>>यातायात मजदुरको हड्तालका कारण पूर्वाञ्चल र कलंकी प्रभावित
काठमाण्डौ जनवरी, ७
यातायात मजदुर संगठनहरुले आव्हान गरेको चक्काजामका कारण आज पूर्वाञ्चलमा सवारी अवागमन बन्द छ भने सोही घटनाको विरोधमा राजधानीको कलंकीमा समेत चक्काजाम गरिएको छ ।बन्दका कारण पूर्व क्षेत्रका प्रमुख सहरहरुबाट चल्ने लामो तथा छोटो दुरीका सवारी चलेका छैनन् भने सडकमा रिक्सा र मोटरसाइकल मात्र गुडेका देखिन्छन् । विराटनगरबाट कटारीतर्फ जाँदै गरेको यात्रु बसको ठक्करबाट गत पुस ३ गते इनरुवामा एक साइकल यात्रुको मृत्यु भएको थियो । घटनापछि पक्राउ परेका चालक हेम नारायण उराउलाई घटनाको प्रकृति विपरीत डर देखाई गाडी ब्याक गरी जानजान मारेको भन्ने बयान प्रहरीले गराएको आन्दोलनकारी यातायात मजदुरहरुले बताएका छन् । एउटै दिशामा रहेको बस अगाडिबाट साइकल यात्रीले बाटो काट्न खोज्दा दुर्घटना भएको उनीहरुको दावी छ ।सवारी दुर्घटनापछि समातिएका चालकसँग जबरजस्ती बयानमा हस्ताक्षर गराएको भन्दै विरोधमा निस्केको यातायात मजदुरले घटनाको यथार्थ अनुसार बयान लिन प्रहरीसँग माग गरेका छन् । चालकलाई सवारी ऐनमा मुद्दा चलाउनुको सट्टा कर्तव्य ज्यानअन्तर्गत कारवाही गर्न खोजेको आरोप लगाएका आन्दोलनकारी मजदुरहरुले हिजो कोशी अञ्चलमा बन्द गरेका थिए । चक्काजाम सुरु गरे पनि प्रहरी प्रशासनले कुनै प्रतिक्रिया नदिएपछि उनीहरुले आजदेखि पूर्वाञ्चालमा अनिश्चितकालिन चक्काजाम घोषणा गरेका हुन् ।यसैगरी सोही घटनालाई लिएर यातायात मजदुरहरुले राजधानीको कलंकीमा सवारी आवागमन बन्द गरेका छन् । बीच सडकमा सवारी साधन अलपत्र छोडेकाले त्यस क्षेत्रको सवारी आवागमन प्रभावित भएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । मजदुरहरुले बाटोमा टायर बाली सडक अवरुद्ध गरेपछि राजधानीबाट बाहिर जाने सवारी ठप्प छ ।
No comments:
Post a Comment