेशी जनअधिकार फोरमको टोलीसँग शुक्रबार नै वार्ता गर्ने गर्ने भने पनि दुई पक्षबीच औपचारिक वार्ता भने हुन सकेन ।
त्यसैगरी समितिको बैठकले महिला, आदिवासी, जनजाति, मधेशी, अपाङ्ग, उत्पीडित तथा उपेक्षित समुदाय हेर्ने प्रमुखलाई वार्ता टोलीको सम्पर्क प्रतिनिधिको रुपमा तोकिदिन आठ राजनीतिक दललाई अनुरोधसमेत गरेको छ।
No comments:
Post a Comment