काठमाडौ ९ माघ २०६३ । नेकपा माओवादीका अध्यक्ष प्रचण्डले कुनै पनि बहानामा दरबारले चलखेल गरेमा संविधानसभा अगाडि नै आठ दलले देशमा गणतन्त्र घोषणा गर्ने चेतावनी दिनुभएको छ।
चितवनमा पार्टीको केन्द्रीय प्रशिक्षणपछि नेता, कार्यकर्ता र स्थानीय जनतालाई सम्बोधन गर्दै प्रचण्डले सामन्तवादी तत्वले तराईका जिल्लामा दंगा मच्चाइरहेको भन्दै सात दलसँग सल्लाह गरेर चाँडै नै गणतन्त्र घोषणा गर्न सकिने दावी गर्नुभयो ।
उहाँले आठ दलबीच सल्लाह गरी मधेशको समस्यालाई सम्बोधन गरिनेसमेत बताउनुभयो । मधेशलगायतका क्षेत्रमा भएका दंगाले संविधानसभाको निर्वाचन बिथोल्ने नभई गणतन्त्र नजिकिएको प्रचण्डको दावी थियो । संचारकर्मीहरुसँग संक्षिप्त कुरा गर्दै प्रचण्डले लाहान घटनामा आफ्नो कार्यकर्ताबाट गल्ती भएको स्वीकार गर्दै छानविन गरेर दोषीलाई कारबाही गरिने प्रतिवद्धतासमेत व्यक्त गर्नुभयो ।
उहाँले नेकपा माओवादी संसदीय पार्टीको धारमा नआएको दावी गर्दै माओवादी संसदीय पार्टीलाई अग्रगमनको दिशामा लैजान अन्तरिम व्यवस्थापिकासम्म पुर्याएको बताउनुभयो । केन्द्रीय प्रशिक्षणमा सहभागी करिब ८ सय नेता तथा कार्यकर्तालाई संविधानसभाको निर्वाचनका लागि सक्रिय हुन निर्देशन दिदै प्रचण्डले नयाँ कार्यशैली लिएर जनतामाझ जान आग्रहसमेत गर्नुभयो ।
No comments:
Post a Comment