>> माओवादीका सबै तहका जनसरकार र जनअदालत विघठन
काठमाडौ ४ माघ २०६३
नेकपा माओवादीले अन्तरिम जारी भएसँगै आफ्नो पार्टीले गठन गरेका सबै तहका जनसरकार र जनअदालत भंग गरेको घोषणा गरेको छ।
यसै क्रममा माओवादीको माथिल्लो तहदेखि गाउँ तहसम्मका जनसरकार र जनअदालत भंग गर्ने निर्देशन दिइसकिएको पार्टी प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिनुभएको छ। माओवादी अन्तरिम सरकारमा जान लागेका बेला नेकपा माओवादीद्वारा गठित सबै तहका जनसरकार र जनअदालत भंग भएका हुन् । प्रतिनिधिसभा विघठनसँगै माओवादीको जनसरकार पनि भंग गर्ने आठ राजनीतिक दलबीचको सहमतिअनुसार नै माओवादीद्वारा गठित सबै तहका जनसरकार र जनअदालत भंग गरिएको सो पार्टीले जनाएको छ । माओवादी प्रवक्ता नेकपा माओवादी अब देशभर पार्टीको रुपमा रहे पनि सत्ताका रुपमा रहेका स्थानी अंगहरु समायोजन गरिएको बताउँदै अब स्थानीयस्तरमा सर्वदलीय संरचना निर्माण हुने बताउनुभयो । एक दशक लामो द्वन्द्वका क्रममा नेकपा माओवादीले गठन गरेका ९ वटा स्वायत्त प्रदेश, केन्द्र सरकार, जिल्ला जनसरकार, गाउँ जनसरकार र वडा जनसरकार विघठन भएका छन् ।
अन्तरिम व्यवस्थापिका संसदमा माओवादीको प्रवेश भइसकेको अवस्थामा माओवादीको केन्द्रदेखि गाउँतहसम्म जनसरकारको औचित्व नभएकाले जनसरकार भंग गर्ने निर्देशन पार्टीको सबै तहमा दिएको माओवादी स्रोतले जनाएको छ। यसका साथै राजधानीमा रहेको माओवादीको वार्ता सचिवालयसमेत बन्द गरी त्यसलाई सम्पर्क कार्यालयका रुपमा परिणत गर्ने तयारी भइरहेको स्रोतहरुले जनाएका छन् ।
नेकपा माओवादी अन्तरिम व्यवस्थापिकामा प्रवेशसँगै माओवादीका सबै तहका जनसरकार र जनअदालत विघठन गरिएपछि विगत दश वर्षदेखि क्रियाशील नेकपा माओवादीको समानन्तर सरकारको अस्तित्व समाप्त भएको छ।
No comments:
Post a Comment