नेपालको सम

Tuesday, January 9, 2007

>>विगत तीन दिनदेखि बन्द यातायात खुल्यो

काठमाडौ २५ पुस २०६३ । ३ दिनदेखि बन्द पूर्वाञ्चलको यातायात आजदेखि खुलेको छ । गएराति सुनसरीको इटहरीमा यातायात व्यवसायी, प्रहरी प्रशासन र मजदुर संगठनहरुबीच बसेको बैठकमा सवारी चालकलाई सवारी ऐन अनुसार नै कारवाही गर्ने र मृतकका परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउने सहमति भएपछि व्यवसायिहरु पूर्वाञ्चलमा बन्द यातायात खुलाउन राजी भएका हुन् ।
पीडित पक्षलाई क्षतिपूर्ति दिने सहमति भए पनि बैठकमा पीडित अनुपस्थित रहेका थिए ।
यसैबीच बसको ठक्करबाट मृत्यु भएका लालदेवका छोरा सुनम देवले आफूहरुसँग छलफल नै नगरी प्रहरी प्रशासन र व्यवसायीहरुले क्षतिपूर्ति निर्धारण गरेको आरोप लगाएका छन् । सुमनले आफूहरुले क्षतिपूर्तिको माग नगरेको र दोषीलाई कारवाही नगरेसम्म विरोध जारी राख्ने बताएका छन् । उनले आज इनरुवामा सर्वपक्षीय वार्ता हुने र त्यसले सबै कुराको निर्धारण गर्ने जानकारी दिए ।
नगरका प्रत्यक्षदर्शीका बयानका आधारमा प्रहरीले तयार पारेको मुद्दा अनुसार नै दोषीमाथि कारवाही गरिनुपर्ने अडान पीडित पक्षले राखेको छ । दोषीमाथि कारवाहीका लागि हिजोदेखि सञ्चालित हस्ताक्षर अभियान आज पनि जारी रहने सुमनले बताए । पूर्वाञ्चलमा यातायात चल्न थाले पनि नारायणी यातायात व्यवसायीको हड्तालका कारण पूर्व-पश्चिम राजमार्ग अन्तर्गत हेटौडा खण्डको यातायात आज पनि अवरुद्ध रहेको छ । सो खण्डको बाटो खुलाउन आज चितवनमा सर्वपक्षीय वार्ता भइरहेको छ ।
त्यस्तै व्यवसायीहरुको अनिश्चितकालिन चक्काजामका कारण कलैया, वीरगंज, वीरगंज-पत्लैया खण्ड महेन्द्र राजमार्गको पत्लैया नीजगढ र त्रिभुवन राजपथको पत्लैया हेटौडा सडकखण्डमा मालबाहक र यात्रुबाहक सवारी साधन बन्द भएका छन् ।
यसैबीच नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघले कोशी अञ्चलमा व्यवसायी र प्रहरी प्रशासनबीच सहमति भएकाले सबै व्यवसायिलाई आन्दोलन फिर्ता लिन आव्हान गरेको छ । राजधानीमा हिजो यातायात व्यवसायि र मजदुर संगठनबीचको छलफलमा सबै क्षेत्रको यातायात खुलाउने सहमति भएको हो । छलफलमा व्यवसायीहरुले वीरगंज, जनकपुर र नारायणीमा सवारी चालकमाथि भएको दुर्व्यवहारको कडा शब्दमा निन्दा गर्दै सरकारसँग सुरक्षाको प्रबध मिलाउन माग गरेका थिए । सरकारले उचित सुरक्षा दिन नसके आन्दोलनमा उत्रनुको विकल्प नभएको नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघका महासचिव कृष्णप्रसाद अधिकारीले बताउनुभयो । चितवनमा जारी छलफल सहमति नजिक पुगेकाले अपरान्हदेखि सबै खण्डमा यातायात खुल्ने अधिकारीले जानकारी दिनुभयो ।

No comments: