नेपालको सम

Thursday, January 25, 2007

लाहान, जनकपुर, विराटनगर र वीरगञ्जमा कर्फ्यु, भिडन्तको केहीको मृत्यु भएको आशंका, दर्जनौ घाइते


काठमाडौ ११ माघ २०६३
पूर्वी तराईमा विभिन्न माग राखेर आन्दोलनरत पक्षलाई सरकार तथा प्रधानमन्त्रीले छुट्टा-छुट्टै वार्ताका लागि आव्हान गरे पनि आगजनी, बन्द, तोडफोड तथा हिंसात्मक प्रदर्शनले झनै तिब्रता पाएको छ।
त्यसैगरी आज हिंसात्मक प्रदर्शन गरिहेको मधेशी जनअधिकार फोरमको विरोधमा समेत प्रदर्शन भएको छ। बन्द खुलाउन आग्रह गर्दै भएको फोरम विरोधी प्रदर्शनमा प्रहरी हस्तक्षेपपछि विराटनगरमा तनाव सुरु भएको थियो । मधेशी जनअधिकार फोरमले आव्हान गरेको आन्दोलनमा तराई जनतान्त्रिक मुक्ति मोर्चाले आफ्ना कार्यकर्तालाई सशस्त्र संघर्ष गर्न निर्देशन दिएपछि पूर्वी तराई थप आतंकित भएको हो ।
दैनिक कर्फ्यु लगाइएको सिराहाका साथै आज जनकपुर, वीरगञ्ज, विराटनगरमा पनि स्थानीय प्रशासनले कर्फ्यु लगाएको छ। राजधानीमा रहेका फोरमका अध्यक्ष उपेन्द्र महतोले शान्तिपूर्ण आन्दोलन गर्ने बताए पनि तराईको अवस्था भने फोरमकै नियन्त्रणभन्दा पनि बाहिर गइरहेको पाइएको छ।
आज बिहान सुनसरीमा निवासबाट कार्यालय जाँदै गरेका सहायक प्रमुख जिल्लाअधिकारी मोहनप्रसाद पोखरेल सवार गाडी प्रदर्शनकारीले तोडफोड गरेपछि प्रहरीले हवाई फायर गरेको थियो । सुनसरीमै फोरमका कार्यकर्ताले दर्जन भन्दा बढी सरकारी कार्यालयमा तालाबन्दी गरेका थिए । सुनसरीमा भएको तनावबारे एफएन न्युज सम्वाददाताले जनाएअनुसार सुनसरीको इनरुवामा दिनभर प्रदर्शनकारी र प्रहरीबीच झडप भएको थियो । बिहान सहायक प्रमुख जिल्ला अधिकारी पोखरेलको जीपमा आक्रमण गरी जलाउने प्रयास भएपछि प्रहरीले त्यहाँ तीन राउण्ड अश्रुग्याँस प्रहार गर्नुका साथै केही हवाई फायर समेत गरेको थियो । सो क्रममा प्रदर्शनकारीले प्रहार गरेको ढुंगा लागेर डीएसपी नरबहादुर जीसीसहित ६ जना प्रहरी घाइते भएका थिए । त्यस्तै प्रदर्शनकारीतर्फ रामचन्द्र महेतासमेत घाइते भएका थिए ।
त्यसैगरी बारामा पनि पूर्णतः बन्द रह्यो । त्यहाँको शिक्षण संस्थालगायत सबै पसल बन्द रहेको थियो । बारामा पनि मधेशी जनअधिकार फोरमले मंगलबारदेखि नै अनिश्चितकालीन बन्द आव्हान गरेको थियो । त्यसको असर बाराको सदरमुकाम कलैयालगायत अन्य प्रमुख बजार, शिक्षण संस्था, कलकारखाना सबै बन्द रहेको थियो । फोरमले साँझ कलैयामा कोणसभा आयोजना गरेको थियो ।
त्यसैगरी माओवादी पक्ष र मधेशी जनअधिकार फोरमका कार्यकर्ताबीच भएको झडपपछि तनावग्रस्त बनेको जनकपुरमा पनि बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म कर्फ्यु लगाइएको थियो । कर्फ्यु लगाएपनि जनकपुर आज दिनभर तनावग्रस्त नै रह्यो । जनकपुरमा आज भएको प्रदर्शनमा प्रहरीको गोली लागी दुई दर्जन बढी प्रदर्शनकारी घाइते भएको एफएन न्युज सम्वाददाताले जनाएका छन् । घाइते मध्य २ जनाको अवस्था चिन्ताजनक रहेको बताइएको छ। प्रदर्शनकारीहरुले स्टेशन क्षेत्रस्थित जनकपुर भन्सार कार्यालय, यातायात व्यवस्था कार्यालय र रामा होटलमा आगजनीसमेत गरेका छन् ।
