नेपालको सम

Saturday, December 23, 2006

सरकार-माओवादी सहमति, नेपाल बन्द फिर्ता

टंक पन्त
काठमाडौं
राजदूत नियुक्तिको सिफारिसलगायतका पछिल्लो सरकारी निर्णय फिर्ता लिनुपर्ने मागप्रति सरकारले गम्भीरता देखाएको र सबै महत्त्वपूर्ण विषयमा सल्लाह र सहमति कायम गर्ने प्रतिबद्धता जनाएको भन्दै नेकपा (माओवादी)ले यही पुस १६ र १७ को दुइदिने नेपाल बन्दलगायतका घोषित संघर्षका कार्यक्रम फिर्ता लिएको छ।
शुक्रबार साँझ प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र माओवादी अध्यक्ष प्रचण्डबीचको टेलिफोन संवाद एवम् सरकार र माओवादी वार्ता टोलीबीच भएको भेटवार्तापश्चात् माओवादीका अध्यक्ष प्रचण्डले राति विज्ञप्ति जारी गरी संघर्षका कार्यक्रम फिर्ता लिएको जानकारी गराउनुभएको छ।
सरकारी वार्ता टोलीका संयोजक कृष्णप्रसाद सिटौलाले पनि सबै महत्त्वपूर्ण राष्ट्रिय विषयसम्बन्धी निर्णयमा सात राजनीतिक दल र नेकपा -माओवादी) को सल्लाह लिने एवम् सहमतिद्वारा निर्णयमा पुग्ने र कार्यान्वयन गर्ने कुरामा सरकार विश्वास दिलाउन चाहन्छ भन्नुभएको छ।
सम्बद्ध स्रोतहरूका अनुसार सरकारले राजदूत नियुक्तिको सिफारिस निर्णय फिर्ता लिएको भनी सोझै नभने पनि अब सहमतिबिना त्यससम्बन्धी प्रक्रियाअगाडि नबढाउने निर्णय भएको छ।
माओवादीका एक नेताले सरकारले निर्णय फिर्ता लिएको नभने पनि सहमतिका आधारमा गर्ने भनेपछि फिर्ता लिएसरह नै हो भनेका छन्।

No comments: