नेपालको सम

Wednesday, January 24, 2007

>> लाहान घटनामा दरबारिया र धार्मिक अतिवादीको हातः प्रचण्ड

काठमाडौ १० माघ २०६३ । नेकपा माओवादीका अध्यक्ष प्रचण्डले लाहान घटनामा दरवारिया र धार्मिक अतिवादी षड्यन्त्रको हात रहेको दावी गर्नुभएको छ ।

अतिवादी र प्रतिगामी शक्तिहरुले तराईमा बबण्डर मच्चाउने योजना २ महिना अघि बनाएको जानकारी आफूलाई विश्वस्त सूत्रबाट आएको उल्लेख गर्दै प्रचण्डले उनीहरुबाट नियोजित रुपमानै षड्यन्त्र भएको उल्लेख गर्नुभयो । आफूले तराईमा हुने नियोजित षड्यन्त्रको जानकारी २ महिना अघि नै सरकारलाई दिएपनि बेवास्ता गरेका कारण तराईमा तनाव बढेको प्रचण्डले दावी गर्नुभयो ।

उहाँले मधेशको समस्या वास्तविक भएपनि त्यसको उपयोग प्रतिगामी तत्वले संविधानसभा निर्वाचन बिथोल्ने षड्यन्त्र गरेको आरोप लगाउनुभयो । प्रधानमन्त्रीद्वारा आज राजधानीमा आयोजित चियापान समारोहमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रचण्डले तराईको समस्या समाधान गरी अघि बढ्नुपर्नेमा जोड दिनुभयो । उहाँले लाहान घटनामा प्रयोग भएको हतियार माओवादीको नभएको दावी समेत गर्नुभयो । सहमति बमोजिम माओवादी नेतृत्वको सुरक्षाका लागि राखिएको हतियारबाट लाहानमा गोली नचलेको उहाँको दावी थियो । यद्यपि प्रचण्डले आफ्ना कुनै कार्यकर्ताले गोली चलाएको हुन सक्ने तर्फ इंगित गर्दै छानविन गरिने बताउनुभयो । मधेशी जनअधिकार फोरम तथा जनतान्त्रिक तराई मुक्ति मोर्चाप्रति निकै आक्रामक देखिनु भएका प्रचण्डले उनीहरुसँग वार्ता अस्वीकार गर्नुभयो ।

No comments: