>> चन्दा दिन नसक्दा विस्थापित
रामेछाप । पुस १० गते
माओवादीले कसैसँग पनि इच्छा विपरित जबर्जस्ती चन्दा नउठाउने विषयमा हस्ताक्षर गरी सार्वजनिक प्रतिवद्वता जारी गरे पनि रामेछापमा माओवादी कार्यकर्ताहरूको जबर्जस्ती रोकिएको छैन् । माओवादीकै कारण लामो समयसम्म विस्थापित भई शान्ति स्थापनाको सहमतिपछि गाउँ फर्केका भूजी गाविस-९ का पूर्व वडाअध्यक्ष फुवाग्याल्वु शेर्पा माओवादीले तोके जति चन्दा दिन नसके पछि पुन गाउँबाट विस्थापित भएका छन् । पीडित शेर्पाका अनुसार एमालेबाट निर्वाचित पूर्व वडाअध्यक्ष शेर्पालाई माओवादीले ०५८ असोज ५ गते कुटपिट गरेका थिए ।
काकासँग जग्गा सम्बन्धी बिवादको मुद्दा लिएर अदालत गएको आरोपमा माओवादीले कुटपिट गरेपछि शेर्पा घर छाडेर हिंडेका थिए । उनी हिंडेपछि माओवादीले ०५९ वैशाख २८ गते घरमा बसेकी उनकी पत्नी डोल्मा शेर्पालाई पनि घरबाट निकाली घरमा ताला लगाई दिए । त्यसपछि काठमाण्डौमा नै विस्थापित जीवन बिताएर बसिरहेका शेर्पा युद्व विराम र लोकतन्त्रको स्थापना पछि गएको कात्तिक २७ गते घर आएका थिए । घरमा आएर बसिरहेका अवस्थामा मंसिर ९ गते माओवादीद्वारा घोषित सोही गाजसका प्रमुख चन्द्रबहादुर कालीकोटेका साथमा आएका तीन जना माओवादी कार्यकर्ताहरूले उनलाई बिहान १०.०० बजे नियन्त्रणमा लिएर कात्तिक लेखर्क भन्ने ठाउँमा पुर्याई ३.०० बजेसम्म बीस हजार रुपैंयाँ माग गर्दै पैसा नदिए गाउँमा बस्न नपाउने भनि धम्क्याए । माओवादीले उनलाई मंसिर १४ गते भित्र छाडि दिए ।
आर्थिक अवस्था अत्यन्त कमजोर भएका शेर्पाले खोजे जति पैसा भेट्टाएनन् । गाउँमा सापटी खोजेर मंसिर १४ गते चार हजार रुपैंयाँ कालिकोटेलाई बुझाए । रकम बुझेको भर्पाई माग्दा उनले नदिएको तर रकम दिंदा आफूले आफ्ना भाइहरू लाक्पा शेर्पा र ल्याछिरि शेर्पा साँक्षी राखेको शेर्पा बताउँछन् । तोकेजती रकम नदिएपछि हाम्रो अनुमति बेगर किन घरमाआई बसेको भनेर माओवादीले धम्क्याएको शेर्पाले बताए । माओवादीले रकम माग गर्दै पटकपटक धम्क्याए पछि आफू असुरक्षित भएको महशुस गरी पुन काठमाण्डौ तर्फनै र्फकन लागेको ०६३ पुस ९ गते साँझ सदरमुकाम मन्थली आइपुगेका शेर्पाले बताए । उनी पुस १० गते बिहानै काठमाण्डौ तर्फलागेका छन् । काठमाण्डौमा ज्याला मजदुरी गरी बसेका शेर्पाले भने "पहिला पनि थला पर्ने गरी कुटे । कुटाइका कारण शरीर अझै कमजोर नै छ । फेरी धम्क्याई रहेका छन् । कुनै पनि बेला कुटपिट गर्न सक्छन् । यस्तो अवस्थामा कसरी घरमा बस्न सकिन्छ । त्यसैले म त फेरी गाउँ छाडेर हिंडे । पत्नी घरमै छिन् । उनलाई के गर्ने हुन थाहा छैन् ।" शेर्पा भन्छन् ।
नवराज पथिक
No comments:
Post a Comment