नेपालको सम

Thursday, January 4, 2007

>>निर्वाचन आयुक्तमा गुरुङ र यादवको नाम अनुमोदित

काठमाडौ २० पुस २०६३ । संसदीय सुनुवाई विशेष समितिले संवैधानिक परिषदले निर्वाचन आयोगको आयुक्तमा सिफारिस गरेका दोलखबहादुर गुरुङ र आयोदी प्रसाद यादवको नामलाई अनुमोदन गरेको छ ।
संसदीय सुनुवाई विशेष समितिले उहाँहरुलाई निर्वाचन आयोगको आयुक्तमा नियुक्तिका लागि सिफारिस गर्न उहाँहरुको नाम आजै संवैधानिक परिषदमा पठाउँदैछ । समितिले दुबै जनालाई आजको बैठकमा बोलाएर सुनुवाईपछि उहाँहरुको नामलाई सर्वसम्मत रुपमा अनुमोदन गरेको हो । विशेष समितिले परिषदमा उहाँहरुको नाम पठाएपछि परिषदले नियुक्तिका लागि सरकारलाई सिफारिस गर्नेछ ।
सुनुवाईका क्रममा गुरुङले आगामी जेठ महिनासम्ममा चुनाव गराउन आफू क्रियाशील रहने दृढता व्यक्त गर्नुभयो । अहिले निर्वाचन आयोगका सचिव समेत रहनु भएका गुरुङले तोकिएकै समयमा चुनाव गराउन मैैले कुनै बाधा अड्चन देख्दिन भन्नुभयो । छलफलका क्रममा आयोदी प्रसाद यादवले आफू कुनै पार्टीमा संलग्न नभएको भन्दै आफू बाम बुद्धिजीवी भएको दावी गर्नुभयो । सुनुवाईको क्रममा विशेष समितिका सदस्य सांसदहरुले माओवादीको समर्थनमा तपाईको नाम सिफारिस गरिएको भन्छन् नि भन्ने प्रश्नमा उहाँले यस्तो दावी गर्नुभएको हो ।
उहाँहरुमाथि उजुरीका लागि संसदीय सुनुवाई विशेष समितिले सार्वजनिक रुपमा सूचना निकाले पनि उहाँहरुको विरुद्धमा कुनै उजुरी नपरेको समितिका अध्यक्ष अष्टलक्ष्मी शाक्यले जानकारी दिनुभयो ।
यसअघि विशेष समितिका सदस्य सांसदहरुले सरकारले सिफारिस गरेका नामहरुलाई अनुमोदन गर्नु बाहेक यो समितिको कुनै काम नरहेको भन्दै समितिको औचित्यमाथि नै प्रश्न उठाएका थिए । प्रतिनिधिसभा नियमावली, २०६३ बमोजिम उहाँहरुको सुनुवाईपछि संसदीय सुनुवाई विशेष समितिले नाम अनुमोदन गरेपछि उहाँहरुलाई सरकारले निर्वाचन आयोगको आयुक्तमा नियुक्त गर्नेछ । उहाँहरु दुबैले नियुक्ति पाएपछि निर्वाचन आयोगले पूर्णता पाउने छ ।

No comments: