>>अन्तरिम संविधान संसदमा प्रस्तुत, एक मिनेटमै बैठक समाप्त
काठमाडौ ३० पुस २०६३
प्रतिनिधिसभाको आजको बैठकमा नेपालको अन्तरिम संविधान २०६३ पेस गरिएको छ । प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको तर्फबाट कानुन, न्याय तथा संसदीय व्यवस्था मन्त्री नरेन्द्र विक्रम नेम्वाङले आजको बैठकमा नेपालको अन्तरिम संविधान २०६३ प्रस्तुत गर्नुभएको हो ।
आज दिउँसो १ बजेर ३५ मिनेट जाँदा सुरु भएको बैठक १ मिनेट नबित्दै टुंगिएको थियो । बैठक भोलि बिहान ८ बजे संसद भवन सिंहदरवारमा बस्ने गरी आजलाई सकिएको छ । आजको बैठक संसदीय इतिहासमै सबैभन्दा छोटो बैठक हो । संसदमा आज पेस गरिएको अन्तरिम संविधानको सम्बन्धमा आज साँझ ६ बजेसम्म संशोधन प्रस्ताव दर्ता गर्न म्याद दिइएको छ । अन्तरिम संविधानको सम्बन्धमा नेपाल सद्भावना पार्टी आनन्दीदेवीले आफ्नो संशोधन प्रस्ताव दर्ता गरिसकेको छ भने नेकपा एमालेेले आफ्नो संशोधन प्रस्ताव दर्ता गर्ने तयारी गरिरहेको बुझिएको छ ।
यस्तै राष्ट्रिय जनशक्ति पार्टीले पनि आफ्नो संशोधन प्रस्ताव दर्ता गर्ने तयारी गरिरहेको स्रोतले जनाएको छ । भोलि बिहान अन्तरिम संविधान २०६३ का विषयमा सामान्य छलफल गरिने तथा दोस्रो बैठकमा संशोधन प्रस्तावमाथि छलफल हुने र छलफलपछि अन्तरिम संविधान जारी गरिने तथा अन्तरिम संसद गठन गरिने बताइएको छ । यसपछि नवगठित अन्तरिम संसदको पहिलो बैठकबाट अन्तरिम संविधान २०६३ लाई अनुमोदन गरिने छ ।
यसअघि मन्त्रिपरिषदको आज बिहान बसेको बैठकले भोलि जारी गर्ने भनिएको अन्तरिम संविधानलाई अनुमोदन गरेको थियो । आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा झन्डै २ घण्टासम्म चलेको मन्त्रिपरिषदको बैठकले बहुप्रतिक्षित अन्तरिम संविधानलाई छलफल पश्चात अनुमोदन गरेको हो ।
आठ दलको संयुक्त हस्ताक्षर भएको अन्तरिम संविधानलाई खासै परिमार्जन नगरिकन जस्ताको तस्तै अनुमोदन गरिएको भूमिसुधार तथा व्यवस्था मन्त्री प्रभुनारायण चौधरीले जानकारी दिनुभयो । मन्त्रिपरिषदद्वारा अनुमोदन गरिएको अन्तरिम संविधानलाई प्रतिनिधिसभाको आजको बैठकमा पेस गरिएको थियो ।
स्रोत:एफएन न्युज
No comments:
Post a Comment