>> पूर्वी तराई तनावग्रस्त, माओवादीको गोली प्रहारबाट एक जनाको मृत्यु
काठमाडौ ५ माघ २०६३
राजधानीमा विरोध प्रदर्शनका क्रममा पक्राउ परेका आफ्ना नेताहरुको बिना शर्त रिहाईको माग गर्दै मधेशी जनअधिकार फोरम सम्बद्ध युवा विद्यार्थीले गरेको प्रदर्शनका कारण आज पूर्वी तराईका केही जिल्लाको जनजीवन प्रभावित भएको छ ।
प्रदर्शनकारी र माओवादी कार्यकर्ताबीच विवाद हुँदा सिराहाको लाहानस्थित मुख्य चोकमा माओवादी कार्यकर्ताले चलाएको गोलीबाट अपरान्ह २.४५ बजेतिर १६ वर्षिय एक युवकको मृत्यु भएको छ । माओवादी कार्यकर्ता चियाराम ठाकुरले चलाएको गोलीबाट न्यु मनकामना बोर्डिङ स्कुलमा कक्षा १० मा अध्ययरत सिराहा मझौरा-१ का रमेश कुमार महतोको मृत्यु भएको हो । दाहिने कोखामा १ गोली लागेका उनको घटनास्थलमै मृत्यु भएको लाहान प्रहरीले जनाएको छ । तनाव बढ्दै गएपछि स्थानीय प्रशासनले साँझ ६ बजेदेखि बिहान ४ बजेसम्मका लागि कर्फ्यु आदेश जारी गरेको छ।
मधेशी जनअधिकार फोरम नेपालका कार्यकर्ताले केन्द्रीय अध्यक्ष उपेन्द्र यादवसहित ८ नेतालाई राजधानीमा पक्राउ गरेको विरोधमा आज विहानदेखि लाहानमा टायर बालेर प्रदर्शन गरिरहँदा दिउँसो २ वटा मिनीबस र १ जीपमा झन्डासहित आएका माओवादी कार्यकर्ता र प्रदर्शनकारीबीच विवाद चलेको थियो । त्यसको केही क्षणमानै माओवादी कार्यकर्ता ठाकुरले १ राउन्ड हवाई फायर र अर्को राउन्ड भिडमा चलाएको गोली महतोको शरीरमा लागेको प्रत्यक्षदर्शीले जनाएका छन् । स्रोतहरुकाअनुसार सो क्षेत्रमा पूर्वबाट आइरहेका माओवादी नेतासहितको टोलीमाथि आक्रमण भएपछि माओवादीले गोली प्रहार गरेका थिए ।
गोली लागि मृत्यु भएपछि आक्रोशित प्रदर्शनकारीले ठाकुरलाई कुटपिट गरी उनीहरु चढी आएको को १ क १९८० नम्बरको र अर्को नम्बर नभएको मिनीबसमा आगजनी गरेका थिए । आगजनीबाट बस पूर्ण रुपमा नष्ट भएको छ । एउटा जीप भने भाग्न सफल भएको छ । प्रहरीले भिड नियन्त्रणमा लिन २ दर्जन राउण्ड हवाई फायर गरेको थियो । प्रहरीले गोली चलाउने ठाकुर र एक माओवादी कार्यकर्तालाई नियन्त्रणमा लिएको छ । आक्रोशित भिडले लाहान क्षेत्र वरपर सडकमा पार्किङ गरिराखेको मितेरी यातायातको ना २ ख ८८०५, ना २ ख २१२२ नम्बरको २ वटा बस अग्नि यातायातको ना २ ख ४९४७ र ना २ ख ७५७० नम्बरको २ वटा बस ४ वटा स्थानीय रुटमा चल्ने बस र २ मालबाहक ट्रकमा आगजनी गरी ध्वस्त बनाएका छन् । बसमा आगो सल्किएर विद्युत तारमा समेत आगलागी हुँदा केहीबेर लाहानको विद्युत् अवरुद्ध भयो । दिनभर तनावग्रस्त बनेको लाहान बजार साँझसम्म पनि तनावग्रस्त छ ।
यसैबीच नेपाल मानवअधिकार संरक्षण केन्द्र लाहान, नेपाल मानवअधिकार संगठन सिराहा शाखा, नेपाल मानवअधिकार र विकास केन्द्र फुलबरिया, समग्र जनउत्थान केन्द्र लाहान, इन्सेक जिल्ला प्रतिनिधि सिराहा र एमाले निकट नेपाल बुद्धिजीवि परिषद लाहानले आज विज्ञप्ति जारी गरी सो घटनाको भर्त्सना गरेका छन् । सिराहाको चोहरबा खण्डमा मनोजसिंह, त्रिभुवन मुखिया, जगदिश यादव, रम सेवक यादव लगायतका युवा समुहले विहानैबाट टायर बालेर सडक अवरुद्ध गरेका थिए । अवरोधका कारण महेन्द्र रागमार्गमा मोटरसाइकल समेत चल्न सकेनन् । पश्चिम तथा पूर्वबाट आएका सवारी साधन चोहरबामै रोकिदा यात्रुहरु दिनभर बीच बाटोमै अलपत्र परेका थिए ।
उनीहरुले सिराहा, सप्तरी, उदयपुर, बारा लगायतका जिल्लामा सडक अवरुद्ध गर्दा लामो तथा छोटो दुरीका सवारी साधन चलेनन् । राजधानीमा पक्राउ परेका फोरमका अध्यक्ष उपेन्द्र यादवसहित ८ जना रिहा नभएसम्म आन्दोलन जारी राख्ने उनीहरुले बताएका छन् । अन्तरिम संविधानमा मधेशीलाई नसमेटिएको भन्दै गत मंगलबार राजधानीमा विरोध कार्यक्रम गर्दा पक्राउ परेका यादवसहितका ८ जनालाई सरकारले सार्वजनिक मुद्दा लगाएर १० दिने पूर्जी थमाएको छ । आफ्ना नेताहरुको रिहाईको माग गर्दै फोरम सम्बद्ध युवाले गरेको प्रदर्शनका क्रममा आज दिनभर सिराहा तथा आसपासका क्षेत्रको जनजीवन प्रभावित भयो । सबै भन्दा बढी आज सिराहाको लाहान क्षेत्र तनावग्रस्त बनेको छ ।
यसैगरी प्रदर्शनकारीले विहानदेखि सिराहा बजारका ठाउँ-ठाउँमा टायर बालेर प्रदर्शन गरेका थिए । मधेशी युवा विद्यार्थीको आव्हानमा दिरभर बजार र शिक्षण संस्था बन्द रहेको छ ।
यसैबीच फोरम सम्बद्ध मधेशी विद्यार्थी संघका केन्द्रीय उपाध्यक्ष सुरेन्द्र कुमार मण्डलले साँझ विज्ञप्ति जारी गरी फोरमका नेताहरुलाई बिना शर्त रिहा नगरे भोलिदेखि सिराहामा अनिश्चितकालिन चक्काजाम गर्ने चेतावनी दिएका छन् । विज्ञप्तिमा पर्सी ७ गतेबाट सञ्चालन हुने एसएलसी टेष्ट परीक्षा समेत सञ्चालन हुन नदिने चेतावनी दिएको छ । यसैगरी फोरम सम्बद्ध युवाले बाराको कलैयामा दिउँसो २ घण्टा टायर बालेर चक्काजाम गरेका छन् ।
उता जनकपुरमा फोरमका नेताहरुको रिहाईको माग गर्दै आज तेस्रो दिनपनि फोरमका कार्यकर्ताले सार्वजनिक यातायात अवरुद्ध गरे । सो क्रममा जनकपुरको रामानन्द चोकमा एक नीजि जीपमा आगजनी गरिएको छ । ३ दिनदेखि जनकपुरको रेल सेवा अवरुद्ध छ ।
No comments:
Post a Comment