जनकपुरबाट एफएन न्युज सम्वाददाताले जनाएअनुसार बिहानैदेखि सुरु भएको प्रदर्शनमा स्थानीय प्रशासनले बिहान १० बजेदेखि ५ बजेसम्म कर्फ्यु लगाए पनि त्यहाँ दिनभर प्रहरी र प्रदर्शनकारीबीच झडपहरु भएका थिए । स्थानीय प्रशासनले दिउँसोको कर्फ्यु सकिने बित्तिकै साँझ ६ बजेबाट पुनः कर्फ्यु लगाएको थियो । प्रदर्शनकारीहरुले दुई जनाको लाश आफ्नो कब्जामा राखेको आरोप लगाएका छन् । तर, प्रशासनले भने केही बताएको छैन । आज त्यहाँ दर्जनौ राउण्ड गोली चलेको र गोली लागेर दर्जन बढी घाइते भएको बताइएको छ। त्यस्तै जनकपुर अस्पतालमा आज विभिन्न किसिमले घाइते भएका ५३ जना भर्ना गरिएको र त्यसमध्य दुई जनालाई थप उपचारका लागि भारततिर लगिएको बताइएको छ। जनकपुरबाट एफएन न्युज सम्वाददाताले जनाएअनुसार आन्दोलनले उग्ररुप लिन थालेपछि राजावादीहरुसमेत सक्रिय रुपमा सडकमा उत्रिएका छन् ।
त्यसैगरी अनिश्चितकालीन मोरङ बन्द आव्हान गरेको मधेशी जनअधिकार फोरमले तोडफोड, आगजनी र लुटपाट मच्चाएपछि विराटनगरमा मध्यान्ह चार बजेदेखि राति १० बजेसम्म कर्फ्यु लगाइएको थियो । त्यहाँबाट प्राप्त पछिल्लो समाचारअनुसार बिहीबार दिउँसो बन्दको समर्थन र विरोधमा निस्केको दुई वटा जुलुस आमनेसामने हुँदा ढुंगा हानाहान भएको र झडपपछि बढेको तनाव नियन्त्रण गर्न प्रशासनले कर्फ्यु आदेश जारी गरेको हो । फोरमका कार्यकर्ताहरुले राजमार्गमा रोकिएका डेढ दर्जन बढी ट्रकका सिसा तोडफोड गरेका थिए । त्यसपछि बसपार्कमासमेत ११ वटा बस तोडफोड गरेका थिए । त्यहाँ दिनभर भएको प्रदर्शनका क्रममा ५ जना घाइते भएको बताइएको छ।
त्यसैगरी दंगा फैलने आशंकामा स्थानीय प्रशासनले वीरजञ्जमा पनि कर्फ्यु आदेश जारी गरेको छ। दिउँसो मधेशी जनअधिकार फोरमको आव्हानमा भइरहेको प्रदर्शनका क्रममा आज साम्प्रदायिक सद्भाव बिथोल्ने किसिमको हर्कत गर्न लागेपछि त्यहाँस्थित विर्तामा एउटा समिति बनेको र त्यस समिति र मेधशी जनअधिकार फोरमको जुलससँग झडप भएपछि प्रशासनले कर्फ्यु आदेश जारी गरेको बुझिएको छ। त्यसक्रममा कार्यालय र सर्वसधारणका घर र सवारी साधनहरुसमेत तोडफोड भएको थियो । यसरी तोडफोड सुरु भएपछि प्रशासनले कर्फ्यु लगाएको थियो । त्यसैगरी महोत्तरीबाट प्राप्त समाचारअनुसार मधेशी जनअधिकार फोरमले सरकारी कार्यालयमा ढुंगामुढा गर्नुका साथै माओवादी कार्यालय तोडफोड गरेका छन् ।
मधेशी जनअधिकार फोरमले सिराहाको लाहानबाट सुरु गरेको आन्दोलनले अहिले फोरमलाई नै खाने गरी अनियन्त्रित भएको टिप्पणी मधेशवासी नै गर्न थालेका छन् । फोरमको आन्दोलनका क्रममा ५ जनाले ज्यान गुमाइसकेका छन् भने आज समेत केहीको मृत्यु भएको आशंका गरिएको छ।

No comments: