>>लाहानमा आज मारिनेको संख्या २ पुग्यो, ३ दर्जन घाइते, १२ घण्टे कर्फ्यु आदेश
काठमाडौ ८ माघ २०६३ । केही दिनदेखि अशान्त रहेको सिराहाको लाहानमा आज थप दुई जनाको मृत्यु भएको छ । आज मधेशी जनअधिकार फोरमका कार्यकर्ताहरुले लाहान इलाका प्रहारी कार्यालय कब्जा गर्न खोज्दा प्रमोद सदा र विजयकुमार साहनीको मृत्यु भएको हो ।
मृत्यु हुने सिराहाको महादेवा गाउँविकास समितिका जितेन्द्र सदा रहेको थाहा भएको छ । उनी कक्षा ९ मा अध्ययनरत विद्यार्थी रहेको बताइएको छ। विजयकुमारको वतन र ठेगाना खुल्न सकेको छैन ।
आज दिउँसो गोली चल्दा त्यहाँ थप १५ जना घाइते भएका छन् । घाइते तीन दर्जन बढी घाइते भएको र त्यसमध्ये ३/४ जनाको अवस्था गम्भीर रहेको र उनीहरुको लाहान अस्पतालमा उपचार भइरहेको छ । यस मध्येे नाम खुल्न नसकेका एक १२ वर्षको विद्यार्थीको पेटमा गोली लागेको छ । यसैगरी घाइते हुनेहरुमा इन्द्र नारायण चौधरी, अमेन्द्र कुमार यादव, प्रदिप कुमार यादव, उपेन्द्र यादव, गौरी शंकर मण्डल, राजाराम यादव, नन्दन खेतान, लालु प्रसाद यादव, मनोज प्रसाद गुप्ता, सचिन कुमार यादव, परशुराम यादव, उदित नारायण चौधरी, सचेस कुमार यादव लगायतका रहेका छन् । आज १ बजेपछि विद्यार्थीहरुले माओवादी नेताका पुत्ला लिएर इलाका प्रहरी कार्यालय अगाडि पुत्ला जलाउन पुगेपछि त्यहाँ ढुंगा-मुढा सुरुभएको थियो । स्थिति नियन्त्रणभन्दा बाहिर गएपछि आन्दोलनकारीहरुलाई प्रहरीले गोली चलाएको बताइएको छ । त्यहाँ कति राउन्ड गोली चल्यो भन्ने थाहा हुन सकेको छैन । घाइतेहरुको संख्या अझै बढ्न सक्ने बताइएको छ। सबै घाइतेको त्यही स्थानीय नीजि स्वास्थ्य क्लिनिकहरुमा र लाहान अस्पतालमा उपचार भएको र त्यहाँ कर्फयु लगाए पनि अहिलेपनि प्रदर्शन यथावतनै रहेको उनले जनाएको छ ।
यो घटनासँगै लाहानमा स्थानीय प्रशासनले अपरान्ह ४ बजेबाट १२ घण्टे कर्फयु आदेश जारी गरेको छ । प्रमुख जिल्ला अधिकारी शशीशेखर श्रेष्ठले अहिले ४ बजेदेखि भोलि विहान ४ बजेसम्म कर्फयु जारी गरिएको जानकारी दिनुभएको छ । उत्तेजित भिडलाई नियन्त्रणमा लिन प्रहरीले १२ राउन्ड हवाई फायर गर्नुका साथै ६/७ सेल अश्रु ग्यास समेत प्रहार गरेको थियो । यसअघि हिजो विहानदेखिको तनावका कारण लाहानमा आज विहान २ बजेसम्म कर्फयु थियो । मधेशी जनअधिकार फोरमका हजारौं कार्यकर्ताले प्रदर्शनसहित इलाका प्रहरी कार्यालयमा आक्रमण गरेपछि प्रहरीले गोली चलाउँदा २ जनाको मृत्यु भएको हो ।
गोली लागि घटनास्थलमै मारिएका व्यक्तिको शव सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ । यसअघि गत शुक्रबार पनि फोरमका कार्यकर्ता र माओवादीबीच झडप हुँदा १ जनाको मृत्यु भएको थियो । सो पछि तनावग्रस्त बनेको लाहान आज विहानबाट केही शान्त भएपनि घटना क्रममले फेरी हिंसात्मक मोड लिएको छ । प्रहरीले गोली चलाएपछि फोरमका कार्यकर्ताहरुको भिड तितरबितर भएको छ । यसअघि विहान ८ बजे लाहानस्थित लोकतान्त्रिक चोकबाट शान्ति र्याली निकाल्ने भनिएपनि फोरमले विरोधका कार्यक्रम जारी राखेकाले त्यो सम्भव भएन ।
यसैबीच फोरम कार्यकर्ताहरुले लाहानमा विरोध र्याली गरेका थिए । उनीहरुले स्थानीय लोकतान्त्रिक चोकमा गृहमन्त्री र माओवादी नेताको पुत्ला दहन गरेका थिए । बजार परिक्रमापछि आयोजित कोणसभामा फोरमका केन्द्रीय नेताहरुले सम्बोधन गरेका थिए । उनीहरुले जिल्लामा अनिश्चितकालिन शैक्षिक संस्था, कलकारखाना, भन्सार नाका, सरकारी कार्यालय बन्द गर्ने बताएका छन् । हिजो दलका नेताहरुले लाहान घटनाप्रति संयम अनाउन र सामाजिक सद्भाव बिग्रन नदिन सबैमा अपिल गरेका थिए । सातदलका जिल्लास्थित नेताहरुको बैठकले सबैलाई संयम अपनाउन र छलफलबाट निकास निकाल्न अपिल गरेको हो ।
त्यस्तै मधेशको प्रतिनिधित्व गर्ने ३७ सांसदले राजधानीबाट विज्ञप्ति जारी गरी समस्याको शान्तिपूर्ण निकासका लागि सरकारसँग आग्रह गरेका छन् । उनीहरुले घटनाको निष्पक्ष छानविनको माग गरेका छन् ।
यसैबीच लाहान घटनाको विरोधमा आज चौथो दिनपनि सिराहा बजार बन्द छ । औपचारिक रुपमा कसैले आग्रह नगरेपनि बजार रहेको छ । बन्दले सिराहा बजारमा डेरा गरी बस्ने सरकारी कर्मचारी र विद्यार्थीहरुलाई खानेकुराको समस्या परेको छ ।
सप्तरीको राजविराजमा आज फोरम सम्बद्ध युवाहरुले जिल्ला प्रशासन कार्यालय घेराउ गरी कर्मचारी थुनेका छन् । सप्तरीमा मधेशी जनअधिकार फोरमले अनिश्चितकालिन बन्द आव्हान गरेको छ । लाहान घटनाको विरोभधमा महोत्तरीको जलेश्वर बजार आज पनि बन्द छ । त्यहाँ फोरमका कार्यकर्ताले विरोध कार्यक्रमलाई निरन्तरता दिएका छन् ।
विद्यार्थी रमेशकमार महतोको हत्याको विषयलाई लिएर लाहानमा तनाव भड्कदा हिजो र अस्ति त्यहाँ रहेका झन्डै १ दर्जन सरकारी कार्यालयमा आगजनी तथा तोडफोडका घटनाहरु भएका थिए ।
No comments:
Post a Comment