नेपालको सम

Sunday, December 31, 2006

>>नेपालगञ्जमा शान्ति सुरक्षाको वातावरण सहज बन्दै

कृष्ण अधिकारी -स्वससे)नेपालगञ्ज, पुस १५/एक सातादेखि तनावग्रस्त रहेको नेपालगञ्जको जनजीवन शनिबारदेखि सामान्य बन्दै गएको छ । बन्द रहेका पसलहरू खुल्न थालेका छन् भने यातायातका साधनहरू पनि सञ्चालन भइरहेका छन् ।
एक सातादेखि व्यापार र व्यवसाय सञ्चालन गर्न नपाएका व्यवसायीहरूले पनि शान्ति सुरक्षाको वातावरण सहज बन्दै गएपछि राहत महसुस गरेका छन् ।सहज रूपमा व्यापार व्यवसाय सञ्चालन गर्न सक्ने वातावरण बनाउन नेपालगञ्ज उद्योग व्यापार सङ्घमा भेला भएका उद्योगी व्यापारीहरूले सङ्घका उपाध्यक्ष कन्हैयालाल वैद्यको संयोजकत्वमा शान्ति र सद्भाव समिति गठन गरेको छ । समितिले सबै पक्षसँग भेटघाट गरी शान्ति र सद्भावका लागि पहल गर्ने व्यापार सङ्घका प्रवक्ता कपिल अधिकारीले बताउनुभयो ।
यसैबीच नेपालगञ्जमा भएको तोडफोड, लुटपाट र आगजनीमा भएको क्षतिको विवरण सङ्कलनका लागि सङ्घका उपाध्यक्ष कृष्णप्रसाद श्रेष्ठको संयोजकत्वमा समिति गठन गरी कार्य थालनी गरिएको छ ।
शुक्रबार र शनिबार नेपालगञ्जमा कुनै अप्रिय घटना नभएको र शान्ति सुरक्षाको अवस्थालाई सुदृढ पार्न ठूलो सङ्ख्यामा सुरक्षाकर्मीहरूलाई परिचालन गरिएको बाँकेका प्रमुख जिल्ला अधिकारी तिलकराम शर्माले बताउनुभयो । स्थानीय आठै राजनीतिक दलका नेताहरूसँग समन्वय गरी शान्ति सुरक्षाको अवस्थालाई सुदृढ पार्दै सामाजिक सदभाव कायम गर्नका लागि प्रयासहरू भइरहेको उहाँले बताउनुभयो ।

No comments: