>>अमेरिकाले माओवादीमाथिको आतंककारीको बिल्ला नहटाउने
काठमाण्डौ डिसेम्बर, ३१
नेपालका लागि अमेरिकी राजदुत जेम्स एफ मोरियार्टीले नेकपा माओवादीलाई अमेरिकाले लगाएको आतंककारीको विल्ला अझै केही समयसम्म फिर्ता नगर्ने बताउनु भएको छ ।झण्डै डेढ हप्ता लामो अमेरिका बसाइपछि आज नेपाल फर्कनु भएका राजदुत मोरियार्टीले विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै नेकपा माओवादीको क्रियाकलापमा अझै सुधार नआएकोले यसबारे अमेरिकाले केही नसोचेको जानकारी गराउनुभयो। माओवादीले गाउँ-गाउँमा चन्दा, अपहरण जस्ता कार्यहरु कायमै राखेको बताउँदै आफ्नो व्यवहारलाई सुधार्न माओवादीसँग आग्रह गर्नुभयो । अपदस्त इराकी राष्ट्रपति सद्दाम हुसेनलाई दिएको फाँसीका सम्बन्धमा सोधिएको प्रश्नमा भने उहाँले केही बताउन चाहनु भएन ।यसैबीच आज राजधानीमा अपदस्त इराकी राष्ट्रपति सद्दाम हुसेनलाई झुण्डाएर मारिएको घटनाको विरोमा नेकपा माओवादीसहित बाम पार्टीहरुले एक विशाल विरोध -याली निकालेका छन् । विरोध -यालीमा अमेरिकी प्रशासनविरुद्ध चर्का नारा लगाएका थिए । रत्नपर्कबाट सुरु भएको -याली बागबजार, पुतलीसडक, भृकुटीमण्डप, सहिद गेट, हुँदै पुनः रत्नपार्क आएर सभामा परिणत भएको थियो । सभामा बाम नेताहरुले सद्दामलाई इराकी अदालतले दिएको मृत्युदण्डको विरोध गरेका थिए ।त्यसैगरी इराकी अदालतले सद्दामलाई मृत्युदण्डको सजाय दिनुमा अमेरिकी सरकारको ठूलो भूमिका रहेको दावी गर्दै अमेरिकी झण्डा र अमेरिकी राष्ट्रपति जर्ज डब्लु बुसको पुत्ला जलाएका थिए ।
No comments:
Post a Comment