फोरमको तराई बन्दले पूर्व तराई प्रभावित, भिडन्तमा दुई जनाको मृयु
काठमाडौ ५ माघ २०६३
अन्तरिम संविधान जारी भएको भोलिपल्ट राजधानीमा प्रदर्शनसहित अन्तरिम संविधान जलाउने क्रममा पक्राउ परेका आफ्ना नेता तथा कार्यकर्ताको बिना सर्त रिहाईको मागसहित आन्दोलनमा उत्रिएका मधेशी जनअधिकार फोरम सम्बद्ध विद्यार्थीहरुले आव्हान गरेको बन्दको कारण पूर्वी तराईका केही जिल्ला प्रभावित भएको छन् ।
उनीहरुले सिराहा, सप्तरी, उदयपुर लगायतका क्षेत्रमा यातायात बन्द गराएका छन् । विद्यार्थीहरुले सडकमा अवरोध खडा गरेपछि ती जिल्लामा लामो तथा छोटा दुरीका सवारी साधन गुडेका छैनन् । फोरमका अध्यक्ष उपेन्द्र यादवसहित पक्राउ परेका ८ जना रिहा नभएसम्म आन्दोलन जारी राख्ने विद्यार्थीहरुले जनाएका छन् । गत मंगलबार राजधानीको माइतीघर मण्डलामा विरोध कार्यक्रम सञ्चालन गर्ने क्रममा पक्राउ परेका यादवसहित अन्य ८ जनालाई सरकारले सार्वजनिक मुद्दा लगाएर १० दिनको थुनुवा पूर्जी थमाएको छ । माइतीघर मण्डलाबाट पक्राउ परेकाहरुमा मधेशी जनअधिकार फोरमका अध्यक्ष उपेन्द्र यादव, रामकुमार शर्मा, महासचिव, वीपी यादव -केन्द्रीय सदस्य), अमरेशनारायण झा, निलम वर्मा, अवधेशकुमार सिंह, बलराम यादव, किशोर विश्वास, ओमप्रकाश चौधरी, सुरजकुमार मेहता, रामेश्वर राय, रामछविला यादव रहेका छन् । यसै गरी दिलीपकुमार यादव, नाथुराम यादव, रामभजन यादव, विजय चौधरी, बरुण यादव, नमोद यादव, कुमार कमलेन्द्र, भगवान यादव, जयकिरण यादव, श्याम महरा, सियाराम चौधरी, विष्णु यादव, रामकुमार यादव, कपिलेश्वर यादवलाई पनि पक्राउ गरिएको छ ।
यसैबीच । जनतान्त्रिक तराई मुक्तिमोर्चाका कार्यकर्ताले रौतहटमा एक डाँकाको आज बिहान गोली हानी हत्या गरेका छन् । डाँका विरुद्धको कारवाहीमा जनतान्त्रिक पक्षका अर्का एकको पनि मृत्यु भएको छ । जिल्लामा डकैतीमा सक्रिय हरि नारायण ठाकुरको सफाया गरिएको जनतान्त्रिकका रौतहट सैन्य कमाण्डर सुरेन्द्र मुखियाले बताएका छन् । ठाकुरमाथि समनफोरा गाविसको उत्तरीभेगमा आज विहान आक्रमण गरिएको हो । सो क्रममा आफैले बोकेको बन्दुक पड्केर जनतान्त्रिकको सैन्य विभागका सदस्य मनोज पण्डितको मृत्यु भएको हो । टेङ्ग्राहा गाविस घर भएका पण्डितले शरीरमा भिरेको बन्दुक अचानक पड्किदा उनको घटनास्थलमै मृत्यु भएको बताएको छ ।
No comments:
Post a Comment