>> लाहानमा ८ घण्टे कर्फ्यु, सिराहा बजारमा प्रदर्शन जारी
काठमाडौ १० माघ २०६३ । सिराहाको लाहानमा स्थिति आज पनि मत्थर हुने नदेखिएपछि स्थानीय प्रशासनले लाहान क्षेत्रमा ८ घण्टे कर्फयु आदेश जारी गरेको छ ।
स्थानीय प्रशासनले आज विहान १० बजेदेखि साँझ ६ बजेसम्म लाहान क्षेत्रमा कर्फयु आदेश जारी गरेको हो । सिराहाका प्रमुख जिल्ला अधिकारी शशीशेखर श्रेष्ठले क्रमसँगै खुकुलो गर्दै लाने जानकारी दिनुभयो । यसअघि विहान ४ बजे कर्फयु समाप्त भएपछि लाहानमा मानिसहरुको चहलपहल बढेको थियो । बजारका अधिकांश पसल बन्द भए पनि खुलेका केही पसलमा खाद्य सामग्री किन्नेहरुको घुँइचो लागेको थियो । जनजीवन सामान्यतर्फ उन्मुख रहेको छ ।
त्यस्तै लाहान घटनाको विरोधमा फोरमका युवाहरुले आज सुनसरीको इनरुवा बजार बन्द गराएका छन् । बजारका पसलहरु बन्द छन् भने राजमार्गका विभिन्न भागमा रुख ढालेर अवरोध सिर्जना गरिएकाले यातायात बन्द रहेको छ । फोरमकै आव्हानमा आज पनि बारा बन्द रहेको छ । सदरमुकाम बजार बन्द प्रायः छ, भने यातायातका साधनहरु कम गुडेका छन् ।
यसैबीच कर्फयुको बेला एम्बुलेन्स नपाउँदा समयमा उपचार नपाएर सिराहामा एक महिलाको आज विहान मृत्यु भएको छ । पाठेघरको नली फुटी बिरामी परेकी गोविन्दपुर-८ की २४ वर्षिया सुनिता महतोेको उपचारको क्रममा लाहान अस्पतालमा विहान ५ बजे मृत्यु भएको हो । अस्पतालका चिकित्सक पशुपति चौधरीले समयमै अस्पताल नल्याएका कारण बिरामीको ज्यान गएको जानकारी दिनुभयो । एम्बुलेन्स नपाएपछि विहान ४ बजे कर्फयु खुल्ने बित्तिकै महतोलाई मोटरसाइकलमा राखी अस्पतालमा पुर्याइएको थियो ।
त्यसैगरी लाहान घटनापछि तनाग्रस्त बनेको सिराहा बजारमा आज विहानदेखि प्रदर्शन सुरुभएको छ । कर्फयुका कारण हिजो शान्त देखिएको सिराहा बजारमा आज विहानबाट प्रदर्शनकारीहरुले दर्जनौं ठाउँमा टायर बालेर प्रदर्शन गरेका छन् । प्रदर्शनकारीहरुले हिजो कर्फयुको समयमा प्रहरीले सर्वसाधरणको घरमा पसी कुटपिट गरेको भन्दै नाराबाजी गरिरहेका छन् ।
यसैबीच कर्फयुको अवज्ञा गर्दै प्रदर्शन गरेको भन्दै नियन्त्रणमा लिएका दुवै जनालाई हिजो साँझ रिहा गरिसकेको जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएको छ । कर्फयु अवज्ञा गर्दै प्रदर्शन गर्ने र लखेट्ने क्रममा प्रहरीले प्रमोद कर्ण र पान पसले सोनुलाई पक्राउ गरेका थिए । प्रदर्शनकारीलाई खोज्ने क्रममा प्रहरीले आधा दर्जनलाई कुटपिट गरी घाइते बनाएको थियो ।
यसैबीच सिराहा र सप्तरीको विभिन्न संघ/संस्थाले मधेशी जनअधिकार फोरमलाई सरकारसँग वार्ता गर्न आग्रह गरेका छन् । सरकारले वार्ताको आव्हान गरेकाले वार्ताबाटै समस्याको निकास खोज्नुपर्नेमा उनीहरुले जोड दिएका छन् । सिराहास्थित मानवअधिकार संगठन, नेपाल शिक्षक संघ, व्यापार समिति, पेसागत संगठनहरुको सञ्जाल लगायतका अधिकारीहरुले फोरमलाई यथाशिघ्र सरकारसँग वार्ता गर्न आग्रह गरेका हुन् । आन्दोलन मात्रै समस्याको समाधान नभएको तर्क गर्दै उनीहरु नागरिकता वितरण, मतदाता नामावली संकलन लगायत आम सर्वसाधरणको जनजीवनमा प्रतिकुल असर पारेकाले आन्दोलन स्थगित गरी वार्ताबाटै निकास खोज्न आग्रह गरेका छन् ।
No comments:
Post a Comment