संगीत यात्राले जुर्मुरायो जिरी
जिरी १४ माघ २०६३ । स्वीट्जरल्याण्डको जुरीखसँग तुलना गरिने जिरी कुनै बेला पर्यटकहरुले खचाखच हुने गर्दथ्यो । तर विगतको द्वन्द र सगरमाथा यात्रा गर्नेका निम्ति वैकल्पिक बाटो भएपछि जिरी सुनसान हुँदै गयो । सरकारी पदाधिकारीले समेत जिरी नटेकेको दशक नै भयो भन्दा फरक पर्दैन । यही सुनसान जिरीमा शनिबार भने अद्भूत चहलपहल छायो । चहलपहल छिनभरकै सही । यसले बजारका पर्खालमा घाम ताप्तै गरेका बुढापाकाका मनमा समेत आश जगायो । 'बेलाबखत यस्ता कार्यक्रम भइदिए हाम्रो जिरी फेरि ब्युतन्छ कि भन्ने आश जाग्दो रै'छ' नेपथ्यको कार्यक्रम हेरेर फर्केको भीडतर्फ हेर्दै पाको पुस्ताको एउटा समूह टिप्पणी गर्दै थियो ।
शान्तिको लागि शिक्षा नाराका साथ देश घुम्दै आएको नेपथ्यको कार्यक्रम ढुंगेस्वरी निमाविको खुला चौरमा सम्पन्न भएको थियो । गीति कार्यक्रममा हजारौं दर्शकको सहभागिता थियो । कार्यक्रम भइरहेको मुख्य थलोभन्दा बाहीरको अग्लो डाँडामा समेत ठूलो संख्यामा दर्शकहरु जम्मा भएका थिए । जिरी र चरीकोट बीचको मैना पोखरी घटनामा आधारित गीत प्रस्तुत गर्दा दर्शकहरु गम्भीर र भावुक देखिन्थे । दर्शकदीर्घामा मैनापोखरी घटनामा मारिएका शोभेन्द्र काफ्लेकी विधवा नानीमैंया काफ्ले कलिली बालिका नोना काफ्ले सहित उपस्थित थिइन् । सरकारी सेना र माओवादी भिडन्तमा शोभेन्द्र मारिएको दिन नोना जम्मा १९ दिनकी थिइन् ।
अमृतले दुख र पीरलाई सहदै अघि बढ्नु पर्ने सन्देश दिँदै कार्यक्रमलाई रमाइलोतर्फ मोडेका थिए । दिनको ठीक १ बजे सुरु भएको कार्यक्रम ठीक दुईघण्टासम्म सञ्चालन भएको थियो । कार्यक्रममा सुरुदेखि अन्तसम्म कायम रहेको अमृतको जोशिलो प्रस्तुतिको दर्शकहरुले प्रशंसामात्र गरेनन्, आफूहरु पनि उनीसितै जोशिएर गाउदै र नाच्दै रमाए । अमृतले जिरीको प्राकृतिक सुन्दरतामा रहेर सभ्य दर्शकबीच कार्यक्रम प्रस्तुत गर्न पाएकोमा खुशी व्यक्त गर्दै लोकपाराका गीत सुनाउनुका साथै देशभक्ति र चेतना मूलक गति पनि प्रस्तुत गरेका थिए । 'तालको पानी' गीतमा ताल मिलाइरहेका दर्शक 'गाउँ गाउँबाट उठ' र 'रातो र चन्द्र सूर्जे' मा नेपाली झण्डा फहराउँदै रमेका थिए । 'तिमी देऊ तिम्रा हातहरु' प्रस्तुत गर्दै बिदा माग्दा समेत दर्शकको भीड कार्यक्रम स्थलमै अडिग देखिन्थ्यो । जिरी उच्च मावि र नेपाल पत्रकार महासंघ, दोलखा शाखाको संयुक्त आयोजनामा भएको कार्यक्रमबाट संकलित रकमलाई सामाजिक कार्यमा खर्चने कुरा आयोजकहरुले जानकारी गराएका छन् ।
पुस ८ गते नारायणघाटबाट प्रारम्भ भएको संगीत यात्रा २०६३ ले जिरीसम्ममा २४ वटा कार्यक्रम सम्पन्न गरेको छ । संगीत यात्राको समापन कार्यक्रम माघ १७ गते बुधबार काठमाण्डौको वीरेन्द्र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा हुने कुरा मुख्य आयोजक संस्था नेपालयले जानकारी गराएको छ । कार्यक्रमको सफलताबाट प्रफुल्ल नेपालयका व्यवस्थापक किरण कृष्ण श्रेष्ठको भनाई छ-'नेपथ्यले उठाएको शान्ति, राष्ट्रियता र सद्भाव र समानताको आवाजलाई हरेक ठाउँका दर्शकले हार्दिकतापूर्वक स्वीकारेको पायौं । देशका विभिन्न ठाउँका दर्शकले दिएको आपसी सद्भावको सन्देश बोकेर काठमाडौ भित्रँदै छौं ।'
No comments:
Post a Comment