नेपालको सम

Tuesday, December 26, 2006

>> चिकित्सकमाथि आक्रमणपछि कान्ति बाल अस्पतालको सेवा बन्द

काठमाडौ १० पुस २०६३ । उपचारका क्रममा ९ महिने बालकको मृत्यु भएपछि आक्रोशित आफन्तसहितको समूहको आक्रमणबाट आज राजधानीको कान्ति बाल अस्पतालका ३ चिकित्सक घाइते भएका छन् ।
सो समूहका आक्रमणबाट अस्पतालमा समेत सामान्य क्षति पुगेको छ । प्रहरीले आक्रमणमा संलग्न ४ जनालाई पक्राउ गरेको छ । आक्रमणबाट तनावग्रस्त बनेको अस्पतालका चिकित्सकले आज दिनभर कालोपट्टी बाँधेर आकस्मिकबाहेक सबैै सेवा ठप्प पारेका छन् । झडपका क्रममा आक्रमण गर्ने पक्षका समेत केही घाइते भएका छन् । पक्राउ पर्नेहरुले आफूहरु माओवादी भएको बताउँदै चिकित्सकमाथि बदला लिने चेतावनी दिएका छन् । चिकित्सकहरुले भने सुरक्षाको प्रत्याभुति र दोषीमाथि कारवाहीको माग गरेका छन् । यसको विरोधमा चिकित्सकहरुले भोलि कान्ति र शिक्षण अस्पतालका आकस्मिकबाहेक ओपीडी सेवा बन्द गर्ने भएका छन् ।
भक्तपुरका गणेश दुलाल ९ महिने छोराको उपचारका क्रममा हिजो सो अस्पतालमा मृत्यु भएको थियो । लापरबाहीले बालकको मृत्यु भएको भन्दै मृतकका आफन्त र आफूलाई भक्तपुरको माओवादी बताउने व्यक्ति सहितको समूहले अस्पतालमा हुलदंगा गरी चिकित्सकमाथि आक्रमण गरेको अस्पतालले जनाएको छ । दुर्व्यवहारको विरोधमा प्रदर्शनमा उत्रिएका चिकित्सिकमाथि आफन्तसहितको समूहले आक्रमण गरेपछि सो क्षेत्र तनावग्रस्त बनेको थियो । प्रहरीका अनुसार अहिले अस्पताल र मृतकका आफन्तबीच छलफल भइरहेको छ ।
यसैबीच नेपाल चिकित्सक संघले कान्ति बाल अस्पतालका निर्देशक, चिकित्सक र कर्मचारीमाथि भएको अभद्र व्यहारको विरोध गरेको छ । संघले साँझ विज्ञप्ति जारी गरी स्वास्थ्यकर्मीको सुरक्षा गर्न माग गर्नुका साथै कान्तिबाल अस्पतालका चिकित्सकका माग अबिलम्ब पूरा गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।

No comments: