>>अज्ञात समूहको गोली प्रहारबाट एकको मृत्यु, बस र ट्रक जलाइयो
काठमाडौ १३ पुस २०६३ ।
जनतान्त्रिक तराई मुक्ति मोर्चा ज्वालासिंह समुहले आज विहान पूर्व पश्चिम महेन्द्र राजमार्ग अन्तर्गत सप्तरी जिल्लाको भारदह-१ मा १ जनाको गोली हानी हत्या गरेको छ ।
साथै उनीहरुले २ सवारी साधन जलाएका छन् । घटनामा अन्य २ जना घाइते भएका छन् । जनतान्त्रिक तराई मुक्तिमोर्चा ज्वालासिंह समूहले घटनाको जिम्मेवारी लिएको छ । मोर्चाका २४/२५ जना सशस्त्र हतियारधारी कार्यकर्ताले काठमाडौबाट मोरङतिर गइरहेको ना २ ख ३९७१ नम्बरको चन्द्र सुर्य ट्राभल्सको बस र नारायणगढबाट कुखुराको दाना अण्डा लिएर विराटनगर जाँदै गरेको ना २ ख ३४४७ नम्बरको मालबाहक ट्रकलाई रोकी विहान ५ बजे आगजनी गरेका थिए ।
बस नियन्त्रणमा लिई अपहरण गर्न खोज्दा भएको झडपमा मोर्चाका कार्यकर्ताले चलाएको गोली लागि दोलखाको च्यामा-६ बस्ने १८ वषिर्य अर्जुन फुयालको मृत्यु भएको सप्तरी प्रहरीले जनाएका छन् । फुयालको कन्चटमा १ गोली लागेको छ । घटनामा गोली लागी मधुमल्हा-३ का ३० वषिर्य रामेश्वर प्रसाद निरौला र भारतीय नागरिक २४ मनोज शर्मा घाइते भएका छन् ।
टाउकोमा गोली लागी गम्भीर घाइते शर्मालाई उपचारका लागि धरान लगिएको प्रहरीले जनाएको छ । खुट्टामा चोट लागेका निरौलाको सगरमाथा अञ्चल अस्पताल राजविराजमा उपचार भइरहेको छ । यात्रु ओरालेर आगो लगाइएको बसमा रहेका सम्पूर्ण समान जलेर नष्ट भएका छन् । करिब ४० जना यात्रु भएको बसलाई नियन्त्रणमा लिई मोर्चा कार्यकर्ताले मोवाइल र नगद लगेको छ । जनतान्त्रिक तराई मुक्तिमोर्चा ज्वालासिंह समुहका सप्तरी संयोजक विवसले टेलिफोन गरी घटनाको जिम्मेवारी लिएका छन् ।
No comments:
Post a Comment