>> पर्सामा नागरिकता वितरण अनिश्चितकालका लागि स्थगित
वीरगंज, ५ माघ २०६३ ।मुकेश बस्नेत
नेपाल सरकारले गरेको निर्णयअनुसार नागरिकता वितरणका लागि जिल्ला प्रशासन कार्यालय पर्साले वीरगंज उपमहानगरपालिकामा नेपाली नागरिकता प्रमाणपत्र नेपाली नागरिकलाई वितरण गर्न पठाएको चारवटै टोली आज फिर्ता भएको र अनिश्चितकालका लागि नागरिकता वितरण कार्य स्थगित गरिएको छ ।
माघ १ गते ४ वटा टोली वीरगंज उपमहानगरपालिका कार्यालय अन्तर्गतका वडाहरुमा नागरिकता वितरण गर्न खटाइएकोमा, खटिइआएका टोलीले वीरगंज उपमहानगरपालिकाको १, ६, ११ र १५ मा नागरिकता वितरण कार्य प्रारम्भ गर्दा सिफारिस गर्ने व्यक्ति नगरपालिकाका कार्यकारी अधिकृतले भ्याउन नै नसक्ने गरी चाप र दबाव परेकोले मन्त्रिपरिषदले सिफारिस गर्ने व्यक्तिका सम्बन्धमा अर्काे व्यवस्था नगरुन्जेल नागरिकता टोली फिर्ता बोलाएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ ।
स्थानीय राजनीतिक दलहरुकै सहमतिमा नागरिकता वितरण स्थगित गरिएको बुझिएको छ । वीरगंजमा नेपाली नागरिकता प्रमाणपत्र हासिल गर्न आप्रवासी भारतीय नागरिकहरु संगठित भएका छन् । कानूनले निर्धारण गरेको प्रक्रिया नपुर्याई दबाबमूलक ढंगले नागरिकता वितरण टोलीमार्फत नागरिकता लिन खोजेको र प्रक्रिया पूरा गरेर आए मात्र सिफारिस हुने कुरा बताउँदा अनुचित दबाव समेत भिडले दिने गरेबाट नागरिकता वितरण कार्य बन्द भएको टोलीमा खटिआएका एक कर्मचारीले बताएका छन् ।
नेपाली नागरिकता पाउन नसकेका योग्यता पुगेका नेपाली नागरिकलाई अत्यन्तै लचिलो ढंगले नागरिकता वितरण गर्न जिल्ला प्रशासन कार्यालय पर्साले खोजेको अवस्थामा नेपाली नागरिकताका लागि योग्यता नपुगेका नेपालमा बसोबास गरेका अनेपालीले नेपाली नागरिकता प्रमाणपत्र लिन जोर जुलुम गरिण्रहेको बताइएको छ ।
योग्यता नपुगेकालाई नेपाली नागरिकता दिलाउन दलालहरु खटिएका छन् । नागरिकता लिन चाहनेहरुले दलालहरुलाइ पैसा समेत दिइरहेको व्यापक चर्चामा आएको छ ।
No comments:
Post a Comment