नेपालको सम

Saturday, January 20, 2007

आफ्नै आँगनमा नेपथ्यः


'यहाँ कार्यक्रम दिँदा आफ्नै आँगनमा छम्मछम्म नाँच्दै गाए झैँ लाग्छ ।' मैनापोखरी घटना गाउँदा गम्भीर देखिएका अमृत विस्तार रमाइलोतिर प्रवेश गर्दै थिए । दर्शक पनि मनखोलेर साथ दिने तरखरमा रहेको कुरा तालीको गडगडाहटले जनाउथ्यो । आफ्नो ठाउँबाट हुर्केर चर्चित भएको व्याण्डसित रमाउन पाउनु पोखरेलीका निम्ति झन उत्साह थप्ने विषय थियो । प्रौढ दर्शक तालीमा मस्त थिए भने युवायुवती कम्मर मच्काउन । हाल नेपाल यात्रामा रहेको नेपथ्य संगीत समूहले पोखराको दीपेन्द्र सभागृहमा माघ ५ र ६ गते प्रस्तुत गरेको सांगीतिक कार्यक्रमको सन्दर्भ हो यो । तस्वीरः नेपालय
सन् १९९० ताका काठमाडौमा अध्ययनरत पोखरेली दीपक राणा, भीम पुन र आफ्नो सक्रियतामा नेपथ्यको स्थापना भएको संस्मरण गर्दै अमृतले कार्यक्रममार्फत मनोरञ्जनका साथै देशप्रेम र नेपाली भाइचाराको भावलाई शक्तिशाली बनाउनु पर्ने आग्रह गरे । कार्यक्रम प्रस्तुत गर्दा हरेक ठाउँमा आफूले
'तपाईहरूलाई हाम्रो राष्ट्रिय झण्डा कत्तिको मनपर्छ ?' भन्ने प्रश्न गरेको उल्लेख गर्दै उनले त्यही प्रश्न पोखरेली माझ पनि दोहोर्‍याए । खचाखच हलबाट 'असाध्य मनपर्छ ' भन्ने जवाफ मात्र आएन, दर्शकले हातमा राष्ट्रिय झण्डा फहराउँदै अमृतसँगै रिमाल रचित 'रातो र चन्द्र सूर्यमा' स्वर मिलाए । दुईघण्टासम्म चलेको कार्यक्रमा नेपथ्यका चर्चित लोकप्रीय गीतका साथै श्याम तमोटको 'गाउँ गाउँबाट उठ' र प्रमोद हमालको 'आऊ मिलाऊ हाम्रा हातहरु' मा पनि अमृतले दर्शकबाट उत्तिकै माया बटुले ।
पोखराकै युवाबाट सुरु भएको नेपथ्यलाई यसपाली सिद्धार्थ क्लबको सक्रियतामा पोखरा भित्राइएको थियो । 'शान्तिको लागि शिक्षा' आवाजका साथ सम्पन्न कार्यक्रमको पहिलो दिन स्कुले विद्यार्थी, अपाङ्ग र सामाजिक तथा आर्थिक कारणले मनोरञ्जनबाट टाढा रहेका दर्शकलाई निःशुल्क प्रवेश गराइएको थियो । दोस्रो दिनको सःशुल्क कार्यक्रमबाट संकलित रकम भने सिद्धार्थ क्लबको कोषमा जम्मा हुने जानकारी गराइएको छ । साथै सो रकम सामाजिक कार्यमा खर्चने कुरा पनि क्लबका पदाधिकारीले जानकारी गराएका छन् ।
पुस ६ गते नारायणघाटबाट थालनी भएको नेपथ्य संगीत यत्राले निर्धारित २५ कार्यक्रम मध्ये महिनादिनमा १९ वटा कार्यक्रम सम्पन्न गरिसकेको कुरा मुख्य आयोजक नेपालयले जानकारी गराएको छ । आयोजकका अनुसार कार्यक्रम सम्पन्न अधिकांश ठाउँमा नेपथ्यका प्रस्तुतिलाई स्थानीय एफएम रेडियो र केवल टीभीले प्रसारण गरेको र त्यसले 'शान्तिको लागि शिक्षा' को आवाज अनगिन्ती दर्शक श्रोता बीच पुग्न सहज भएको पनि जनाएका छन् ।

No comments: