नेपालको सम

Thursday, January 29, 2009

कतारी भेडों

कती प्याकींग गरेको मासु मात्र खानु भनेर फ्रेस खसी को मासु खानु पर्यो भनेर लिनु गाको, खसि त के पाइन्नथयो
भेडा मात्र भेटियो, भेडा पानी आचम्म को हुदारैछन्न ! हेर्नुस फोटो
ल भनुस के फर्क पाउनु भो नेपाली भेडा हरुमा र कतारी भेडा हरु माँ ........?
मैले पायेको फर्क चाई कतारि भेडा हरुको पुच्छर माँ हो नेपाली भेडा हरुको पुच्छर सानु हुन्नथयो, यिनीहरुको पुच्छर को भाग नै ५ देखि ७ केजी सामको हुनी रैछ ! जसले पाठी घर र गुद्वार लाई पानी छेको हुनी रैछ !


नेपाल माँ येसप्राकार का भेडा पाइन्छ पाइन्न त्यों ता मलाई जान्नकारी भयेन तर....... यहाका भेडा देख्दा मलाई चाई अनौठो लाग्यो !

Thursday, November 6, 2008

हिरोहोण्डा


"कति?"


"पैतीस"

"दिने कतिमा?"

"तीस"

"बीसमा दिने भए पाँचवटा लान्छु"

"हुन्छ", साहुनी उसको मोलमा दिन राजी भई । उसले मोलमलाई गर्न जान्ने भइछ । मैले पुलबाट नै उसलाई देखेको थिएँ । म जमल हुँदै ठमेल जाने ताकमा थिएँ तर उसलाई देखेर पुलबाट असन जाने बाटोतिर झरेँ । असनको बाटो दशैंको चहलपहलले निकै भीड भएको थियो । ऊ बाटोको मुखैमा त्रिपाल ओछ्याएर थापेको

पसलमा "कति?"

"पैतीस"

"दिने कतिमा?"
"तीस"

"बीसमा दिने भए पाँचवटा लान्छु"


"हुन्छ", साहुनी उसको मोलमा दिन राजी भई । उसले मोलमलाई गर्न जान्ने भइछ । मैले पुलबाट नै उसलाई देखेको थिएँ । म जमल हुँदै ठमेल जाने ताकमा थिएँ तर उसलाई देखेर पुलबाट असन जाने बाटोतिर झरेँ । असनको बाटो दशैंको चहलपहलले निकै भीड भएको थियो । ऊ बाटोको मुखैमा त्रिपाल ओछ्याएर थापेको पसलमा सानो बच्चाको लागि हुने सुरुवालमा मोलमलाई गर्दै थिई ।


पछिल्तिरबाट उसको कुममा हात राखे । ऊ तर्सिइन । म उसलाई तर्साउन चाहन्थे । ऊ नतर्सिने पनि भइछ, पहिला पहिला तर्सिन्थी ।


"ए तिमी ।", उसले सामान्य प्रतिक्रिया दिई । मेरो उत्तेजना स्वाट्ट घटेर गयो । म बिचरो हाँसो हाँसे, अगाडिका मात्र दाँत देखाएर ।


"एक महिनाको लागि ठीक हुन्छ?", उसले सुरूवाललाई नै महत्व दिई ।


"हुन्छ, हुन्छ । तीनचार महिनासम्मको लागि हुन्छ", साहुनीले जोडले भनी । छेवैमा हिरोहोण्डाको चिठ्ठा स्टल थियो, अनि त्यसैबाट आएको चर्को संगीत भन्दा पनि पसल्नी चर्केर बोलेकी थिई ।


"कसको लागि यो ?", मैले उसको हातमा भएको सुरुवालतिर इशारा गरे । मैले उसको हाल खबर सोधिन, तर उसका आँखाहरूले उसमा केही परिवर्तन आएको संकेत गर्दै थियो । मलाई त्यो भन्दा पनि उसको सुरूवाल किनाइले छक्क पार्यो र कौतुहल पनि ।


"मेरो नानीको लागि", उसले सहज भएर जवाफ फर्काई । उसको सहज जवाफले म भने असहज भए ।


"नानी? तिम्रो नानी ?", म उत्तेजित भए, "कहिले बिहे गर्यौ ?"


"उहिल्यै", उसले मतिर हेरेर भनी । मेरा आँखाहरूको आयतन आश्चर्यले पक्कै फराकिलो भएको हुनुपर्छ ।


मलाई अब के सोध्ने भनेर समय लाग्यो । ऊ सुरुवालको रंग छान्न लागि । धेरै भीड छ, घरी घरी मान्छेले ठेल्छन् पनि ! अर्को आइमाई पनि आई, तर भाउ सुन्ने बित्तिकै फत्फताई, "कान्ति अस्पतालतिर दशमा पाइन्छ, पैतीस रे !" अनि लागि असनको बाटो ।


"मलाई थाहा थिएँन त !", मैले दुखेसो गरे ।


"मैले थाहा नदिएको"


"तर तिम्रो त पामसँग पो प्रेम थियो नि हैन र ?", मैले प्रश्न गरे जब कि म राम्रोसँग जान्दथे, उसको पामसँग प्रेम थियो ।


"हो । किन लोग्ने मन नपरे अर्कोलाई माया गर्न पाइन्न र ?", उसले प्रतिप्रश्न गरी ।


उसको प्रेम उत्कर्षमा पुगेको थियो । म सबै जान्दथे, अलिकति उसले भनेकी थिई अलिकति पामले भनेको थियो । हुन त उसको प्रेम टुटेको पनि मलाई थाहा थियो तर पनि मैले नजानेको झैं गरे ।


"मलाई लागेको थियो मैले मात्र हल्ला गर्छु । उसले पनि आफ्नो भागको हल्ला गरेछ", उसले फिस्स हाँसेर भनी र फेरी सुरुवालतिरै फर्की, "यो होइन, त्यो त्यो"


"त्यसोभए यो कसको बच्चा?", मैले आँट गरेर सोधे ।


"मेरो", उसले छोटो जवाफ दिई, उही सहज पारामा ।


"मैले बाउको नाम जान्न खोजेको"


"के आमाले बच्चा मेरो भन्न पाउँदिन ?", ऊ चर्केर बोली । त्यो चर्काई नजिकैको गीतलाई चिर्ने भन्दा बेसी थियो ।


"पाउँछ्यौ तर त्यो पूरा जवाफ होइन । बच्चा आइमाई एक्लैले जन्माउन सक्तिन", म पनि चर्किए । मेरो चर्काइ पनि गीतलाई चिर्ने भन्दा बेसी थियो ।


"यो बजारको दुनियाँ हो, सम्झ आजभोली बिर्य बिक्रीमा पाइन्छ र मैले किन्ने क्षमता राखे", उसको कुरा भद्दा सुनियो, मलाई मन परेन ।


"के त्यसो भए टेस्टट्युब बेबी ?", मैले फेरी तुरुन्तै सोधे । ऊ जसरी पनि बच्चा जन्माउन चाहन्थी । मलाई थुप्रै पटक भनेकी थिई ।


"लोग्नेमान्छेसँग सुतेरै भएको हो", उसले हातमा भएको निलो सुरुवाल साहुनीतिर फ्याक्दै भनी, "कस्तो नमीठो कलर"


कस्तो भद्दा बोल्ने भइछ, दश महिनामा नै ।


"तिमी यस्तो पनि बोल्ने भयौ ?", मैले उसको हात समाए । मलाई उसको माया लाग्यो ।


"के नभए तिमी मलाई यत्तिकै छाड्छौ ?", उसले हात छुटाई ।


"के भयो ? कसरी भयो ?", म फेरी उसको हात समाउन चाहन्थे तर उसले हातमा खैरो र खरानी रंगको छिर्केमिर्के बुट्टा भएको सुरुवाल समाएकी थिई । चर्को गीतले गर्दा साहुनीले हाम्रो कुरा सुनुरहेकी थिइन तर बेलाबेलामा मतिर हेरिरहेकी थिई । उसको ग्राहकलाई मैले गफमा जो अलमाएको थिएँ ।


"मैले होसहवासमा बच्चा पाउने निर्णय गरेको हो, म बच्चा तुहाउन सक्थे । त्यसैले के भयो भनेर केही फाइदा छैन", उसले मलाई हेरी अनि पर पुलतिर नजर दौडाई । यस्तो लाग्यो उसले कुनै भयानक घटना भर्खर सम्झी र ऊ त्यसलाई सामान्य तरिकाले लिन चाहन्थी ।


"तिमी नेपाली समाजमा छौ, धेरै गार्हो छ", मैले उसलाई तर्साए ।


"म जसजसलाई भेट्छु पहिला त उनीहरूले मुख उज्यालो पारेर बधाई दिन्छन् नानी भएको र बिहे भएको दुवैको अनि श्रीमानको बारेमा सोध्छन, मेरो जवाफसँगै उनीहरूको अनुहार अँध्यारो हुन्छ । मलाई थाहा छ, म कट्ने बित्तिकै उनिहरू अनुमान गर्न थाल्छन्, म कोकोसँग हिँड्थे तिनीहरूको लिस्ट बनाउन थाल्छन् । मेरो बच्चासाथमा छ भने बच्चाको अनुहार कोसँग मिल्छ भनेर सोच्न थाल्छन् । त्यतिखेर मलाई ढुक्क लाग्छ, म नेपाली समाजमै छु भनेर", उसले मुसुक्क हाँसेर भनी, "हामीलाई जति अरूको बारेमा चासो राख्ने फुरत अरू कसलाई छ र ? ती केटाहरू जोसँग म मात्र सँगै हिडेको थिएँ होला, ती पनि लिस्टमा राखिन्छन्"


"म आमा भएको कुरामा गर्व गर्न चाहन्छु तर तिमीहरू मलाई यति सजिलै गर्व गर्न दिदैनौ । मलाई लागेको थिएँन तिमी मेरो बच्चाको बारेमा उत्सुक हुन्छौ, छोरा या छोरी ? कस्तो छ ? कहिले, कँहा जन्म्यो ? तिमीहरू सब एउटै कुरा जान्न चाहन्छौ बच्चाको बाउ। त्यो मान्छेको नाम जो यो कुरामा सहमत थिएन । म उसलाई कुनै दबाब दिन चाहन्न किनकि म सक्षम छु । यो मेरो निर्णय हो, मलाई यसमा कुनै खेद छैन । मलाई थाहा छ, तिमीहरू नयाँ कुरा पचाउन समय लिन्छौ", उसले बिस्तारै भनी । गीत बज्न बन्द भइसकेको थियो । उसले सुरुवाल पनि छानिसकेकी थिई ।



"के तिमी तिम्रो बच्चालाई पनि यसै भन्छौ ? उसलाई के जवाफ दिन्छौ ? कुनै नाम त तिमीले भन्नै पर्छ", मैले नाममा जोड दिएर भने ।


"मसँग एउटा नाम छ"


उसले सुरुवालको पैसा तिरी । भीड झन झन बाक्लिदै थियो । "एकसय साठी, एकसय साठी" "पचास पचास" भनेको जोड जोडले सुनिइरहेको थियो । मान्छेहरू मोलमोलाइ गरिरहेका थिएँ ।


उसले मलाई एकछिन हेरी, म उसले भन्ने नाम सुन्न आतुर थिएँ । मेरो मनमा उसका केटासाथीहरू सबैको चित्र बनिरहेको थियो । म मनमनमा उसले यसको नाम भन्छे कि त्यसको नाम भन्छे भनेर तर्कना गरिरहेको थिएँ । उसले मेरो हात समाई, मैले उसको आँखा हेरे, शान्त थियो त्यो बिक्कुल शान्त !


"हिरोहोण्डा", उसले मेरो जिउ हिरोहोण्डाको स्टलतिर मोडिदिई र हिँडी ।

Saturday, October 4, 2008

यसपाली को दशैंमा त...


यसपाली को दशैंमा त सबलाई मालामाल होला !
द्भन्द पिडित मनमा पनि खुशी फालाफाल होला !


धेरै दशैं बारुद र बमले मनै फटाई गए,
यसपटक त फाटेको मन, पनी टालाटाल होला !
द्भन्द पिडित मनमा पनि खुशी फालाफाल होला

रङ्गी-बिरङ्गी दशैंहरु सम्झना मै सिमित रहे,
यो दशैंमा तास-जुवामा, पासा फालाफाल होला !
द्भन्द पिडित मनमा पनि खुशी फालाफाल होला !

गरीबी र अशान्तिले पिल्सिएका दशैं बीचमा,
यसपाली त ठूलो खसी, लुगा हालाहाल होला !
द्भन्द पिडित मनमा पनि खुशी फालाफाल होला !

बुद्दले आर्जेको शान्तिभूमी, रणभूमी भए पनि,
यो दशैंमा शान्ति खोज्दै, दियो बालाबाल होला !
द्भन्द पिडित मनमा पनि खुशी फालाफाल होला !

यसपाली को दशैंमा त सबलाई मालामाल होला !
द्भन्द पिडित मनमा पनि खुशी फालाफाल होला !

>>>( )>>>

Tuesday, September 9, 2008

फेरी एकपटक ...


मैले पहिलेपनि बाचा गरेको थिए तपाँइहरु समक्ष यदि तपाँइहरुले भुल्नु भएको छैन भने । घुम्दै फिरदै जाने क्रममा सबैकुराहरु एकैचोटि गर्न नभ्याइने र नसकिने पनि सँगै छदैछ । मेरो दिमागले मलाई आज यतापटि सर्च गर्त भनेर देखायो त्यसैले डि ड्राइभमा गएर एउटा फाइल क्लिक गरेजसको नाम साथी लेखिएको छ । अझ पनि म भित्र छिर्न चाहन्छु त्यो हो बच्चाबेलाको स्मरण ।

खासै तपाँइहरुको महत्वापुर्ण समयलाई खेर नफाल्नुहोस् यदि भैहाल्छ नी के भयो त भन्दै हुनुहुन्छ भने पढ्दा फरक पर्दैन । अन्तमा गएर बाड.फुसे कुरा पनि नभन्नुहोला भन्न सक्दिन । कागले आफ्नै नाम काड्दछ भनेजस्तै मैले केबल आफ्ना पहिलेका कुराहरुको स्मरण मात्र गर्न लागेको हु ।

अब बिषय प्रबेश तर्फ लागिहालौं । कुरा उही रमाइलो संसारको हो जतिबेला हामीहरुलाई रोएमात्र पुग्दथ्थो कुनैपनि कुरा सुल्झाउन वा कुनैपनि समस्या आइपरेको बेलामा । अहिले आएर झल झल सम्झन्छु उक्त दिनहरु । सोच्दछु फेरी एकपटक बच्चा हुन पाए पनि हुन्थ्थो । बच्चा हुने कुरा त के बच्चा बनाउने उमेर पनि नाग्न लागिसक्यो तर पारा भने अझै गएको छैन । आफैले आफ्नो खाडल खन्दै छु । त्यतीबेला भर्खर स्कुल जाने जोश चलेको थिथौ, नयाँ नयाँ बेला स्कुल जाने भनेको त पढ्न नभइकन खेल्न जस्तो लाग्दथ्थ्ाो । घरमा सबैले क्यार क्यार गरिरहने स्कुलमा त मास्टरको आँखा कान छल्न पाए भइहाल्यो । कक्षा छाडेर एकतिरको झाडिमा छिरे भइहाल्यो गाउँको ठाउँ बनमाराको धारी थिथो खेल्यो बस्यो ।

सबैजना उस्तै अधबेस्राहरु त्यो मा नै मज्जा हुन्थ्थो । त्यतिमात्र नभएर दादा, दिदीहरुको लागि ल्याएर बुबाले राखिदिनुभएको कपिहरुको त के कुरा गर्नु । अत्याधिक बाठो बनेर सिंगै कपि लिइ जाँदा अरुहरुले थाहा पाउनुहुन्छ भनेर भित्रदेखिबाट पन्ना छ्ट्टयाइ लगेर साथीहरुसँग मिलि चक्लेट पनि खाइयो बच्चो बेलामा गुलियोको स्वाद त्यसको कुरा नै छाडिदिउँ । पहिले चकलेट खाएर गुलियो बनाएको मिठो मुखवाट सोधिएका प्रश्नको नराम्रो उत्तर दिदा, चक्लेट भाग लगाउँदा कसैले धेरै खान्छकी भनेर हेर्ने तिखा आँखाहरुबाट धेरै आशुहरु खस्योपनि सजाय भोग्नुपर्दा। त्यो बेलामा कसले थाहा पाइदिने यो राम्रो काम हो त्यो नराम्रमो काम हो भनेर संझाएको । बास मिठो मिठो खान, नयाँ राम्रो लगाउन र खेल्न जान पाए पुग्ने । साथीहरु पनि उस्तै जतिबेला पनि सानो निहुमा पनि झगडा गर्नु पर्ने सबैलाई सबैजना मै हु भन्ने उसको सासन लाद्न खोज्ने । किन पो मन पर्दछ र ।

शुरुको बर्षमा हाबा खाएर हिड्दा परीक्षामा फेलको परिणम पाउँदा त्यतिबेला लागेको चोट त अहिले कुनै परीक्षा अनुतिर्ण भइयो भनेपनि लाग्दैन । हो त्यति बेला सँगै भएका मेरा साथीहरु अझसम्म पनि छन् तर अहिले को कता पुग्यो को कता । खासै सम्पर्कमा ३।४ जनाजति छन् भेट भएको बेलामा त्यहि बिगतमा आफुले मच्चाएका क्रियाकलापहरु स्मरण गर्दा मा नै ठिक्क हुन्छ । खै तपाँइहरुलाई लाग्दछकी लाग्दैन म भने कहिलेकाही यसो सोचेर बस्दा यो पनि मनले सुटुक्क बताइहाल्दछ र झट्ट यो दिमागले सोच्न पुग्दछु फेरी एकपटक बच्चा हुन पाए 

Sunday, May 4, 2008

एउटा योद्धाको खोजी



म एउटा
प्रतिद्वन्दी योद्धाको खोजीमा छु
मेरो खोजीको त्यो योद्धा
मभन्दा ठूलो होस्
बलियो होस्
बहादुर होस्
शक्तिशाली होस्
सहासिलो होस् ।

बुद्धिमा होस्
विवेकमा होस्
विद्वत्तामा होस्
आस्थामा होस्
आचारमा होस्
विचारमा होस्
सत्यमा होस्
निष्ठामा होस्
र्धर्ममा होस्
र्कर्तब्यमा होस्
गराइमा होस्
बोलाइमा होस्
प्रेममा होस्
भावनामा होस्
अनि विश्वासमा होस् ।

युद्धको नियम अनुसार युद्ध लडोस्
युद्ध प्रतिशोधका लागि नगरेर
परिवर्तनका लागि गरोस्
हार्नु र जित्नु त छदैं छ युद्धमा
हार्नुलाई हिनता नमानोस्
जित्नुलाई जगजगी नठानोस्
म यस्तै विवेकवीर सत्यसाहसी
विद्वत्त बलियो प्रतिद्वन्दी योद्धाको खोजीमा छु,
म एउटा निशस्त्र युद्धको स्वागतमा छु ।

युद्ध लड्नु नै छ भने निर्धासँग के लड्नु
त्यो त्यसै कमजोर छ,
सिंहका सामू स्याल जस्तो !
युद्ध लड्नु नै छ भने सानासँग के लड्नु
त्यो त्यसै सेपिएको छ,
बटबृक्षको ओसमा परेको विरुवा जस्तो !
जित्नु नै छ भने ठूलैलाई जितौं
जित्दा जीतको मजा होस्
जित्नु नै छ भने बलियैलाई जितौं
हार्दा पनि हारको लज्जा नहोस्
जित्नु नै छ भने एउटा योद्धालाई नै जितौं
जुन योद्धासँग हारे पनि केही जितियोस्
अनि त्यो योद्धासँग हारे पनि केही सिकियोस् ।

शिव प्रकाश (हरैंचा/मोरङ
)

Tuesday, April 22, 2008

मेरी अनलाइन साथी


म आज निकै निरास छु । हिजो बेलुकापनि आस्था अनलाइन भएकी थिइन। “मेरै कुराले रिसाएर होला नि मैले किन त्यसो भने हुँला!” यस्तै कुराहारुले आज मेरो मनमा खैलाबैला मच्चिएकोछ। “रोशन ! के भो यार तलाई आज सन्चो छैन कि कसो?” निशान्तले धेरै पटक सोधिसक्यो, तर पनि हाँसिरहनु, बोलिरहनु पर्ने म आज निरास अनि चुपचाप छु।
आस्था मेरी अनलाइन साथी हो, उ अर्कै.. देश बस्छे । आजसम्म मैले र आस्थाले एकअर्कालाई देखेकाछैनौं । एक वर्षजस्तो अगाडी मेरो र आस्थाको चिनजान भएको थियो । आस्थालाई भेट्नु अघि मलाई …

“कुनैपनि मान्छेसंग …अलिअलि च्याट गर्दैमा साथीको दर्जा कसरी दिन सकिन्छ होला” जस्तो लाग्थ्यो । कतिपय ठाउँमा त यस्ता इन्टरनेट च्याटिङका विभत्स रुपहरु पनि देखिएकाछन् । त्यसैलेपनि म यसलाई त्यति विश्वास गर्दिनथिएँ । मेरा कतिपय साथीहरुका त अनलाइन प्रेमी प्रेमीकापनि छन्, यस्ता सम्बन्ध त अझैपनि मलाई फेसनको एउटा रुपमात्र लाग्छन् । यस्ता जमाना अनुसार अलि पुराना सोचाइहरु भएको भएपनि मैले आस्थासँग इमानदारी पूर्वक मित्रता गरें । “थाह छ ! मेरो दिमागमा तिम्रो एउटा तस्वीर बनिसकेको छ, म चित्रकार भएकोभए त्यो तस्वीर बनाएर पठाउँथें तर के गर्नु म पोट्रेट बनाउँन जान्दिन ” एकदिन मैले यसो भन्दा फुरुङ्ग परेकी थिई आस्था अनि उसको दिमागमा पनि मेरो छवि भएको कुरा बताएकी थिई ।
म आस्थासँग निकै खुलेर कुरा गर्न सक्छु । देशको परिस्थितिका विषयमा, सिनेमा र हिरोहिरोइनका विषयमा, पढाइका विषयमा, साहित्यका विषयमा, अनि आफ्नै विषयमा पनि मैले ऊसँग धेरै कुरा गरेको छु। एकवर्षको अन्तरालमा हामी बिच निकै गहिरो मित्रता गाँसिएकोछ, मैले आजसम्म उसँग कुनैपनि कुरा लुकाएको छैन । अनि शायद उसलेपनि इमानदारी पुर्वक हाम्रो मित्रतालाई अगाडि बढाएकी छे । कहिलेकाहीँ मलाई लाग्थ्यो ” म कसरी आस्थालाई यति विश्वास गर्न सक्छु र ! उसले भनेका सम्पूर्ण कुराहरु झुठा हुनसक्छन्, मेरो चोखो मित्रता, मेरा पवित्र भावनाहरु कतै भद्दा मजाक बनिरहेका हुनसक्छन् । ” यस्ता कुराहरुले मलाई कहिलेकाहीँ तनावपनि दिने गर्थे तर उसँग अनलाइन च्याट गर्न थालिसकेपछि भने म उसलाई पुरा विश्वास गर्थें । आस्था कसैको काल्पनिक नाम नै किन नहोस्, जसको छवि मैले आफ्नो दिमागमा राखेकोछु, उसैलाई म आस्था मान्छु , मेरी अनलाइन साथी आस्था ।
अस्ति उसले मेरा सामु अनौठो प्रस्ताव राखी । ” रोशन ! हामी भेटौं न एकदिन, आइ रियल्ली वान्ट टु मिट यु भन न कहाँ भेट्ने ?” म छक्क परें । अहिले सोच्दा त त्यति छक्क पर्नुपर्ने कारण केही थिएन । साथी मानेको मान्छेलाई एकपटक हेर्ने इच्छा लागेको होला उसलाई । तर त्यतिखेर मैले यी कुरा सोच्दै सोचिन । मेरो एकोहोरोपन नै त होला यो, म आस्थाको छविलाई नै साथी मान्थें । मेरो कल्पना मा जस्ती आस्था बसेकि छे, म उसैलाई साँच्चैकी आस्था मान्छु र मानिरहन चाहन्छु । यसो सोच्दा त यो मेरो पागलपन नै लाग्छ तर साँच्चै मैले आस्थालाई हेर्ने, उ कस्ती छे, जान्ने इच्छा कहिल्यै राखिन । ऊ पनि त मेरो छवि उसको दिमागमा भएको कुरा गर्थी, म उसको कल्पनाको पुकार भन्दा बिल्कुलै पृथक हुन सक्छु । यही कुराले हाम्रो मित्रता, हाम्रो सम्बन्ध टाढिंदै अनि चिसिंदै जानसक्छ । आस्थाको प्रस्तावपछि यहि सोचेको थिएँ मैले । आफूले सोचेका यिनै कुराहरुलाई बेलिबिस्तार लगाउँदै मैले उसलाई भनेको थिएँ ” आस्था साथीको रुपमा म तिमीलाई गुमाउन चाहन्न त्यसैले आइ एम भेरी सरी टु से, बट आइ क्यान नट मिट यु” । मेरा कुराहरु सधैं सकारात्मक लिने आस्थाले मलाई बुझ्न सकिन । ” ओके ओके! आइ गट इट, तिमी हाम्रो सम्बन्धमा इमानदार रहेनछौ, त्यसैले त भेट गर्न डराउँछौ” ऊ निकै रिसाएकी जस्तो लाग्यो मलाई । सम्झाउन खोज्दैमात्र के थिएँ, आस्था मसँग रिसाएर अफलाइन भई ।
अब त उसको रीस अलि शान्त भयो होला भनेर म हिजोपनि अनलाइन भएँ तर ऊ आइन । अनि मैले उसलाई एउटा लामो इमेल पठाएँ, आफ्नो मन भरिका सारा भावना त्यो इमेलमा छताछुल्ल पारिदिएको थिएँ मैले ।
“आज आस्था अनलाइन आउली कि नआउली ! मेरो इमेल त उसले पक्कै पढी होला, के सोची होला उसले फेरि” यिनै कुराले मेरो मथिंगलमा खलबली मच्चाउँदैछन् आज । आजपनि आस्थाले मलाई बुझिन भने म उसलाई भेट्छु नै बरु तर उसलाई गुमाउन सक्दिन भन्ने निर्णय गरें मैले । आफ्नो एकोहोरोपनका लागि त्यो चोखो मित्रतालाई बलि चढाउन चाहन्न म ।
कलेजमा एउटा बोझिलो दिन बिताएर घर फर्केपछि डराउँदै इन्टरनेट कनेक्ट गरें मैले। आस्था अनलाइन भएको कुरापनि थाह पाएँ तर किन किन उसँग कुरागर्न शुरुगर्नै डरलाग्यो मलाई । ” हाई पुकार तिम्रो इमेल पढें मैले, आइ एम सरी ल मेरो रुड बिहेबियरको लागि !” आस्थाले आफैं कुरा सुरु गरी । उसले मेरो इमेललाई सकारात्मक नै लिइछ, मेरा सारा तनावहरु उसका हरेक वाक्यसँगै घट्दै घट्दै गइरहे । ” तिमी चाहँदैनौ भने म भेट्ने कर गर्दिन, यु आर सो इमेसनल माइ फ्रेन्ड, म तिम्रो भावनामा ठेस पुर् याउन चाहन्न, हामी सँधै अनमाइन साथी भएर नै एकअर्काको सुखदु:खमा साथ दिनेछौं है त! अब त खुशी छौ तिमी ? ” उसले यसो भनेपछि त मेरो हर्षको सीमा रहेन । ” छु आस्था छु, म धेरै खुशी छु, धन्यवाद छ तिमिलाई मलाई बुझिदिएकोमा अनि यति राम्रो मित्रताको उपहार दिएकोमा, थ्याङ्क्स अ लट फर गिभिङ मी सच अ ब्युटिफुल रिलेसनसिप” यसरी आफ्नी साथी सामु आफनो खुशी जताएँ मैले ।
साँच्चै अब म ज्यादै खुशी छु । अघिसम्म बोझिले भएको मेरो मन, चङ्गा बनेर आकाशमा उड्दै छ जस्तो लाग्छ अहिले । म जे गर्छु भावनामा डुबेर गर्छु, यो कुरालाई कति राम्ररी बुझेकी छ उसले । मेरो भावुकतामा अनि मेरो एकोहोरोपनमा पनि राम्रो मित्र बनेर साथ दिएकि छ उसले । मलाई गर्व छ आज उ प्रति मेरी अनलाइन साथी,
आस्थाप्रति ।

