लाहान अझै तनावपूर्ण, राष्ट्र संघको गाडी तोडफोड, सर्वदलीय बैठक जारी
काठमाडौ ६ माघ २०६३
सिराहाको लाहानमा हिजो माओवादी कार्यकर्ताको गोली प्रहारबाट एक विद्यार्थीको मृत्यु भएको विरोधमा सिराहामा आज विहानैदेखि प्रदर्शन भएको छन् । लाहानको महेन्द्रचोकमा अहिले पनि स्थिति तनावपूर्ण रहेको छ ।
प्रदर्शनकारीहरुले ठाउँ-ठाउँमा टायर बालेर प्रदर्शन गरिरहेका छन् । प्रदर्शनका लागि लाहानका गाउँ-गाउँबाट मानिसहरु लाहानको महेन्द्रचोकमा भेला भएका छन् । हिजो मारिएका विद्यार्थी रमेश कुमार महतोको शवलाई लाहान बजार परिक्रमा गराई अहिले महेन्द्र चोकमा राखिएको छ । त्यहाँ अहिले सयौं प्रदर्शनकारीहरुले उत्तेजित भएर प्रदर्शन गरिरहेका छन् । प्रदर्शनकारीहरुले दोषीमाथि कारवाही र मृतकका परिवारलाई क्षतिपूर्ति दिनुपर्ने भन्दै आज शवको दाहसंस्कार गर्न दिएनन् । उत्तेजित प्रदर्शनकारीले राष्ट्रसंघको एउटा गाडी समेत तोडफोड गरेको छ । उत्तेजित भिडलाई नियन्त्रण गर्न प्रहरीले ६ राउन्ड हवाई फायर गरेको बताइएको छ । त्यस क्षेत्रमा व्यापक प्रहरी परिचालन गरिएको छ । उत्पन्न तनाव साम्य पार्न स्थानीय प्रशासनले ८ दलको नेताहरुसँग अहिले छलफल गरिरहेको छ ।
हिजो मधेशी जनअधिकार फोरमले गरेको चक्काजामको क्रममा गाडी चलाउने विषयमा फोरमका कार्यकर्ता र माओवादी कार्यकर्ताबीच भएको भनाभन झडपमा बदलिएको थियो । यसक्रममा माओवादी कार्यकर्ता सियाराम ठाकुरले चलाएको गोली लागेर विद्यार्थी रमेश कुमार महतोको मृत्यु भएको थियो । महतोका मृत्यु भएपछि उत्पन्न विवाद साम्य पार्न स्थानीय प्रशासनले रातभरि लाहानमा कर्फ्यु लगाए पनि त्यहाँ प्रदर्शन तथा आगजनीका घटनाहरु रोकिएको छैन । हिजो सो स्थानमा १४ भन्दा बढी सवारी साधन तोडफोड र आजगनी नभएका थिए ।
उता प्रदर्शनकारीको कुटाइबाट घाइते भएका गोली चलाउने ठाकुरसहित अर्का एक माओवादी कार्यकर्तालाई थप उपचारका लागि आज विहान धरान लगिएको छ ।
त्यस्तै मधेशी जनअधिकार फोरमका पक्राउ परेका सदस्यहरुलाई रिहा नगरेसम्मका लागि भन्दै आव्हान गरिएको जनकपुर बन्द अझै यथावत रहेको छ, तर फोरमका सदस्यहरुलाई भने हिजो नै रिहा गरिसकिएको छ ।
यसैबीच लाहानमा मारिएका रमेश कुमार महतोको स्मृतिमा आज सर्लाही सदरमुकाम मलंगवामा मधेशी जनअधिकार फोरमले शोकसभा गर्यो । फोरमका जिल्ला अध्यक्ष रविन्द्र यादवको सभापतित्वमा भएको कार्यक्रमका वक्ताहरुले घटनाबारे छानविन आयोग गठन हुनुपर्ने माग गरेका थिए । त्यस्तै उनीहरुले सरकारलाई घटनाको जिम्मेवारी लिन माग गर्दै दोषीलाई कारवाही र मृतकलाई सहित घोषणा गर्न समेत माग गरेको छ ।
No comments:
Post a Comment