>>यातायात व्यवसायीको अनिश्चितकालीन चक्काजामले जनजीवन प्रभावित
काठमाडौ ७ माघ २०६३
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले देशका विभिन्न स्थानमा यातायातमा भएको तोडफोड र मजदुरमाथि भएको दुर्व्यवहारको विरोधमा देशव्यापी रुपमा अनिश्चितकालीन चक्काजाम सुरु गरेको छ।
यसका कारण राजधानी उपत्यकाको यातायातसमेत प्रभावित भएको छ। चक्काजामका कारण आज बिहानदेखि उपत्यकामा निजी तथा सार्वजनिक सवारीका साधन निकै कम संख्यामा चलेका छन् । शुक्रबार लाहानमा भएको घटनाले यातायात संचालन गर्न सक्ने अवस्था नरहेको भन्दै नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले अनिश्चितकालीन चक्काजामको घोषणा गरेको हो । महासंघले स्थानीय रुपमा चल्ने छोटो दूरीका यातायातका साथै लामो दूरीका यातायातसमेत बन्द गरेका छन् ।
महासंघका अन्य मागहरुमा सडकमा चौपाया छाड्न, विस्कुन सुकाउनेजस्ता कार्यले दुर्घटना बढ्ने भएकाले सरकारले समयानुकुल सडक ऐनमा परिवर्तन गर्नुपर्ने, सडक दुर्घटनापछि विमा कम्पनीले नै घटनास्थलमा पुगी त्यहाँको निर्णयको दायित्व लिनुपर्ने, आतंकवादका कारण विमा कम्पनीहरुले लिदै आएको थप प्रीमियम खारेज गर्नुपर्ने आदि रहेका छन् । त्यसैगरी महासंघले मुलुकभर अस्तव्यस्त रुपमा संचालिन सवारी साधनलाई व्यवस्थित गर्न वर्कपरमिटका साथै संस्था दर्ता गर्नका लागि महासंघको अनिवार्य सिफारिसको व्यवस्था गर्नुपर्ने, सवारी साधन जाँच र वर्कपरमिटको समयावधि एक वर्षको हुनुपर्ने आदि मागसमेत राखेको छ।
प्रदर्शनका क्रममा सिराहाको लाहानमा अग्नि, ज्वाला, मितेरीलगायतका १६ वटा बस जलाउँदा पनि सरकारले व्यवसायीको पक्षमा नबोलेको आरोप लगाएको छ । त्यसैगरी शनिबार चितवनको नारायणघाटमा दर्जन बढी सवारी साधन तोडफोड भएको थियो । यसै विषयलाई शनिबार साँझ ५ घण्टाभन्दा बढी समय यातायात व्यवसायीहरुले चक्काजामसमेत गरेका थिए ।
No comments:
Post a Comment