नेपालको सम

Sunday, January 21, 2007

>> नक्कली बाबु बनाई नागरिकता लिने तीन भूटानी शरणार्थी पक्रउ

काठमाडौ ७ माघ २०६३
एक जना नेपालीको छोरा बनेर झुठो व्यहोरा देखाई नेपाली नागरिकता लिएको आरोपमा स्थानीय प्रशासनले दोलखामा ३ जना भूटानी शरणार्थीलाई पक्राउ गरेको छ ।
दोलखाको सुन्द्रावती गाउँविकास समिति-८ का बलराम सिवाकोटीलाई नक्कली बाबु बनाई नागरिकता लिने लक्ष्मण सिवाकोटी, कुमार सिवाकोटी र सुवास सिवाकोटीलाई स्थानीय प्रशासनले शनिबार सदरमुकाम चरिकोटबाट नियन्त्रणमा लिएको हो । ३ जनाले शुक्रबार सुन्द्रावती गाउँविकास समितिमा खटिएको घुम्ती नागरिकता टोलीबाट नागरिकता लिएका थिए । पेसाले शिक्षक रहेका ती युवकहरु सदरमुकाम चरिकोटस्थित माउण्ट भ्याली र गौरीशंकर स्कुलमा पढाउँथे । ३ जना भुटानी शरणार्थी भएको आशंका गरिएको छ । प्रमुख जिल्ला अधिकारी उद्धव बहादुर थापाले नियन्त्रणमा लिएका ३ युवकको विषयमा अनुसन्धान भइरहेको जानकारी दिनुभएको छ ।
त्यसैगरी नागरिकता वितरणको विषयलाई लिएर महोत्तरीको दुर्गम गाविस खेसहरा खयरबनीमा सुरक्षाकर्मी तथा स्थानीय बासिन्दाबीच शुक्रबार राति झडप हुँदा २ प्रहरी घाइते भएका छन् ।
स्थानीयबासीसँगको विवाद चर्किएपछि नागरिकता टोलीका कर्मचारीलाई सुरक्षा दिन खटिएको प्रहरीमाथि लक्षित गरी भिडबाट बम विस्फोट भएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले ४ राउन्ड हवाई फायर गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बमको छर्रा लागि अस्थायी प्रहरी पोष्ट खयरबनीका असई भोजराज पौडेल तथा प्रहरी हवल्दार राजकुमार सापकोटा घाइते भएका छन् । स्थानीयबासीको कुटपिटमा सख्त घाइते पौडेल तथा सापकोटाको अञ्चल अस्पताल जनकपुरमा उपचार भइरहेको छ । स्थानीय लालबाबु यादवका अनुुसार जलेश्वरबाट पुगेको थप प्रहरीले सो गाविसमा छापामारी पूर्व गाविस अध्यक्ष राधेश्याम झाका भाई श्याम सुन्दर झाका छोरा अजय झा, रामेश्वर यादव र राम प्रताप यादवलाई पक्राउ गरेको छ । जिल्ला प्रहरीले घटनामा संलग्न ४ लाई हिरासतमा लिएको पुष्टि गरेपनि नाम भने सार्वजनिक गरेको छैन । नागरिकता टोलीले खयरबनीमा नागरिकता वितरण सकेर छिमेकी गाउँ रघुनाथपुर जान लाग्दा गाउँलेले फारम भरेका करिब ३ सय गाउँलेलाई नागरिकता नदिई अन्यत्र जान नदिने बताएपछि विवाद चर्किएको थियो ।

No comments: