नेपालको सम

Monday, January 8, 2007

>>अन्तरिम संविधान माघ १ गते जारी गर्ने सहमति

काठमाडौ २४ पुस २०६३ । नेपालको अन्तरिम संविधान जारी गर्ने विषयमा आज आठ राजनीतिक दलका शिर्ष नेताहरुको बैठकमा अन्तरिम संविधानमा भाषागत त्रुटिहरु सच्याएर जारी गर्नुका साथै आठ दलबीचको एकता मजबदु बनाएर संविधानसभा सहज रुपमा सम्पन्न गर्ने वातावरण बनाउने सहमति भएको बुझिएको छ।
गत मंसिर २९ गते आठ दलका नेताहरुले अन्तिम रुप दिएको अन्तरिम संविधानलाई संशोधन गर्नुपर्ने चौतर्फी दबाव आइरहेको भए पनि आजको बैठकले अन्तरिम संविधानमा रहेका प्राविधिक र भाषागत त्रुटिलाई मात्र सच्याउने सहमति भएको बताइएको छ। त्यसैगरी स्रोतहरुले जनाएअनुसार अन्तरिम संविधान यही माघ १ गते जारी गर्ने सहमति भएको छ।
स्रोतहरुका अनुसार माघ १ गतेको जारी भएको उक्त अन्तरिम संविधान प्रतिनिधिसभाले जारी गर्ने र त्यसपछि बन्ने अन्तरिम विधायिकाले त्यसलाई अनुमोदन गर्नेछ ।
आइतबार मात्रै न्यायाधीशहरुले अन्तरिम संविधानमा न्यायलयसँग सम्बन्धित विभिन्न कुराहरुलाई संशोधन गर्नुपर्ने भन्ने बारेमा सरकारलाई बुझाउन १२ बुँदे सुझाव तयार पारेको थियो । आठ दलका शिर्ष नेताहरुको आजको बैठकमा संविधानसभाको चुनावका लागि मतदाता नामावली संकलन गर्ने काममा सहज वातावरण बनाउन प्रहरी चौकी पुनःस्थापना र गाविस सचिवहरुलाई गाउँ फर्कने सहज वातावरण बनाउन सबै पक्षले आ-आफ्नो क्षेत्रबाट सक्दो सहयोग गर्ने सहमति भएको छ।
देशका विभिन्न भागहरुमा प्रतिगामी तत्वहरुले षड्यन्त्र गर्न खोजेको भन्दै बैठकमा त्यस्ता तत्वलाई परास्त गर्न आठ दलको एकतालाई अझ बलियो बनाउने सहमति भएको छ ।
आजको बैठकमा प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला, माओवादी अध्यक्ष प्रचण्ड, एमाले महासचिव माधवकुमार नेपाल, कांग्रेस प्रजातान्त्रिका सभापति शेरबहादुर देउवालगायत आठै दलका शिर्ष नेताहरुको सहभागिता रहेको थियो । बैठक बिहान ८ बजे नै बस्ने निर्धारण भएको भए पनि ११ बजे मात्र सुरु भएको थियो ।

No comments: