>>साम्प्रदायिक दंगाका कारण नेपालगञ्जमा कर्फ्यु, दंगामा प्रतिगामीको हातः मन्त्री त्रिपाठी
काठमाडौ ११ पुस २०६३ । उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्री हृदयश त्रिपाठीले नेपाल सद्भावना आनन्दीदेवीले आव्हान गरेको तराई बन्दमा प्रतिगामी तत्वहरुको घुसपैठबाट जटिल परिस्थिति सिर्जना भएको आरोप लगाउनुभएको छ।
बन्दका क्रममा उत्पन्न तनावका कारण आज नेपालगञ्जमा कर्फ्यु आदेश जारी भएको तथा पश्चिमाञ्चल क्षेत्रमा यातायात व्यवसायीहरुले यातायात बन्द गरेको सन्दर्भमा कुरा गर्दै त्रिपाठीले उक्त आरोप लगाउनुभएको हो । सद्भावनाको बन्दले साम्प्रदायिक दंगाको रुपमा लिन खोजेको सन्दर्भमा प्रतिगामीहरुले यो षड्यन्त्र गरिरहे पनि यसलाई सफल हुन नदिन आफू र आफ्नो पार्टी तयार रहेको बताउनुभयो । साथै यही घटनाका कारण सातदलबीचको एकतामा कुनै असर नपर्ने दावीसमेत मन्त्री त्रिपाठीले गर्नुभयो । उहाँले बन्द पूर्व घोषित कार्यक्रम भएको हुँदा बन्दमा क्षति पुगेका गाडीलाई क्षतिपुर्ति दिने प्रश्नै नउठ्नेसमेत बताउनुभयो । त्यसैगरी सरकारमा रहेर सडकमा विरोध गर्ने परम्परा पहिलादेखिकै भएको बताउँदै उहाँले अनेरास्ववियुले गरिरहेको संघर्षको उदाहरणसमेत दिनुभयो । उहाँले नेपालगञ्जमा पहाडिया मात्र नकुटिएको बताउँदै कतिपय मधेशीहरु कुटिएको र पसलहरु लुटिएको दावी पनि मन्त्री त्रिपाठीले गर्नुभयो ।
त्यसैगरी नेपालगञ्जमा आज स्थानीय प्रशासनले विहान ११ः३० बजेदेखि अपरान्ह ५ बजेसम्मका लागि कर्फ्यु आदेश जारी गरेको छ ।
नेपाल सद्भावना पार्टी आनन्दी देवीको आव्हानमा हिजो भएको मधेश बन्दको क्रममा नेपालगंजमा आनन्दी देवीका कार्यकर्ताले पहाडी समुदायविरुद्ध चर्का नारा लगाएको भन्दै भएको भिडन्तले उग्ररुप लिएपछि स्थिति नियन्त्रण गर्न आज स्थानीय प्रशासनले कर्फ्यु लगाएको हो । बन्दका क्रममा सोमबार सद्भावना आनन्ददेवीका कार्यकर्ता र पहाडेहरुबीच भएको भिडन्तमा दर्जनौ घाइते भएका थिए । भिडन्त आज बिहानसम्म पनि जारी रहेपछि प्रशासनले कर्फ्यु आदेश जारी गरेको हो । यसक्रममा एक दर्जन बढी मोटरसाइकल जलाइएको बताइएको छ। कर्फ्यु लगाए पनि बीपी चोकदेखि त्रिभुवनचोकसम्मको क्षेत्रमा दुवै पक्षबीच झडप जारी रहेको खबर छ । प्रहरीले झडप नियन्त्रण गर्न ठाउँठाउँमा टियर ग्यास प्रहार गरेको छ। प्रहरीलाई झडप नियन्त्रण गर्न गाह्रो भएकाले टियर ग्यास प्रहार गर्नु परेको बताइएको छ।
त्यसैगरी ठाउँठाउँमा राखिएको फर्निचरमा आजगनी गरिएको छ भने प्रदर्शनकारीहरुलाई तितरवितर गर्ने क्रममा प्रहरीले हस्तक्षेप गरिरहेको छ। स्थितिलाई नियन्त्रणमा लिन भन्दै प्रशासनले कर्फ्यु लगाएपछि नेपालगञ्ज बजार ठप्प बनेको छ । बिहान ११ बजे कर्फ्यु जारी गर्दा स्कुले बालकालिकाहरु विद्यालयमा गइसकेकाले अहिले बालकालिबाहरु विद्यालमयै रहेका छन् । कर्फ्यु आदेश जारी गरेपछि प्रहरीले स्थानीयवासीहरुलाई भित्र पस्न अनुरोध गर्दै माइकिङ गरेको थियो । लोकतन्त्र स्थापनापछि स्थानीय प्रशासनले कर्फयु आदेश जारी गरेको यो पहिलो घटना हो ।
त्यसैगरी पश्चिमाञ्चल बस व्यवसायी संघ र ट्रक व्यवसायीको आव्हानमा बुटवल-भैरहवा, नवलपरासीलगायको क्षेत्रमा यातायात बन्द छ भने नेपाल सद्भावना पार्टी आनन्दी देवीले सोमबारको बन्दमा गाडी चलाएको भनी सो पार्टीका कार्यकर्ताहरुले दुई दर्जन बढी सवारी साधनमा तोडफोड गरेको विरोधमा यातायात व्यवसायीहरुले क्षतिपुर्तिको माग गर्दै सडक अवरुद्ध पारेका छन् । यातायात व्यवसायीहरुले आफ्नो सवारी साधनको क्षतिपुर्ति नदिएसम्म बाटो नखोल्ने जनाएका छन् । त्यस्तै आज बिहान बुटवलमा यातायात व्यवसायी, मजदुर र सद्भावना समर्थक कार्यकर्ताबीच झडप भएको थियो ।
Tuesday, December 26, 2006
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment