नेपालको सम

Tuesday, December 26, 2006

>> नेपालगञ्जमा अनिश्चितकालीन कर्फ्यु, एकको मृत्यु, करोडौ लुटपाट, स्थिति नियन्त्रणबाहिर



काठमाडौ ११ पुस २०६३ । बाँकेमा स्थानीय प्रशासनले शान्ति र आपसी सद्भावको स्थिति बिग्रन नदिन नेपालगञ्ज नगर क्षेत्रमा अनिश्चितकालिन कर्फ्यु आदेश गरेको छ ।
पहिलो आदेश आज विहान ११:३० बजेबाट साँझ ५ बजेसम्म भए पनि स्थितिमा सुधार नआई तनावपूर्ण भएपछि कर्फ्यु अनिश्चितकालिन बनाइएको छ । नगरको सुरक्षा अवस्थामा सुधार नआएकाले कर्फ्यु समय बढाएको स्थानीय प्रशासनले बताएको छ ।
साँझपखसमेत त्रिभुवन चोक, बीपीचोक, वीरेन्द्रचोकलगायतका सबै पसलमा आगजनी गराइएको छ भने सो क्रममा लुटपाट भएको बताइएको छ । एफएन न्युज सम्वाददाताले जनाएअनुसार आज नेपालगञ्जमा भएको दंगामा एक जनाको मृत्यु भएको छ भने करोडौको लुटपाट भएको अनुमान गरिएको छ। मृतकको नाम खुल्न सकेको छैन ।
यसअघि नगरमा साम्प्रदायिक सद्भाव बिथोल्ने, तोडफोड र लुटपाटमा संलग्न हुनेलाई प्रहरीले पक्राउ गरेको छ । यद्यपि पक्राउको संख्या भने बताइएको छैन । अराजक समूहले कर्फ्युका बावजुद नगरका विभिन्न टोलमा लुटपाट र आगजनी गरेको छ । सो क्रममा झन्डै २ दर्जन व्यक्ति घाइते भएका छन् । नेपालगञ्ज शिक्षण अस्पतालमा ४ जनाको उपचार भइरहेको छ । ती मध्ये २ जनाको अवस्था गम्भीर छ । शहर तनावपूर्ण रहेकाले लुटपाटको यकिन विवरण समेत दिन नसकेको प्रहरीले बताएको छ । स्थानीयबासीले अराजक समूहले सर्वसाधारणको घर, पसल तथा सुनचाँदी पसलबाट ठुलो धनराशी लुटेका बताएका छन् । अराजक भिडले लुटपाट आगजनी गर्नुका साथै सञ्चारकर्मी लगायत सर्वसाधारणलाई कुटपिट समेत गरेको छ ।
सत्तारुढ सद्भावना आनन्दीदेवीले सोमबार आयोजना गरेको तराई बन्दका क्रममा पहाडी र मधेशी समुदायका केही व्यक्तिबीच भएको झडपले उग्र रुप लिएपछि आज बिहानबाट नेपालगञ्ज तनावपूर्ण बनेको हो । स्थिति नियन्त्रणमा लिन स्थानीय प्रशासनले कर्फ्यु आदेश जारी गरेपनि अराजक समूहले आज दिनभर कर्फ्युको अबज्ञा गरी नगरका विभिन्न ठाउँमा आगजनी, तोडफोड र लुटपाट गरेको बाँकेका प्रमुख जिल्ला अधिकारी तिलकराम शर्माले जानकारी दिनुभयो । आगो नियन्त्रणका लागि ४ किलोमिटर टाढाको राझाँ विमानस्थलबाट मगाइएका दमकल पनि पर्याप्त नभएको उहाँले बताउनुभयो । प्रमुख जिल्ला अधिकारी शर्माले दिनभरको प्रयासबाट पनि तनाव नियन्त्रणमा लिन नसकेको बताउनुभयो । दंगा नियन्त्रणमा सेना परिचालन गर्नुपर्ने अवस्था सिर्जना भए पनि शान्ति सम्झौताविपरीत हुने भएकाले स्थानीय प्रशासनले सैनिक परिचालन गर्न सकेको छैन । उहाँका अनुसार प्रहरीले मात्रै स्थिति नियन्त्रण गर्न सक्ने अवस्था छैन । नेपाली कांग्रेस, एमाले, कांग्रेस प्रजातान्त्रिक, सद्भावना आनन्दी देवी, जनमोर्चा, नेमकिपा र माओवादीलगायत ८ दलले नगरबासीलाई शान्ति सद्भाव कायम गर्न र स्थिति बिग्रन नदिन अपिल गरेका छन् ।
यस्तै नागरिक समाजका प्रतिनिधि, पत्रकार, बुद्धिजीवीले पनि साम्प्रदायिक सद्भाव विपरीतका काम नगर्न आग्रह गरेका छन् । सद्भावना आनन्दी देवीकी केन्द्रीय सदस्य एवं मधेशी समुदायकी नेतृ सत्यवती कुर्मीले आपसी सद्भाव कायम गर्न अपिल गरेकी छन् । उनले सोमबारको बन्दमा लोकतन्त्र विरोधीको घुसपैठ भएको बताएकी छन् । जिल्ला प्रशासन कार्यालयमा विहान बसेको माओवादीसहितका ८ दलको बैठकमा सद्भावना आनन्दी देवीले सोमबार आफूले आव्हान गरेको बन्दका क्रममा भएका तोडफोडको नैतिक जिम्मेवारी लिदै त्यसप्रति क्षमा मागेको छ । सो पार्टीले बन्दको क्रममा भएको तोडफोडको उचित क्षतिपूर्ति दिने बताएको छ ।
यसैबीच सरकारले शान्ति सुरक्षा बहालीका लागि कुनै कसर नछाड्ने स्पष्ट गरेको छ । गृहमन्त्री कृष्णप्रसाद सिटौलाले अराजक स्थिति नियन्त्रण गर्न सरकार सक्षम रहेको बताउनु भएको छ । राजधानीमा सञ्चारकर्मीसँग कुरा गर्दै सिटौलाले सानो घटनालाई लिएर अराजकता फिजाउन खोज्नेहरुबाट सरकार सजग रहेको बताउनुभयो । उहाँले शान्ति सु-व्यवस्था कायम राख्न सहयोग पुर्‍याउन पनि सबैसँग अपिल गर्नुभएको छ ।
यसैबीच नेपाल पत्रकार महासंघले नेपालगञ्जमा आज बिहानबाट अकस्मात भड्किएको हिंसाका कारण सञ्चार क्षेत्र समेत असुरक्षित भएको भन्दै चिन्ता व्यक्त गरेको छ । स्थिति नियन्त्रणमा लिन लगाइएको कर्फ्यु समेत निस्प्रभावी भएको र सञ्चारकर्मीको मोटरसाइकल जलाउनका साथै स्थानीय पत्रकारमाथि आक्रमण भएकोमा थप चिन्तित बनाएको महासंघले जनाएको छ । आज विज्ञप्ति जारी गरी महासंघले नेपालगञ्जमा भड्किएको हिंसा तत्काल नियन्त्रणमा लिई शान्ति सुरक्षा कायम गर्दै आवश्यक क्षतिपूर्ति उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गराएको छ ।
यसैबीच नेपाली कांग्रेसले मुलुकको वर्तमान तरल अवस्थामा आज बिहानबाट नेपालगंजमा भड्किएको तनावप्रति चिन्ता व्यक्त गर्दै संयम अपनाउन सबैलाई आग्रह गरेको छ । कांग्रेस उपसभापति सुशिल कोइरालाद्वारा साँझ जारी अपिलमा संविधानसभा निर्वाचनको तयारी भइरहेका बेला मुलुकको परिर्वतन देख्न नचाहने तत्वले बन्दको निहुमा स्थितिलाई झन् उत्तेजित गराउने प्रयास गरेको उल्लेख गरिएको छ ।

No comments: