नेपालको सम

Monday, January 22, 2007

>> सरकार र यातायात व्यवसायीबीच गृहमन्त्रालयमा वार्ता

काठमाडौ ८ माघ २०६३ । सवारी सुरक्षाको मागसहित यातायात व्यवसायीले गरेको चक्काजामका कारण आज दोस्रो दिनपनि देशभर सार्वजनिक यातायात ठप्प भएको छ भने यसै विषयलाई लिएर सरकार र व्यवसायीबीच गृहमन्त्रालयममा वार्ता हुने भएको छ ।
चक्काजामले राजमार्ग तथा विभिन्न जिल्लाको जनजीवन प्रभावित भएका छन् भने राजधानीमा पनि यसको असर पूर्ण रुपमा परेको छ। राजधानीमा सार्वजनिक यातायातका साधन नचलेपनि नीजि सवारी साधन केही मात्रामा चलेका छन् । चक्काजामको समर्थनमा आज पनि व्यवसायीहरुले राजधानीका विभिन्न भागमा टायर बाली सडक अवरुद्ध पारेका छन् । गंगबु, नारायण गोपालचोक, कोटेश्वर, ग्वार्खु, जडिबुटी, पुरानो बसपार्क, कलंकी, कालिमाटीको विष्णुमति पुल, लगायतका स्थानमा प्रदर्शनकारीले सवारी आवागमन अवरुद्ध पारेका छन् । व्यवसायीले सार्वजनिक यातायात मात्रै बन्द भने पनि प्रदर्शनकारीले नीजि सवारी समेत चल्न नदिएको सर्वसाधरणको गुनासो छ ।
यसैबीच समस्या समाधानका लागि आज अपरान्हसम्म सरकारी पक्षसँग वार्ता हुने नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले जनाएको छ । गृहमन्त्रालयमा अहिले १२.३० बजे वार्ताको लागि सरकारले व्यवसायीलाई बोलाएको छ । हिजो राति अबेरसम्मको गृहकार्यपछि आज वार्ता हुने भएको महासंघका महासचिव कृष्णप्रसाद अधिकारीले जानकारी दिनुभयो । वार्ता सहमतिमा टुंगिए आफूहरु तत्काल आन्दोलन फिर्ता लिन तयार रहेको उहाँले बताउनुभयो । अनिश्चितकालिन चक्काजामका कारण राजमार्गहरुमा छोटा तथा लामा दुरीका सवारी साधन गुडेका छैनन् भने शहरी क्षेत्रमा चल्ने छोटो दुरीका सार्वजनिक सवारी साधन प्रायःठप्प छन् । त्रिभुवन राजपथ, महेन्द्र, पृथ्वी, मेचीकोशी लगायतका मुख्य राजमार्ग तथा शाखा मार्गहरु ठप्प प्रायः रहेको छ । सरकारले सवारी साधन, चालक र यात्रुको पर्याप्त सुरक्षाको प्रबन्ध मिलाउन नसकेको भन्दै महासंघले हिजोबाट सार्वजनिक यातायातका साधन अनिश्चितकालका लागि बन्द गरेको हो ।

No comments: