नेपालको सम

Sunday, January 21, 2007

>>लाहान घटनामा विदेशी र दरबारको हात, सोमबार आठ दलको बैठक

काठमाडौ ७ माघ २०६३
नेकपा माओवादीका केन्द्रीय सदस्य एवं अन्तरिम विधायक देव गुरुङले लाहान घटनामा दरबारिया र शान्ति प्रक्रिया बिथोल्न खोज्ने विदेशीको हात रहेको बताउनुभएको छ भने यसै विषयलाई लिएर सोमबार राजधानीमा लाहान घटनाको विषयमा छलफल गर्न आठ दलको बैठक बस्ने भएको छ ।
उहाँले राजतन्त्र रहेसम्म यस्ता घटना घटिरहने बताउँदै भन्नुभयो- तत्काल गणतन्त्रको घोषणा गरिनुपर्छ । उहाँ भन्नुभयो- तराईमा दरबारले भिजिलान्ते पठाएर स्थिति असामान्य बनाउन खोजिरहेको छ । उहाँले मधेशको जनताको आवाज उठाइएको बहानामा दरबारका शिखण्डीहरु मधेशका नाममा स्थिति बिगार्नतिर लागेको आरोप लगाउनुभयो । उहाँले भन्नुभयो- मधेश दरबारसँगको लडाईंको केन्द्रबिन्दु बन्दैछ । उहाँले दरबारसँग जीवनमरणको लडाईं शुरु भएको पनि बताउनुभयो । लाहानमा गोली प्रहारबाट एक युवकको मृत्यु हुनु अत्यन्त दुःखद घटना भएको बताउँदै उहाँले त्यसको छानविन गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । लाहानमा लासको राजनीति गर्न खोजिएको र आफूहरुले लास खोसेर लगेको भन्ने कुरा भ्रामक भएको बताउनुभयो । प्रशासनले ढुलमुले र अस्थिर व्यवहार देखाउँदा घटना भएको उहाँले दावी गर्नुभयो । अमेरिकी राजदूतले माओवादीले भारतबाट थोत्रो हतियार ल्याएर कन्टेनरमा राख्दछन् भन्ने भनाइ कपोलकल्पित र कुटनीतिक मर्यादाविपरीत रहेको बताउनुभयो ।
नेपाली कांग्रेसका सहमहामन्त्री डा। रामवरण यादवले मधेशीलाई लडाउने र भिडाउने षड्यन्त्र भइरहेकाले त्यसतर्फ सचेत रहन आग्रह गर्नुभएको छ । उहाँले भन्नुभयो- मधेशी दाजुभाइ तथा दिदीबहिनीहरु मधेशी लडाउन खोजिदैछ, सचेत हुनुहोस् ।
यादवले तराईको समस्या समाधान गर्न सरकारले वार्ता अगाडि बढाउनुपर्ने बताउनुभयो । उहांले संशोधनका प्रावधान रहेको अन्तरिम संविधानको विरोधमा बन्द हड्ताल गर्नुलाई सही मान्न नमिल्ने पनि बताउनुभयो । उहांले लोकतन्त्रलाई संस्थागत गर्नेतर्फ लाग्न सबैलाई आग्रह गर्नुभयो । उहांले प्रश्न गर्नुभयो- आन्दोलनका समयमा मधेशी जनाधिकार फोरम कहां थियो रु माओवादीले अहिलेनै गणतन्त्रको घोषणा गर भन्नु लोकतन्त्रको बली देऊ भन्नु सरह हो भन्ने उहांको तर्क थियो । उहांले तराईमा बन्द हड्ताल फिर्ता गरी नागरिकता वितरणमा अगाडि बढ्न र सहयोग पुर्‍याउन आग्रह गर्नुभयो ।
कार्यक्रममा नेपाली कांग्रेस -प्रजातान्त्रिक० का महामन्त्री विमलेन्द्र निधिले सरकारको अदुरदर्शी कार्य र माओवादीको दम्भका कारण लाहान घटना घटेको बताउनुभयो । उहांले आठ दलको तत्काल बैठक बसी समस्या समाधानको उपाय निकाल्नुपर्नेमा जोड दिनुभयो । उहांले मधेशीको आवाजलाई सम्बोधन गर्नेतर्फ सजग हुन सरकारलाई आग्रह गर्नुभयो । उहांले भन्नुभयो- वार्ताबाट समस्याको समाधान गरिनुपर्छ, जनतान्त्रिक तराई मुक्ति मोर्चासंग पनि अबिलम्ब वार्ता अगाडि बढाउनुपर्छ । उहांले साम्प्रादायिक सदभावका लागि सबैलाई आग्रह गर्नुभयो ।
नेकपा एमाले स्थायी कमिटि सदस्य भरतमोहन अधिकारीले लाहान घटनातर्फ सरकारले अबिलम्ब ध्यान दिनुपर्ने बताउदै प्रधानमन्त्रीबाट विशेष अपिल सहितको सम्बोधन हुनुपर्नेमा जोड दिनुभयो । उहांले तराई जनतान्त्रिक मोर्चासंग पनि तत्काल वार्ता गर्नुपर्नेमा जोड दिनुभयो । उहांले भन्नुभयो- घटनाको नाजायज फाइदा लिन खोज्नेहरुबाट सचेत हुनुपर्छ
सामान्य प्रशासन राज्यमन्त्री धर्मनाथप्रसाद शाहले मधेशको मागलाई स्पष्ट सम्बोधन गर्न सरकारले अबिलम्ब कार्य गर्ने बताउनुभयो । उहांले हतियारको भाषा कसैले बोल्छ भने त्यो गलत भएको बताउदै सरकार चुप लागेर नबस्ने बताउनुभयो । उहांले माओवादीले लाससमेत थुतेर लगेकोमा आपत्ती जनाउनुभयो । संविधानमा आवश्यक संशोधनका लागि आफूले आवाज उठाउने समेत बताउनुभयो ।
नेपाल सदभावना पार्टी आनन्दीदेवीका उपाध्यक्ष भरतविमल यादवले लाहान घटनामा गृहप्रशासन दोषी भएको बताउनुभयो । उहांले दरबारिया र शान्ति प्रक्रिया भाड्न खोजने विदेशीको पनि घुसपैठ भएको सूचना प्राप्त भएको बताउनुभयो । घटनालाई साम्य पार्न प्रधानमन्त्रीबाट विशेष अपिल र पहल हुनुपर्नेमा उहांको जोड थियो । राज्य पुर्नसंरचना सम्बन्धि आयोग तत्काल बनाई कार्य अगाडि बढाउनुपर्ने उहांको भनाई थियो । उहांले साम्प्रादायिक सदभाव राख्न पनि आग्रह गर्नुभयो । मधेशी जनाधिकार फोरम नेपालका उपाध्यक्ष किशोरकुमार विश्वासले लाहान घटनामा सरकार र माओवादी दोषी भएको बताउनुभयो । आफूहरुले शान्तिपूर्ण आन्दोलन जारी राख्ने बताउदै उहाले मधेशको अधिकारको पूर्ण सम्बोधन हुनुपर्नेमा जोड दिनुभयो । उहांले अन्तरिम संविधान संशोधन गरी समानुपातिक निर्वाचन प्रणाली समावेश गर्नुपर्ने बताउनुभयो ।
त्यसैगरी तराईबाट प्रतिनिधित्व गर्ने नेपाली कांग्रेस, नेकपा एमाले र नेपाली कांग्रेस प्रजातान्त्रिकका ३४ जना सांसदले सिराहाको लाहानमा देखा परेको समस्याको शान्तिपूर्ण समाधान खोज्न सरकार, राजनीतिक दल र नागरिक समाजसाग आव्हान गरेका छन् ।
आज उनीहरुले एक प्रेस विज्ञप्ति जारी गर्दै घटनाको निष्पक्ष छानविन गरी दोषीमाथि कडा कारबाही गर्न र पीडितका परिवारलाई क्षतिपुर्ति दिन माग गरेका हुन् । नेपाली कांग्रेस संसदीय दलका मुख्य सचेतक आनन्दप्रसाद ढुंगाना, एमालेका महेन्द्रबहादुर पाण्डे र नेपाली कांग्रेस प्रजातान्त्रिकका टेकबहादुर चोख्यालले पनि सो विज्ञप्तिमा हस्ताक्षर गर्नुभएको छ। यसै विषयमा छलफल गर्न भोलि बिहान राजधानीमा आठ दलको बैठक बस्ने कार्यक्रम रहेको छ।

No comments: