>>लाहानमा व्यापक आगजनी, स्थानीय प्रशासनद्वारा १५ घण्टे कर्फ्यु आदेश जारी
काठमाडौ ७ माघ २०६३
२ दिनअघि गोली लागि एक युवकको मृत्युको घटनाबाट अशान्त भएको लाहानमा आज बिहानदेखि तनाव सुरु भएपछि स्थानीय प्रशासनले १५ घण्टे कर्फयु आदेश जारी गरेको छ ।
स्थानीय प्रशासनले सुरक्षा व्यवस्था अत्यन्त कडा पारेपनि विहानदेखि प्रदर्शनकारीले तोडफोड र आगजनी सुरु गरेपछि प्रशासनले बिहान ११ बजेदेखि राति २ बजेसम्म कर्फयु आदेश जारी गरेको हो । सम्भावित अप्रीय घटना रोक्न आज बिहानदेखि चोकचोकमा सशस्त्र प्रहरी परिचालन गरिए पनि प्रदर्शनकारीले बिहान लाहानस्थित ढेड दर्जन सरकारी कार्यालयमा तोडफोड र आगजनी गरेका छन् । मधेशी जनअधिकार फोरम सम्बद्ध विद्यार्थीहरुले लाहानस्थित सडक, वन, घरेलु, सिचाई, खानेपानी, इलाका प्रशासन, ट्राफिक कार्यालय, खाद्य संस्थान, भु-संरक्षण, आन्तरिक राजस्व, लाहान नगरपालिका लगायतका सरकारी कार्यालयमा आगजनी र तोडफोड गरेको छ ।
दुई दिनअघि मधेशी जनअधिकार फोरम र माओवादी कार्यकर्ताबीच लाहानमा झडप हुँदा माओवादीको गोली लागेर १६ वर्षिय रमेशकुमार महतोको मृत्यु भएको थियो । फोरम सम्बद्ध युवा विद्यार्थीले शोक सभामा गएराति माओवादीले हस्तक्षेप गरेको भन्दै आज बिहान एउटा ट्रक, वन र खानेपानीको २ वटा सवारी साधनमा आगजनी गरेका छन् । उनीहरुले दोषीमाथि कडा कारवाही, गृहमन्त्रीको राजीनामा र प्रधानमन्त्रीले मधेशी समुदाय समक्ष माफी माग्नुपर्ने बताउँदै आएका छन् । फोरम सम्बद्ध प्रदर्शनकारीले गएराति शवसहित लोकतान्त्रिक चोकमा धर्नामा बसेका बेला ४ वटा सवारी साधनमा आएका ४ दर्जन माओवादी कार्यकर्ताले हातपात गरेको आरोप लगाएका छन् । उनीहरुले माओवादीले जबरजस्ती शव लिएर गएको आरोप लगाए पनि माओवादीले त्यसको खण्डन गरेको छ । माओवादी जिल्ला सक्रेटरी अभिनाशले आफूहरुले पीडित पक्षको सहमतिमा शव लिएर गएको तर कोही कसैलाई हातपात नगरेको बताएका छन् ।
यसैगरी सिराहामा प्रदर्शनकारीले गृहमन्त्री र माओवादी नेता मातृका यादवको पुत्ला दहन गरेका छन् । पुत्ला दहनका क्रममा फोरम र माओवादी कार्यकर्ताबीच झडप हुँदा २ जना माओवादी कार्यकर्ता घाइते भएका छन् ।
त्यस्तै लाहान घटनाको विरोधमा आज मधेशी लोकतान्त्रिक मोर्चाले सर्लाहीको मलङ्गवा बन्द गरेका छन् । उनीहरुले माओवादीको सम्पर्क कार्यालयमा तोडफोड समेत गरेका छन् ।
त्यस्तै फोरमले आयोजना गरेको बन्दको कारण आज पनि बाराको जनजीवन प्रभावित भएको छ । सिराहा घटनाको विरोधमा सदरमुकाम कलैया बजार बन्द रहेको छ । त्यस्तै सुनसरीको लोकहीमा फोरम सम्बद्ध युवाहरुले एक मोटरसाइकलमा आगजनी गरेका छन् । त्यहाँका सम्पूर्ण शैक्षिक संस्था बन्द रहेको छ ।
No comments:
Post a Comment