नेपालको सम

Thursday, January 25, 2007

>> तराईमा सहायक सीडीओको गाडीमा आगजनी प्रयास

काठमाडौ ११ माघ २०६३ । तराईमा प्रदर्शन गरिरहेको मधेशी जनअधिकार फोरमका कार्यकर्ताले आज बिहान निवासबाट कार्यालय जाँदै गरेका सुनसरीका सहायक प्रमुख जिल्ला अधिकारी मोहनप्रसाद पोखरेल चढेको गाडी तोडफोड गरेका छन् ।
विहान ९.४५ बजे कार्यालय हिडेका पोखरेल लगायत जिल्ला प्रशासनका कर्मचारी चढेको को १ ज १९ नम्बरको जिपलाई आन्दोलनकारीले जिविस रोडमा जलाउने प्रयास गरेका थिए । प्रहरीले आगजनी हुन नदिन लाठ्ठी प्रहार गर्दा एकजना प्रदर्शनकारी घाइते भएका छन् भने १ जनालाई पक्राउ गरिएको छ ।
प्रदर्शनकारीले सडक तथा चोकमा टायर बालेपछि प्रदर्शनकारी र प्रहरीबीच विभिन्न स्थानमा झडप समेत भएको छ । स्थिति नियन्त्रणमा लिन प्रहरीले २ सेल अश्रु ग्याँस र केही राउन्ड हवाई फायर समेत गरेको छ । यसअघि फोरमका कार्यकर्ताले दर्जन बढी सरकारी कार्यालयमा तालाबन्दी गरिदिएका थिए । प्रहरीले सबै कार्यालयको ताला फोडी कार्यालय खोलेका छन् तर कार्यालयहरुमा सर्वसाधरणको उपस्थिति नगन्य छ । हड्तालका कारण बजार बन्द छ भने कुनै पनि सवारी साधन गुडेका छैनन् ।
यसैगरी मधेशी जनअधिकार फोरमले आव्हान गरेको अनिश्चितकालिन बारा बन्दका कारण आज पनि सदरमुकाम कलैया लगायत जिल्लाको जनजीवन प्रभावित भएको छ । बजार शिक्षण संस्थान, कलकारखाना लगायत बन्द रहेको छ । फोरमका बन्द आव्हानले विराटनगरमा पनि बजार र सार्वजनिक यातायात खुलेका छैनन् । यातायात बन्दले शैक्षिक संस्थाहरुमा पनि प्रतिकुल प्रभाव परेको छ । बन्दबाट ढुवानी अवरुद्ध भएपछि विराटनगरमा पेट्रोलियम पदार्थको अभाव सुरु भएको छ । आधा दर्जन पेट्राल पम्पहरुले पेट्रोल सकिएको संकेत लेखेर राखेका छन् । आयल निगमको क्षेत्रीय डिपोमा मौज्दात भएपनि ढुवानी गर्ने ट्याङ्कर नचल्दा अभाव सुरु भएको हो । लामो तथा छोटो दुरीका सवारी आवागमन बन्द हुँदा धनुषा, सप्तरी, सिराहा र झापा लगायतका जिल्लामा वैवाहिक समारोहमा जानेहरु भारतको जोगमनी हुँदै जाने क्रम गरेका छन् ।
यसैबीच विराटनगरका फोरम कार्यकर्ताले आन्दोलनका क्रममा सञ्चारकर्मीलाई अवरोध नगरिने जनाएका छन् । आफ्नो परिचयपत्रका साथमा समाचार संकलनका लागि सडकमा हिडेका पत्रकारलाई बाधा नगरिने उनीहरुले बताएका हुन् ।
यसैबीच विराटनगरमा अहिले ८ दल समर्थक विद्यार्थीले मधेशी जनअधिकार फोरमलाई वार्तामा जान आव्हान गर्दै शान्ति र्‍याली निकालेका छन् । फोरमलाई सरकारसँग वार्ता गरी समस्या समाधान गर्न आव्हान गरेका विभिन्न प्लेकार्डहरु सहितको विद्यार्थीहरुको र्‍यालीले नगर परिक्रमा गरेको थियो ।
यसैगरी समस्याको शान्तिपूर्ण निकासका लागि तत्काल वार्तामा बस्न सिराहाका विभिन्न संघ संस्थाहरुले मधेशी जनअधिकार फोरमलाई आग्रह गरेका छन् । उनीहरुले आज विज्ञप्ति जारी गरी जिल्लामा तनाव भड्कन नदिने उपाय वार्ता मात्रै भएको र सम्पूर्ण समस्याको समाधान वार्ताबाटै सम्भव भएको भन्दै फोरमलाई यथाशिघ्र वार्तामा बस्न अपिल गरेका छन् । यसरी विज्ञप्ति जारी गर्नेमा लाहानस्थित नेपाल चिकित्सक संघ, नेपाल स्वास्थ्यकर्मी संघ, ऐन प्याब्सन नेपाल तरुण दल, नेपाली कांग्रेस लाहान नगर कमिटि, नेपाल समाजिक सचेतना विकास केन्द्र र वातावरण तथा कृषि विकास केन्द्र रहेका छन् ।
त्यस्तै जनज्योती विकास केन्द्र, नेवि संघ लाहान क्याम्पस इकाई, महिला जागरण तथा बालबालिका पुनःस्थापना केन्द्र सिराहाले पनि विज्ञप्ति जारी गरी मधेशलाई तत्काल तनावबाट मुक्त गर्न फोरमलाई आग्रह गरेको छ ।
यसैबीच मधेशी जनअधिकार फोरमले प्रधानमन्त्री एवं मन्त्रिपरिषदले वार्तामा आउन गरेको आव्हानको स्वागत गर्दै त्यसलाई सकारात्मक रुपमा लिएको जनाएको छ ।
फोरमका अध्यक्ष उपेन्द्र यादवद्वारा आज जारी विज्ञप्तिमा मधेशी फोरमले मधेशी, आदिवासी जनजाति, दलित आदिका समस्या समाधानका लागि वार्ताको वातारण तत्काल निर्माण गर्न सरकारसँग आग्रह गरेको छ । फोरमले आन्दोलनमा तोडफोड, अशान्ति, आगजनी, साम्प्रदायिक हिंसा आदि घटना हुन नदिन आफ्ना कार्यकर्तासहित जनसमुदायमा अपिल समेत गरेको छ ।

No comments: