>>अन्तरिम विधायिकाको ४८ सिटमा भागबण्डा, प्रजातान्त्रिक असन्तुष्ट
काठमाडौ २६ पुस २०६३
अन्तरिम विधायिकाका लागि छुट्याइएका थप ४८ सिटमा आज सहमति भएको छ । माघ १ गते अन्तरिम संविधान जारी भई सोही दिन अन्तरिम विधायिका पनि बन्ने भएपछि आज प्रधानमन्त्री निवास बालुवाटारमा माओवादीसहितका प्रमुख दलहरुबीचको छलफलमा यो सहमति कायम भएको हो ।
सहमति अनुसार नेपाली कांग्रेस, नेकपा एमाले र माओवादीले १०/१०, कांग्रेस प्रजातान्त्रिकले ६ तथा सद्भावना आनन्दीदेवी, जनमोर्चा, नेमकिपा र बाममोर्चाले ३/३ सिट पाउने भएका छन् । उद्यपि कांग्रेस प्रजातान्त्रिकले भने आफ्नो दललाई कम सिट छुट्याएको भन्दै असन्तुष्टि जनाएको छ । सो सिट संख्यामा सहमति भएपछि अब सम्बन्धित दलहरुले आ-आफ्नो पार्टीको तर्फबाट त्यसमा दलित, आदिवासी, जनजाति, महिला र नागरिक समाजका प्रतिनिधि चयन गर्नेछन् ।
माघ १ गते बस्ने अन्तरिम विधायिकामा कुल ३ सय ३० सदस्य हुनेछ । प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला, एमाले महासचिव माधवकुमार नेपाल, कांग्रेस प्रजातान्त्रिकका सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष प्रचण्डसहितका शिर्ष नेताहरुबीचको छलफलमा ४८ सिटको टुंगो लगाइएको हो । नेकपा एमालेले आफ्नो तर्फबाट अन्तरिम विधायिकामा प्रतिनिधित्व हुने समावेशी १० सिटका लागि टुंगो लगाउन भोलि स्थायी कमिटिको बैठक बोलाएको छ ।
No comments:
Post a Comment