Sunday, January 6, 2008

पौल्सर बाइक


ट्राफिक सिग्नल जस्तै थियो उनको लिपस्टिक पनी, परै बाट रातो ! किन दल्छन् केटीहरु यती धेरै लिपस्टिक ? कृत्रिमता, कृत्रिमता अनी मात्र कृत्रिमता !!! म छक्क पर्छु !

"अहो आशीष सर, आरामै ?" उसले म कुर्सिमा बस्ने बित्तिकै अनायासै मुस्कुराउँदै भनी । अहँ तिमीलाई देखे पछि फेरी मेरो ब्लड प्रेसर बढ़न थाल्यो भन्न मन लागेको थियो तर सकीन ........
"हेर्नुस न हिजो भर्खर काभ्रे फिल्ड पुगेर आएको, खुट्टा सुन्नीएर मेरो त बिजोग भयो नी आशीष सर!" उसले मलाई फेरी पनि बोल्ने मौका दिईन ।पेशा ले उ एउटा सिनियेर फिल्ड मार्केटीङ इंचार्ज र म म उभन्धा जूनियर । उसलाई जती फिल्ड जाँदाको अनुभव छ, मलाई पनी छ ! तर पनि उसले सुन्निएको खुट्टा देखाउन मलाई खुट्टा तेर्स्याइ, किन हो थाहा छैन........

"स्यान्डल राम्रो छ !" म सीधै पोइन्ट म आएँ, आखिरमा उसले खोजेको पनि त्यही हो क्यारे ! अनी मलाई काम पनि त गर्नु छ ।

"हेर्नुस न मेरो वहाँ ले अस्ती मेरो बर्थडे मा गिफ्ट दिनु भएको तर मलाई त कलर मनै परेन, धन्न मलाई जे पनि सुट गर्छ र मात्रै !"
कस्तो ओभरकन्फीडेन्स, म मनमनै मुस्कुराएँ ..........
"शीला जी मलाई थोरै काम गर्नुछ, एकछीन पछी गफ गरौंला नी हुन्न ?"
"हुन्छ नि, किन नहुनु !"

शायद उसको मसंग को गफ को कोटा सिद्धिएको थियो, आजलाई ! म काम मा ब्यस्त भएँ, ऊ भने अर्को कुनै कुर्सी चाहार्न तीर लागी, अर्को श्रोता को खोजिमा..........
"आशीष सर, आज त निकै चीटीक्क परेर आउनु भएछ नि ! भाउजुले धेरै मेहेनत गर्न थाल्नु भएछ अचेल तपाईको सरसफाइमा ! कान्छी ल्याउनुहुन्छ भन्ने पनि डर नभै ......"
"किन हजूर बुढो झुम्रे भएर हिंडछ र ?" मलाई झनक्क रिस उठ्यो, थाहा छ मलाई, म अली कालो छु, तर पनि के एपियरेन्स नै सबै कुरा हो र ?

"होइन रिसाउनु पो भयो सर त ! मैले त जोक मात्रै गरेको ! तपाई सारै सिरीयसली लिनु हुन्छ क्या कुरा ! "
कति बोल्छे बोल्छे यो ! बुढो त पक्कै बहीरो होला !यस्ता केटी हरु tolerate गर्न बुढो बहिरो हुने पर्छ !

"अनी हिजो सपींग मा के के किनियो त ?" मिले हिजो उसलाई सपींग मॉल मा भेटेको थिएँ, एक्लै थिइ । किन नहोस, उसको सपींग देख्द्दै सातो जन्छ होला बुढोको ! एलिजाबेथ की बहिनी, हरेक कुरा इम्पोर्टेड चाहिन्छ ।
"होइना हिजो त वहाँ को लागी मत्रै हो किन्न गएको !"

"वहाँ को लागी किन्न गएको, वहाँ नै हुनुहुन्न थियो त !" म हाँसें, पहिलो चोटी उसलाई गिज्याएर हाँस्न पाएको, कहाँ छोड्थें र म !
"होइन, हिजो बीजी हुनुहुन्थ्यो क्या !"
"सेक्रेटरी संग ?"
"छ्या ! कस्तो सोझो हुनुन्छा वहाँ !तपाइँ जस्तो हो त "
मलाई थाहा छ केटाहरु कस्ता हुन्छन्, मलाई पनि मेरी श्रीमती सोझो नै सोच्दी हो !
"आज नि आशीष सर, म साह्रै खुशी छू !"

मानौँ उसको सुख दुख सुन्ने मैले मात्र ठेक्का लिएको छु । गएर रामेलाई बहाना भन न भन्न मन मन लाग्यो, तर सकीन ।रामे लाई पनी कहाँ फुर्सद होला रा हाकिम लाई कहिले चिया चाहिंछ कहिले के कहिले के
"किन नी ?" अनायासै मेरो मुख बाट प्रश्न फुत्कियो ...
"मैले सोचेको थिएँ, बिहे पछी प्रेम कम हुन्छा होला भनेर तर आज हामी नगरकोट जाने, डेटींग मा !"
जोइटीङग्रे मोरो काम छैन, कहीं नभाकी त्यसकी बुढी !
"अनी हाकिम ले छुट्टी दिए त ?"
"आजलाई !"

दिइहल्छ नि, मुसुक्क हाँस्दी होला किन नदिनु ? ऊ बहिर निस्की, मैले झ्यालबाट हेरें, पौल्सर बाइकमा चपक्क टाँस्सिएर दुबै जना हुईँकिए ।

घर पुगने बित्तीकै श्रीमतीले सोधीन, "कस्तो गलेको जस्तो देखिनु भाको ! काम धेरै थियो हो ?"
"अँ, त्यस्तै त्यस्तै, गाड़ीमै गलें, अबा इन्स्टलमेन्टमै भएपनि एउटा बाइक चै किन्नु पर्ला !"
"ए, ल एकदम राम्रो बिचार, साँची कुन किन्ने ?" उ साँच्चै खुशी भई ।मैले चपक्क टाँस्सिएर दुबै जना हुईँकिएको समझिए ।
"पौल्सर नै ठीक होला नी होइन ?" म संग किन पौल्सर ठीक त्यसको भने जवाफ थिएन ।