नेपालको सम

Wednesday, January 17, 2007

>>सभामुख र उपसभामुखमा नेम्वाङ र यादवलाई नै चयन गर्ने आठ दलबीच सहमति

काठमाडौ ३ माघ २०६३
अन्तरिम संसदका लागि निवर्तमान सभामुख सुवास नेम्वाङ र उपसभामुखमा चित्र लेखा यादवलाई चयन गर्ने सम्बन्धमा ८ पार्टीबीच सर्वसम्मत रुपमा सहमति भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज विहान बसेको ८ पार्टीको शिर्ष नेताहरुको बैठकले उहाँहरुलाई सभामुख र उपसभामुखमा चयन गर्ने विषयमा सहमति कायम गरेको हो । अन्तरिम संविधान जारी भएपछि बनेको नयाँ अन्तरिम संसदका लागि सभामुखको विषयलाई लिएर माओवादी र नेकपा एमालेले आ-आफ्ना दावी प्रस्तुत गरेपछि ८ दलको शिर्ष बैठक बसेर आज टुंगो लगाएको छ ।
बैठकमा एमाले महासचिव माधव कुमार नेपाल, माओवादी अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता डा.बाबुराम भट्टराई, सद्भावना आनन्दीदेवी समूहका राजेन्द्र महतो, नेपाल मजदुर किसान पार्टीर्का अध्यक्ष नारायणमान बिजुक्छे, नेपाली कांग्रेस प्रजातान्त्रिकका गोपालमान श्रेष्ठ, जनमोर्चाका अमिक शेरचन, बाममोर्चाबाट सिपी मैनालीको सहभागिता रहेको थियो । यस विषयमा टुंगो लगाउन ८ पार्टीबीच अस्तिदेखि नै छलफल सुरु भएको थियो ।
यसैबीच ८ दलको बैठकपछि नेकपा माओवादीका अध्यक्ष प्रचण्ड र जनमोर्चा नेपालका अध्यक्ष अमिक शेरचनबीच प्रधानमन्त्री निवास बालुवाटारमै छुट्टै छलफल भएको थियो । यसअघि सभामुखको विषयलाई लिएर मुख्य रुपमा नेकपा एमाले र माओवादीबीच विवाद उत्पन्न भएपछि उनीहरुको आज बिहान छुट्टा-छुट्टै बैठक बसेको थियो । आज भएको सहमतिअनुसार उहाँहरुलाई भोलि विधिवत रुपमा अन्तरिम विधायिकाको सभामुख र उपसभामुख चयन गरिनेछ ।
नेकपा एमाले स्थायी समितिको आज विहान पार्टी कार्यालय बल्खुमा बसेको बैठकले अहिलेको परिस्थिति जटिल भएको र यसलाई बुझ्न सक्ने निवर्तमान सभामुखलाई नै अन्तरिम व्यवस्थापिकाको सभामुख छान्नुपर्ने आफ्नो अडान यथावत राखेको थियो ।
यता माओवादीको बैठकमा पनि यस लगायतका अन्तरिम संसदमा जाँदाखेरी आफ्नो प्रस्तुती कस्तो रहने कसरी भाषाको प्रयोग गर्ने लगायतका विषयमा छलफल भएको बताइएको छ । माओवादीले सभामुख र उपप्रधानमन्त्रीको टुंगो एकैचोटी लगाउनुपर्नेमा जोड दिदै आए पनि एमालेले भने सभामुखको टुंगो लागेपछि सरकार र मन्त्रालयको बाँडफाँडका लागि छुट्टै बैठक बस्नुपर्ने अवश्यता औंल्याएको छ । एमालेको बैठक विहान १० बजे देखि झन्डै १ घण्टासम्म चलेको थियो । बैठक सकिएपछि महासचिव माधव कुमार नेपाल सिधै बालुवाटार जानु भएको थियो ।

No comments: