नेपालको सम

Wednesday, January 3, 2007

>>चिसोका कारण तराई पूर्ण रुपमा प्रभावित, आधा दर्जन बढीको मृत्यु

काठमाडौ १९ पुस २०६३ । केहीदिनयता ह्वात्तै बढेको चिसोका प्रभाव आज पनि उस्तै रहेकाले पूर्वी तराईको जनजीवन प्रभावित भएको छ ।
विहानैदेखि बाक्लो हुस्सु लागेकाले मानिसहरु घरबाहिर अत्यन्त कम मात्रामा निस्केका छन् । सहर बजारमा मानिसको चहल-पहल निकै कम देखिएको छ । चिसोबाट बच्न टोलबस्तीका चोकमा आगो बालेर ताप्ने क्रम अघिल्ला दिनमा भन्दा बढी देखिएको छ । जल तथा मौसम विज्ञान विभागले पनि तराईमा चलेको शितलहर अझै केही दिनसम्म रहने जनाएको छ । मौसमविद केबी मल्ल नेपालमा जाडोको मौसम भर्खर सुरुभएको र भारतका उत्तरपश्चिम जम्ब कास्मिरमा पानीसहितको चिसो हावा बहने क्रम नरोकिएकाले शितलहर अझै केही दिन चल्ने बताउनुभयो । पूर्वका झापा, मोरङ, सुनसरी, सप्तरी लगायत तराईका बजारहरुमा चिसोको समान रुपमा प्रभाव देखिएको छ । भित्री मधेशहरुमा पनि चिसोको प्रभाव उत्तिकै रहेको छ ।
त्यस्तै यो साताबाट बढेको चिसोले पूर्वी पहाडी जिल्ला संखुवासभाको जनजीवन प्रभावित भएको छ । उत्तरी क्षेत्रका किमाङ्थाङका, मकालु, पावाखोला, पाथीभारा, माङ्केवा लगायतका गाविसमा अत्यधिक चिसोका कारण विद्यालयहरु बन्द रहेका छन् । उच्च क्षेत्रमा हिजोबाट हिउँ पर्न थालेको छ ।
यसैगरी जाडोले कठ्याङ्ग्रेर बारामा थप ३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा हरैया-२ की २८ वर्षिया सुशिला खातुन, हरैया-३ की ६५ वर्षिया सहुदरी देवी शाह र भोडाहा-७ का ५० वर्षिय शाहदेव महरा छन् । खातुनको गएराति १० बजे तथा शाह र महराको आज बिहान मृत्यु भएको हो । चिसोका कारण हिजो भारतीय नागरिकका मृत्यु भएको थियो । यो समेत बारामा जाडोको कारण मर्नेको संख्या ४ पुगेको छ । ४ दिनदेखि बढेको चिसोका कारण सिराहमा गएराति थप एक जनाको मृत्यु भएको छ । सिराहा गाढा-५ का ४५ वर्षिय ओम प्रकाश यादवको जाडोले मृत्यु भएको हो । राति ९ बजे गहुँ बालीमा पानी लगाएर आएका यादवको सुतेको केहीबेरमा मृत्यु भएको उनका परिवारले जनाएका छन् ।
यसअघि बढ्दो चिसोका कारण सोमबार साँझसम्म सिराहमा मात्रै ५ जनाले ज्यान गुमाइसकेका छन् । चिसोका कारण लाहान र सिराह अस्पतालमा निमोनिया र भाइरल डाईरियाका दैनिक २० जनासम्म उपचारका लागि आउने गरेको जिल्ला अस्पताल सिराहले जनाएको छ । दिनभर लाग्ने बाक्लो कुहिरोका कारण वृद्धहरु घर बाहिर निस्कन छाडेका छन्, भने विद्यालयमा बालबालिकाको उपस्थिति घटेको छ ।
यता चिसोका कारण उदयपुर कारागारमा रहेका कैदी तथा थुुनुवाहरु मध्ये अधिकांश बिरामी परेका छन् । त्यहाँ रहेका ३ महिलासहित ५२ जना थुनुवा तथा कैदी मध्ये आधाभन्दा बढीलाई चिसोको कारण ज्वरो, रुघाखोकी, पेट दुख्ने जस्ता समस्या देखापरेको छ । चिसो र हुस्सुका कारण हवाई उडानहरुसमेत हुन सकेका छैनन् । आज राजधानीमा समेत चिसो निकै बढेको छ।

No comments: