ह्वील चेयरमा क्रान्तिका गीत
२०४२ सालतिर गीत लेखनको क्षेत्रमा तहल्का मच्चाउने सपना साँचे

त्यति बेला राजधानीमा टिक्नका लागि उनले रेडियो नेपाललगायत धेरै ठाउँमा धाए । रेडियोमा सामान्य सर्म्पक बढाउने क्रममा त्यतिबेला पाण्डव सुनुवारले उनलाई चारवटा गीत लेख्न अह्राए, गीत लेखन कलालाई सानैदेखि तिखार्दै ल्याएका उनले एकै टेकमा चार वटा गीत लेखेर सबैलाई छक्क पारिदिए । मीठा-मीठा शब्द संयोजन र मर्मस्पर्शी गीत लेखन कलाबाट प्रभावित भएर रेडियोका हर्ताकर्ताले पटक-पटक गरी नारायणगोपाल, तारा देवी, मीरा राणालगायतका कलाकारका लागि गीत लेख्न लगाए । भनेअनुसार उनले दर्जनौं गीत लेखिदिए तर ती गीत प्रसारणको तहसम्म कहिल्यै पुगेनन् ।
शारीरिक रुपले दुवै खुट्टा चल्न नसक्ने अवस्थाका श्यामलाई आफ्नो शारीरिक अपांगता र शक्तिकेन्द्रमा पहुँच हुन नसक्नु नै प्रतिभा परिचयको बाधक पक्ष त होइन भन्ने नलागेको होइन । तर पनि हिम्मतका साथ घर फर्केका श्यामको सोच र दिनचर्यामा केही फरकपन देखियो।
उनी मार्क्सवादको अध्ययन, चिन्तन र सिर्जनामा लागे । गीत, गजल र कविता लेखनको क्रमले जसरी तीव्रता पाउँदै थियो त्यसरी नै २०४५ सालदेखि २०५१ सालसम्म माले, एमाले लगायतका कम्युनिस्ट पार्टीको संगठन विस्तार गर्ने कार्यलाई उनले निरन्तरता दिए । तर कम्युनिस्ट शब्दप्रतिको उच्च आदरभावका कारण उनले आफूलाई कहिल्यै एउटा सक्षम कम्युनिस्टको रुपमा मूल्यांकन गरेनन् । जसका कारण त्यो अवधिमा उनले कुनै पनि पार्टीको सदस्यता समेत लिएका थिएनन् ।
त्यसै अवधिमा पार्टीले आफ्नो कुराको सुनुवाइ नै नगरेपछि निराशाले गाँज्दै लगेको उनले महसुस गरे । उनलाई आफूले ठान्ने गरेको मार्क्सवाद त संशोधनवाद पो रहेछ भन्ने लाग्यो । यो बुझाइले जीवनको औचित्यता नै देख्न छाडेपछि २०५१ सालबाटै एमालेसँगको सम्पूर्ण राजनीतिसँग सम्बन्ध विच्छेद गरेर उनी धर्म दर्शनतिर लागे ।
आत्मकेन्द्रित रुपमा वैरागी जीवन बिताउँदै आएका श्यामले आस्थाको रातो पहाडबाहेक आफ्ना आधा दर्जन कीर्ति जलाए । जसमा सयौं प्रगतिवादी गीत खरानी भए ।
आस्थाको रातो पहाडमा रहेको
मलाई मेरो राष्ट्रको स्वाधीनतापछि
मलाई मेरो समाजको स्वतन्त्रतापछि
तिम्रै माया लाग्छ प्रिय, तिम्रै माया लाग्छ
भन्ने बोलको गीत सम्झँदै उनी भन्छन्- ‘त्यो कीर्ति पनि प्रकाशित गर्ने भनेर एक जना मित्रले दिल्ली लिएर जानु भएको थियो, २-४ वटा गीत संगीतबद्ध भएर गाइएछ पनि तर आस्थाको रातो पहाड भने उतै हराएको सूचना पाएँ ।’
तर प्रगतिवादको स्वाद चाखिसकेका कार्कीलाई अन्ततः मार्क्सवादतिर फर्कनुपर्यो र उनी २०५६ सालपछि नेकपा माओवादी पार्टीसँग आबद्ध भएर गतिविधि सञ्चालन गर्न शुरु गरे ।
प्रगतिवादी साहित्यमा रुचि भएका कार्कीको विशेषगरी गीत-गजल लेखनमा कलम चल्नेगर्छ । पटक-पटक गरी ४ पटक राजधानी आएका कार्की यस पटक भने अन्तरिम संविधान मस्यौदा समितिमा समावेशीकरणको अवधारणालाई साकार पार्न राजधानी आएका हुन् । राजधानी आएपछि अपांगहरुको हक-हितका लागि केही गर्नुपर्छ भन्ने लागेर अहिले उनी यतै अल्भिmएका छन् ।
नेपाली गीत-संगीतका बारेमा जिज्ञासा राख्ने हो भने उनी भन्छन्- ‘आधुनिक गीतलाई छाडेर देशभक्तिपूर्ण गीतको कुरा गर्दा रेडियो टेलिशृङ्खला र चलचित्रको राष्ट्रियताले कुनै राष्ट्रिय चेतना र प्रतिबद्धताको विकास गर्न सक्दैन । किनकि टेलिशृङ्खला र चलचित्रको राष्ट्रियता अमूर्त राष्ट्रियताको रुपमा अभिव्यक्त हुने गरेको छ । राष्ट्रियता कुनै अमूर्त वस्तु होइन, यसको ठोस अभिव्यक्तिमा मात्र साँचो राष्ट्रियता हुन सक्छ ।’
उनी यसलाई पुष्टि गर्दै अगाडि भन्छन्- ‘गोपाल योञ्जन कालीप्रसाद रिजालका पनि घनघोर राष्ट्रियता भएका गीत बज्ने गर्छन् । गोपाल योञ्जनको बनेको छ पहराले यो छाती मेरो गीतलाई हेर्नुस्, जसको अन्तिम अन्तरामा उनी भन्छन्- ‘म आगो सहन्छु अन्याय सहन्न, म तृष्णा सहन्छु तिरस्कार सहन्न, मेरो शिर उडाउ म त्यो सहन्छु तर कोही परायाले टेके सहन्न ।’ त्यस्तै काली प्रसादको ‘म मरे पनि मलाई मेरो देशको माया छ ।’ यसरी विद्युतीय सञ्चारमाध्यममा यस्तै अमूर्त राष्ट्रियताको खुबै चल्ती हुने गरेको छ । यस्ता राष्ट्रियतामा १९५० र १९६५ का असमान सन्धि सम्झौता, सीमा अतिक्रमण, कालापानी, टनकपुर र महाकाली बाँधजस्ता विषय समेटिएका हुँदैनन् । अझ राष्ट्रियताको आन्तरिक पक्ष त उनीहरुले छोएकै छैनन् ।’
राष्ट्रियताको सारतत्वलाई स्पष्ट पार्दै उनी भन्छन्- ‘त्यसैले गर्दा उनीहरुको राष्ट्रियताको सांगीतिक पक्ष रुपमा सुन्दर देखिए पनि सारमा अमूर्त र बकमफुसे हुन पुगेको हो । यसो हुनु स्वाभाविकै थियो । मूर्त राष्ट्रियता अर्थात् राष्ट्रियताका दुवै पक्षलाई व्यक्त गर्नु भनेको सामन्ती एकात्मक राज्य संरचनाविरुद्ध जानुहुन्थ्यो । त्यसैले पनि यसका पक्षधरबाट यो काम हुन सक्दैनथ्यो र भएन । यस्ता बकमफुसे र अमूर्त कुरा राजनीतिमा पनि हुँदो रहेछ । यसै सर्न्दभमा मैले लेखेको एउटा गजलको २-४ पंक्ति उल्लेख गर्न चाहन्छु ।’
आँधी-हुरी नचलुञ्जेल त्रि्रै कुरा माथि हुन्छ
ओठे भक्ति कोठे हजुर नदेखाउनु जाती हुन्छ
समयले ल्याउँछ जब ऋतु बोकी कुनै दिन
कोइलीले गीत गाउँदा कामलाई दिउँसै राति हुन्छ ।
पहिलो र दोस्रो जनआन्दोलनमा ह्वील चेयरकै सहाराले सक्रिय भूमिका निर्वाह गरेका गीतकार कार्की लोकतन्त्रमा कलाकारको भूमिका विषयमा आफ्नो गीतको एउटा पंक्ति उल्लेख गर्दै भन्छन्-
किन कोही छन् भूपति जार
किन कोही छन् भूहीन भार
किन कोहीको छ दरबार
किन कोही छन् बेघरबार
चम्क ए लाखन् खुकुरी धार
ढले एक ढाल हजार ।
कलाकारको सिर्जना र व्यवहारमा प्रगतिवादी धार झल्कनुपर्छ । जहाँसम्म ऐतिहासिक जनआन्दोलनको सवाल छ, त्यसमा मलाई देशभक्त खनाल, बद्री पंगेनी, निखिल उप्रेती र विपना थापाहरु विशेष मन परे । द्वन्द्ववादको नियमअनुसार त्यति बेला लाजै मर्दो गरी कतिपय बिकाउ कलाकार पनि देखा परेका हुन्। फेरि पनि ती लोकतन्त्रविरोधी कलाकार बदलिनै नसक्ने भरत केशर र सच्चित शमशेरहरु भने होइनन् ।
अबका कलाकारको भूमिका कस्तो हुनुपर्ला भन्ने सवालमा उनी आशावादी हुँदै भन्छन्- ‘म त भन्छु मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको नेतृत्वमा कलाकारको एउटा ठूलै गणतान्त्रिक मोर्चा बन्नुपर्छ । त्यो मोर्चा जनआन्दोलनको भावना र मर्म पूरा नहुँदै सुस्ताउनु हुँदैन । अतः कलाकारले देशी-विदेशीको षड्यन्त्र हेरेर बस्नु लोकतान्त्रिक आन्दोलनप्रतिको प्रतिबद्धता र दूर दर्शिता हुन सक्दैन ।’
No comments:
Post a Comment