नेपालको सम

Monday, January 15, 2007

>>जनाअन्दोनको बलबाट पुन:स्थापित प्रतिनिधिसभाको आज आन्तिम दिन

नेपालको अन्तरिम संविधान, २०६३ सर्वसम्मत रुपमा पारित
काठमाडौ १ माघ २०६३ । आज बसेको प्रतिनिधिसभाको बैठकले नेपालको अन्तरिम संविधान, २०६३ सर्वसम्मत रुपमा पारित गरेको छ। अन्तरिम संविधानको मस्यौदाबारे सांसदहरुले बोल्ने क्रम सकिएपछि ध्वनि मतका आधारमा अन्तरिम संविधान पारित गरिएको हो ।
बैठकमा सांसदहरुले बोल्ने क्रम सकिएपछि प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको तर्फबाट कानुन न्याय तथा संसदीय व्यवस्था मन्त्री नरेन्द्र विक्रम नेम्बाङले सबै सांसदहरुलाई धन्यवाद दिनुभएपछि सभामुख सुवास नेम्बाङले अन्तरिम संविधान पारित गर्न प्रस्ताव गर्नुभएको थियो । संविधानको पक्षमा रहेका सांसदहरुलाई हुन्छ भन्न र विपक्षमा रहेका सांसदहरुलाई हुन्न भन्न आग्रह गरेकोमा सबैले हुन्छ भनेका थिए । हुन्न भन्ने शब्द कतैबाट नसुनिएपछि सभामुख सुवास नेम्बाङले अन्तरिम संविधान सर्वसम्मत पारित भएको जानकारी दिनुभएको थियो । बैठक आधा घण्टाका लागि स्थगित भएको छ। अन्तरिम संविधान प्रतिनिधिसभाले १ बजेर ५४ मिनेट जाँदा पारित गरेको हो ।
यसअघि प्रधानमन्त्रीका तर्फबाट कानुन न्याय तथा संसदीय व्यवस्था मन्त्री नरेन्द्र विक्रम नेम्बाङले अन्तरिम संविधानमाथि छलफल गरियोस् भन्ने प्रस्ताव राख्नु भएको थियो । छलफलमा सहभागी हुँदै विभिन्न राजनीतिक दलका नेताहरुले अन्तरिम संविधानले प्रधानमन्त्रीलाई हटाउने व्यवस्था गर्न नसकेको बताएका थिए । त्यसैगरी शान्तिपूर्ण तरिकाबाट संविधानसभाको निर्वाचन गर्न र राज्य पुनःसंरचनाका लागि संघीय शासन प्रणाली आवश्यक रहेकोमा जोड दिए । छलफलमा सांसदहरुले अन्तरिम संविधान, २०६३ संशोधनपछि मात्र पारित गरिनुपर्नेमा जोड दिए । छलफलमा सहभागी नेताहरुमा नेपाली कांग्रेसका शुसिल कोइराला, नेकपा एमालेका भरतमोहन अधिकारी, नेपाली कांग्रेस प्रजातान्त्रिकका सभापति शेरबहादुर देउवा, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपति सम्सेर राणा, जनमोर्चा नेपालका चित्रबहादुर केसी, नेपाल सद्भावना पार्टी आनन्दीदेवीका राजेन्द्र महतो, जनमोर्चा नेपाल परि थापा र लिलामणि पोखरेल, नेपाल सद्भावना पार्टीका यज्ञजित शाह, नेपाल मजदुर किसान पार्टीका नारायणमान विजुक्छे, राष्ट्रिय जनशक्ति पार्टीको अध्यक्ष सुर्यबहादुर थापा हुनुहुन्थ्यो ।
छलफलमा उठेका प्रश्नहरुको जवाफ दिदै कानुन, न्याय तथा संसदीय व्यवस्था मन्त्री नरेन्द्र विक्रम नेम्बाङले सांसदहरुले उठाएका प्रश्नहरुका बारेमा आगामी बैठकमा छलफल हुने बताउनुभयो ।
समाचारअनुसार पहिलो चरणको बैठकमा उठेका विषयहरुमा ११ दलको नेताहरुले पहिलो बैठकमा बोलेका थिए । आधा घण्टापछि सुरु हुने बैठकमा संशोधन दर्ता गर्ने सांसदहरुले बोल्नेछन् । स्रोतहरुका अनुसार ६० बढी सांसदद्वारा सैयौ बुँदामा संशोधन गर्नुपर्ने भन्दै १७ वटा प्रस्ताव दर्ता भएको छ। परम्पराअनुसार ती संशोधन दर्ता गर्ने सांसदहरुले आफ्नो प्रस्तावको बारेमा बोल्नुपर्ने हुन्छ । सबैले बोल्नु पर्ने र समय बढी लाग्ने देखिएकाले छोटो विधिद्वारा अन्तरिम संविधान पारित गर्न कार्य व्यवस्था समितिमा छलफल भइरहेको बताइएको छ।
साथै छलफलमा उठेका प्रश्नहरुको प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला आएर जवाफ दिने सम्भावना रहेको छ। त्यसपछि मतदान प्रक्रियाद्वारा अन्तरिम संविधान पारित गरिनेछ । अब आधा घण्टापछि बस्ने बैठकले अन्तरिम संविधान जारी गर्दै प्रतिनिधिसभा विघठनको घोषणा गर्ने स्रोतहरुले जनाएका छन् । त्यसपछि अन्तरिम विधायिकाको बैठक बस्ने बताइएको छ।

No comments: