नेपालको सम

Monday, January 22, 2007

>>लाहानको अवस्था सामान्य हुँदै, राजधानीमा शिर्ष नेताहरुको बैठक

काठमाडौ ८ माघ २०६३ । सिराहाको लाहानमा तीन दिनअघि माओवादीको गोली लागेर एक जना विद्यार्थीको मृत्यु भएको विषयलाई लिएर तनावग्रस्त रहेको लाहानको अवस्था आज बिहानदेखि केही खुकुलो भएको छ।
आज बिहानैदेखि लाहानको चोकचोक र बजारमा सर्वसाधारणहरुको बाक्लो उपस्थिति देखिएको छ भने पसलहरु पनि खुलेका छन् । यसैबीच दलहरुले बिहान लोकतान्त्रिक चोकबाट सद्भाव र्‍याली निकाल्ने तयारी गरिरहेका छन् । मानवअधिकारकर्मी तथा नागरिक समाजका प्रतिनिधिहरु विभिन्न नारा अंकित ब्यानर बोकेर लोकतान्त्रिक चोकमा जम्मा भएका छन् भने दलका कार्यकर्ताहरु पनि जम्मा हुने क्रम जारी रहेको छ।
यता राजधानीमा लाहान घटनालाई लिएर आठ दलको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्दैछ । बैठकमा सहभागी हुन विभिन्न दलका नेताहरु बालुवाटार पुग्ने क्रम यो समाचार पार्दाको समय ९.१५ बजेसम्म पनि जारी छ । आजको बैठकमा अन्तरिम सरकार गठनको विषयमा समेत छलफल हुने बताइएको छ। बैठक प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले बोलाउनुभएको हो । बैठकमा राजनीतिक दलहरुले मुलुकमा उत्पन्न समस्या समाधान गर्न प्रधानमन्त्री कोइरालाले देशवासीका नाममा विशेष सम्बोधन गर्नुपर्ने प्रस्ताव राखिने एमाले नेता भरतमोहन अधिकारीले जानकारी दिनुभएको छ। बैठकमा अन्तरिम संविधानअनुसार राज्यव्यवस्थाको पुनःसंरचनासम्बन्धी आयोग गठन गर्ने विषयमा पनि छलफल हुनेछ ।

No comments: