>> नेपथ्य संगीत यात्राले आज धनकुटामा धुम मच्चाउने
धनकुटा १३ पुस २०६३ । नेपथ्यको 'शान्तिको लागि शिक्षा' संगीत यात्रा सुनसरीको पहाडी नगर धनकुटामा आइपुगेको छ । यसै अवसरमा त्रिवेणी माविको हलमा बुधबार साँझ त्रिवेणी साँस्कृतिक समूहले नेपथ्यका निम्ति स्वागत कार्यक्रमको आयोजना गरेको थियो । नेपथ्यको कार्यक्रमलाई सफल बनाउन स्थानीय आयोजकको जिम्मेवारी त्रिवेणी माध्यमिक विद्यालय र त्रिवेणी साँस्कृतिक समूहले संयुक्त लिएका छन् ।
नेपथ्यले चार वर्ष पहिलेदेखि 'शान्तिको लागि शिक्षा' नारा दिएर विभिन्न पटक सांगीतिक कार्यक्रम प्रस्तुत गर्दै आएको कुरा आयोजकले जानकारी गराएका छन् । 'शान्तिको लागि शिक्षा' अन्तरगत २०५९ र २०६१ मा पनि नेपालव्यापी संगीतयात्रा सम्पन्न भएको थियो ।
पुस १३ गते अर्थात आज आयोजना हुने प्रस्तुतिका निम्ति धनकुटास्थित त्रिवेणी माध्यमिक विद्यालयको प्रांगणमा भव्य मञ्चको तयारी पुरा भएको छ पुसको पहिलो हप्ताबाट माघको मध्यसम्म चल्ने ४० दिने संगीत यात्रामा धनकुटा आइपुगेको टोलीमा करीब ४५ जना संलग्न छन् । नेपथ्यको संगीत यात्रालाई चित्रांकन गर्न कान्तिपुर टेलीभिजनका १५ जनाको समूह पनि सक्रिय रहेको छ ।
कलाकार मित्रका साथ धनकुटा आइपुगेका गायक अमृत गुरुङ नारायणघाट र दमकमा झैँ धनकुटाका दर्शकले पनि माया दिने कुरामा ढुक्क देखिन्छन् । 'शान्ति स्थापनाले भित्राउन खोजेको आशा बोकेर धनकुटा आएका छौं । संगीत यात्रामार्फत् विगतमा झैं अहिले पनि स्वच्छ र स्वस्थ शिक्षाकै पक्षमा आवाज उठाउँदै हिंडेका छौं । धनकुटाले हाम्रो आवाजलाई उत्साहका साथ बल थप्नेमा ढुक्क छौं ।' त्रिवेणी साँस्कृतिक समूहले आयोजना गरेको स्वागत कार्यक्रमबाट बाहिरिँदै गरेका अमृतको प्रतिविmया थियो ।
कार्यक्रमका निम्ति उच्च स्तरको ध्वनी र प्रकाशको व्यवस्था गरेको जानकारी नेपालयका व्यवस्थापक किरण कृष्ण श्रेष्ठले दिएका छन् । मञ्च निर्माणको निर्देशन गरिरहेका उनी भन्दै थिए-'यसपाली हामीले पहिले नेपथ्यको कार्यक्रम नभएका ठाउँलाई पनि समेट्ने प्रयास गरेका छौं । नेपथ्यको कार्यक्रमबाट धनकुटाका श्रोता, दर्शकले स्वस्थ मनोरञ्न पाउनुका साथै 'शान्तिको लागि शिक्षा' अभियानलाई बल पुर्याउनु हुनेछ ।' नारायणगढबाट सुरु भएको नेपथ्य संगीतयात्रा दमक हुँदै धनकुटा आइपुगेको र धनकुटाबाट लहानतर्फ लाग्ने कुरा पनि आयोजकहरुले जानकारी गराएका छन् ।
No comments:
Post a Comment