नेपालको सम

Thursday, December 28, 2006

>>नेपालगञ्जमा अनिश्चितकालीन कर्फ्युका बावजुद तनाव जारी

काठमाडौ १२ पुस २०६३ । नेपालगञ्जमा अस्तिदेखि फैलिएको साम्प्रदायिक दंगा आजसम्म पनि नियन्त्रणमा आउन सकेको छैन ।
दंगा नियन्त्रण गर्न आज पनि स्थानीय प्रशासनले अनिश्चितकालिन निषेधाज्ञा जारी गरेको छ । आज नेपालगंजमा सुरक्षा व्यवस्था हिजोको तुलनामा कडा पारिएको छ भने प्रहरी तथा सशस्त्र प्रहरी परिचालन बढाइएको छ । यति हुँदा-हुँदै पनि आज विहानैदेखि नेपालगञ्जका विभिन ठाउँमा झडप भने जारी रहेको छ । आज विहानदेखि भएका झडपका क्रममा विभिन्न पसलहरुमा तोडफोड समेत गरिएको छ । मधेशी सामुदाय र पहाडी समुदाय दुबै तर्फका हिंसा प्रभावित व्यक्तिहरुले आज पनि दंगालाई जारी राखेका हुन् । यसबाट त्यहाँका स्थानीय स्कुल, कलेज, बजार ठप्प रहेका छन् । सर्वसाधारणहरु २ दिनदेखि घरमा थुनिनुपर्दा अप्ठ्यारोमा परेका छन् । प्रदर्शनकारीहरु नाङ्गा खुकुरी बोकेर चोकचोकमा हिडिराखेका छन् भने नेपालगञ्जमा भारतको सीमा भने हिजै देखि बन्द गरिएको छ । नेपालगञ्जको अस्तव्यस्त बजारमा संयुक्त राष्ट्रसंघीय उच्च आयुक्तको कार्यालयले भने अनुगमन जारी राखेको छ ।
यसैबीच आज नेपालगञ्जमा दंगा शान्त पार्न विहान ८.३० बजेदेखि हुने भनिएको ८ राजनीतिक दल, पहाडिया र मधेशी समुदाय सम्मिलित सद्भाव र्‍याली बिथोलिएको छ । नेपालगञ्जस्थित उद्योग व्यापार संघको कार्यालय त्रिभुवन चोकबाट सुरु गर्न लागिएको र्‍यालीमाथि ढुंगामुढा प्रहार भएपछि र्‍याली बिथोलिएको हो । हिजोको घटनामा लोकतन्त्र विरोधीहरुको हात रहेको भन्दै हिजो बसेको ८ राजनीतिक दलको बैठकले आज सद्भाव र्‍याली निकाल्ने निर्णय गरेको थियो । मंगलबार हिंसा नेपालगञ्ज बजारमा सीमित रहेको भए पनि आज त्यो कोहलपुरसम्म विस्तार भएको छ। मंगलबार भड्केको हिंसामा स्थानीयवासी कमल गिरीको मृत्यु भएको थियो । घटनामा दर्जनौ घाइते भएका छन् । घाइतेहरुको विभिन्न अस्पतालहरुमा उपचार भइरहेको छ।
त्यसैगरी मंगलबार तोडफोड आगजनीमा होटल हंगेरी, पत्रकार सम थापाको मोटरसाइकल, शाक्य ज्वेलर्स, बाबा फर्निचर उद्योग, सरस्वती मावि, एभरेष्ट आयल सप्लायर्स, न्यू नेपाल इलेट्रोनिक्स मर्मत सेन्टर लगायतका दर्जनौं होटल पसलदेखि थुप्रै व्यवसायिक स्थानहरु ध्वस्त भएका छन् । यो ध्वस्त स्थानबाट अरबौंको धनमाल क्षति भएको अनुमान गरिएको छ । दिनभरको मुठभेडमा प्रहरीको गोलीबाट भवानीपुर निवासी कमल गिरी र प्रदर्शनकारीको कुटपिटबाट बाँकेका अनिल गुप्ताको मृत्यु भएको छ भने प्रहरीकै गोलीबाट जनीर खाँ लगायत दर्जनौं घाइते र भीडन्तकारीको दोहोरो ढुंगा हानाहानबाट २ दर्जन भन्दा बढी घाइते भएका े छन् । गृप्ताको मृत्यु भने पुष्टि भइसकेको छैन ।
यसैबीच नेपाल सद्भावना पार्टी आनन्दीदेवीले नेपालगञ्जको हिंसाप्रति ध्यानाकर्षण भएको जनाउँदै त्यहाँका प्रमुख जिल्ला अधिकारी र प्रहरी जिल्ला प्रमुखलाई अबिलम्ब निलम्बन गर्न माग गरिएको छ ।
प्रहरी प्रशासनको अकर्मण्यताले गर्दा हिंसा एकतर्फी रुपले भड्किन पुगेको ठहर गर्दै सद्भावना आनन्दीदेवीले शान्तिपूर्ण मधेश बन्दबाट आतंकित तत्व र मानसिकतानै हिंसालाई आकार दिने प्रमुख कारण भएको जनाएको छ । उपाध्यक्ष भारत विमल यादवद्वारा जारी विज्ञप्तिमा पुस ११ गतेको उत्तेजक घटनाबारे सत्य-तथ्य जाँच गर्न अबिलम्ब एक न्यायायिक छानविन आयोग गठन गर्न सरकारसँग माग गरिएको छ । पार्टीले हिंसा नियन्त्रणमा लिनुको साटो भड्काउने भुमिका खेलेका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखलाई तत्काल निलम्बन गरी कारवाहीको माग गरिएको छ । साथै हिंसात्मक दंगामा भएको क्षतिको मूल्यांकन गरी क्षतिपूर्ति दिन पार्टीले सरकारसँग माग गर्दै समाजिक सद्भाव कायम राख्न सबैमा अपिल गरेको छ ।

No comments: