नेपालको सम

Thursday, December 28, 2006

>>माओवादी र प्रहरीको सहकार्यमा नेपालगंजमा शान्ति स्थापनाको प्रयास

काठमाडौ १३ पुस २०६३ । माओवादीले नेपालगंजमा हिंसा नियन्त्रण गर्न प्रहरीसँग सहकार्य थाल्ने भएको छ । आज तेस्रो दिन पनि स्थितिमा सुधार नआएपछि माओवादीले शान्ति कायम गर्न यस्तो घोषणा गरेको हो ।
साम्प्रदायिक सद्भाव बिथोल्ने प्रयासलाई विफल पार्न र सबै जातजाति र धर्म सम्प्रदायमा एकता राख्न आव्हान गर्दै नेपालगंजमा विहान निकालेको सद्भाव र्‍यालीलाई सम्बोधन गर्दै माओवादी बाँके इन्चार्ज अथकले सो जानकारी दिनुभएको हो । उहाँले कर्फ्युका बेला समेत हिजो लुटपाट मच्चिएको भन्दै प्रहरी प्रशासनको विरोध गर्नुभएको थियो । बाँके इन्चार्ज अथकले उभद्रो र अशान्ति मच्चाउन खोज्ने केहीलाई हिजो समातेर प्रहरी प्रशासनमा बुझाएको जानकारी समेत दिनुभयो उहाँले प्रमुख जिल्ला अधिकारीले माओवादीलाई सहयोग नगरे पनि प्रहरीसँगको सहकार्य भने यथावत रहने र शान्ति कायम गर्न अगाडि बढ्ने जानकारी दिनुभएको ।
वीरेन्द्र चोकबाट निकालिएको र्‍यालीले धम्बोजी, त्रिभुवन चोक हुँदै नगर परिक्रमा गरेको थियो । ३ दिनदेखि अशान्त रहेको नेपालगंजमा शान्ति सद्भाव बनाई माओवादीको अगुवाईमा सबै दल जात-जाति र धर्म सम्प्रदायका अगुवाको सहभागितासहितको सो र्‍याली निक्लेको थियो ।
यसअघि माओवादीको अगुवाईमा हिजो त्यहाँ निकालेको सद्भाव र्‍यालीमा हजारौंको सहभागिता रहेको थियो । माओवादी केन्द्रीय सदस्य मातृका प्रसाद यादवले प्रहरी प्रशासन मुगदर्शक बनेको बेला माओवादीले शान्ति स्थापना कायम गर्न आफूले कुनै कसर बाँकी नराख्ने बताउनुभएको छ ।
यसैबीच स्थानीय पत्रकारलाई धम्की दिएपछि नेपालगंजबाट प्रकाशित हुने ९ वटा दैनिक पत्रपत्रिकाहरुको प्रकाशन बन्द भएको छ । अराजक समुहले आफू विरुद्ध समाचार संप्रेषण गरेको भन्दै स्थानीय पत्रकार एवं प्रकाशकहरुको ज्यान लिने धम्की दिएपछि पत्रिकाको प्रकाशन बन्द गरिएको छ ।

No comments: