>> माओवादीकै प्रस्तावमा चित्रलेखा यादव उपसभामुख चयन
काठमाडौ ११ माघ २०६३ । नेपाली कांग्रेस प्रजातान्त्रिककी विधायक चित्रलेखा यादव व्यवस्थापिका संसदको उपसभामुख पदमा राजनीतिक सहमतिबाट निर्विरोध निर्वाचित हुनु भएको छ ।
आज बसेको व्यवस्थापिका संसदको बैठकले यादवलाई निर्विरोध निर्वाचित गरेको हो । यादवले विघठित प्रतिनिधिसभाको उपसभामुख भएर पनि काम गरी सक्नु भएको छ । आज यादवलाई उपसभामुख पदमा निर्वाचित गरियोस भन्ने प्रस्ताव नेकपा माओवादीका विधायक मातृका प्रसाद यादवले गर्नुभएको थियो । यो प्रस्तावलाई नेपाली कांग्रेसका विधायक रामबहादुर विष्ट, नेकपा एमालेका पर्शुराम मेघी गुरुङ र नेपाली कांग्रेसकी सुशिला स्वाँरले समर्थन गर्नुभएको हो । व्यवस्थापिका संसदको सभामुख पदमा सुवास नेम्वाङ यसअघि नै निर्वाचित भइसक्नु भएको थियो । तर चित्रलेखा यादव देशबाहिर रहेका कारण आज उपसभामुखको चुनाव भएको हो । ८ दलले व्यवस्थापिका संसदको सभामुख सुवास नेम्वाङ र उपसभामुख यादवलाई बनाउने निर्णय गरेको थियो । नव निर्वाचित यादवले आजै व्यवस्थापिका संसद समक्ष पद तथा गोपनीयताको सपथ पनि लिनु भएको छ ।
No comments:
Post a Comment