नेपालको सम

Wednesday, December 27, 2006

>>बहुविवाहको जाहेरी दर्ता गरिएन

महोत्तरी । पुस १२ गते

सहोडवा गाविस-१ की २७ वर्षीया देवपरी देवीले दिएको बहुविवाहको जाहेरी एक हप्ता बितीसक्दा समेत जिल्ला प्रहरी कार्यालयले दर्ता वा खारेजी दुवै नगरी अल्झाएर राखेको छ ।
पीडित देवपरी देवीले ०६३ पुस ४ गते ३२ वर्षीय पति रामेश्वर मुखिया र १८ वर्षीया संजिता देवीविरुद्ध दिएको बहुविवाहको जाहेरी दरखास्त प्रहरीले दर्ता वा खारेज दुवै नगरी झुलाएर राखेको हो ।
सन्तान नभएको भन्दै पति रामेश्वरले संजितासँग विवाह गरेकाले पीडित देवपरीले पति रामेश्वर र सौता संजिता विरुद्ध बहुविवाहको मुद्दाको जाहेरी प्रहरीमा दिएकी हुन् ।
नेपाली कांग्रेसका सो गाविसका नेताहरूले गाँउघरमै मिलाउन प्रयास गर्ने, त्यसका लागि केही समयमाग गरेकाले उनीहरूलाई सो समय दिइएको प्रहरी श्रोतले जनाएको छ । बहुविवाह सम्बन्धी मुद्दा सरकारवादी फौजदारी हुने भएकाले अन्य देवानी मुद्दा जस्तो मिलापत्र गर्न नमिल्ने भए पनि राजनीतिक दबाबका कारण प्रहरी निरिह भएको श्रोतले जनाएको छ ।
यस्ता विषयमा पनि स्थानीय पार्टी नेता नभए सांसद र मन्त्रीसम्मको फोन प्रहरी प्रमुखलाई आउने र प्रहरी प्रमुख यस्ता फोनका कारण निरिह बन्ने गरेकाले पीडित पक्ष न्याय पाउनबाट वञ्चित हुने गरेको कानुन व्यवसायी रमेश रेग्मी बताउँछन् ।
"पार्टी नेताको दृष्टी भोटमा हुन्छ ," अर्का अधिवक्ता उद्धव क्षेत्रीले भने । यस्ता अवला महिला भन्दा पीडक पुरुष पक्षसँग बढी भोट हुने भएकाले नेताहरू प्रायः पीडककै पक्ष लाग्ने गरेको पाइएको क्षेत्रीको ठहर रहेको छ ।
इश्वरी काफ्ले

No comments: