>>मधेशी जनअधिकार फोरम कार्यकर्ताद्वारा तोडफोड र आगजनी
धनुषा । माघ १० गते
मधेशी जनअधिकार फोरमदारा आयोजित बन्दका क्रममा ०६३ माघ १० गते साँझ ४ बजे जनकपुरमा व्यापक तोडफोड र आगजनी भएपछि स्थानीय प्रशासनले साँझ ७ बजेदेखि बिहान ४ बजेसम्म कर्फ्यु आदेश जारी गरेको छ । जनकपुरको प्रसिद्ध जानकी मन्दिर नजिक रहेको जानकी प्रहरी चौकीमा आन्दोलनकारीले आगजनी गरेपछि परिस्थितिले उग्र रुप लिएको हो ।
आन्दोलनकारीले मिल्स एरियास्थित माओवादीको पार्टी कार्यलयमा आगजनी गरिदिएका छन् भने नजिकै रहेको रामा होटलमा तोडफोड गरेका छन् । सो क्रममा प्रहरीले हानेको अश्रुग्याँस र हवाइ फायरबाट १८ आन्दोलनकारी घाइते भएको मिथिला एफ एमका पत्रकार अजित तिवारीले बताए घाइतेहरुको नाम ठेगाना भने खुल्न सकेको छैन । लोड सेडिंगका र कर्फ्युका कारण क्षतिपूर्तिको यकिन हुन सकेको छैन ।
यसअघि दिउँसो २ बजे आठ राजनीतिक दलले निकाल्ने भनेको सद्भाव र्यालीले आन्दोलनकारीको अवरोधका कारण नगर परिक्रमा गर्न सकेन । र्यालीले जनकपुर रेलवे स्टेशनबाट शुरु भई पिढारी चोकमा पुगी कोणसभामा टुंगिएको थियो । रामानन्द चोकबाट शुरु भएको आन्दोलनकारीको जुलुश भानुचोक हुँदै रेल्वे स्टेशनतर्फअगाडि बढ्न लाग्दा रेल्वे स्टेशनमा जम्मा भएका आठ राजनीतिक दलका कार्यकर्तासँग भिडन्त हुने डरका कारण प्रहरीले आन्दोलनकारीको जुलुस भानुचोकमै रोकेको थियो । प्रहरीलाई आन्दोलनकारीले सामान्य ढुंगामुढा गरेपनि प्रहरी उनीहरुलाई त्यही रोकेका थिए । आठ दलको जुलुशलाई स्टेशनबाट मिल्स एरिया हुँदै पिढारी चोक जाने क्रममा भानु चोकमा रहेका आन्दोलनकारीले लखेटेपछि प्रहरीले मिल्स एरियामा आन्दोलनकारीलाई सामान्य लाठीचार्ज गरेको थियो ।
सरकारले आह्वान गरेको वार्ताका सम्बन्धमा मधेशी जनअधिकार फोरमका महोत्तरी अध्यक्ष रविन्द्र ठाकुरले प्रतिक्रिया दिँदै सरकारले सञ्चार माध्यमबाट मौखिक नभई लिखित रुपमा वार्ताको लागि आह्वान गर्नुपर्ने र त्यसअघि गृहमन्त्रीले राजीनामा दिनुपर्ने, त्यसो भएमा फोरम वार्ताको लागि तयार रहेको जनाउँदै फोरम वार्ताविरोधी नरहेको र वार्तादारा समस्या समाधानका लगि सधै तयार रहेका बताए ।
इश्वरी काफ्ले
No comments:
Post a Comment