नेपालको सम

Wednesday, December 27, 2006

>> चिकित्सक हड्तालका कारण एक विरामीको मृत्यु, चिकित्सकद्वारा हातपात

काठमाडौ ११ पुस २०६३ । चिकित्सकहरु आन्दोलनमा उत्रिएपछि उपचार नपाएर राजधानीमा आज एक विरामीको मृत्यु भएको छ ।
आत्महत्या प्रयास गरेपछि अपरान्ह वीर अस्पताल पुर्‍याइएका ती विरामीको उपचार अभावमा मृत्यु भएको हो । पटक-पटक आफूहरुमाथि हमला हुन थालेपछि सुरक्षाको माग गर्दै विरोधमा उत्रिएका चिकित्सकहरुले आज राजधानीका सबै सरकारी अस्पतालमा बहिरङ्ग सेवा बन्द गरेका छन् । चिकित्सक संघले शान्ति सुरक्षाको प्रत्याभूति, आक्रमणकारीमाथि कारबाहीलगायतका भाग राखी भोलिदेखि तीन दिनसम्म देशभरका निजी र सरकारी स्वास्थ्य संस्थाका आकस्मिक बाहेकका सेवा बन्द गर्ने निर्णय गरेको छ।
माग पुरा नभए देशभरका स्वास्थ्य संस्थाहरु बन्द गरी सशक्त संघर्षमा उत्रने चेतावनी नेपाल चिकित्सक संघले दिएको छ। चिकित्सकहरुले संघर्षको घोषणा गर्दै उपचार सेवा बन्द गरेपछि कैयौ विरामीले आज उपचार सेवा पाएनन् । उपचार अभावमा आज विरामीको मृत्यु भएको भन्दै गुनासो गर्न पुगेका मृतकका आफन्तमाथि अस्पतालका चिकित्सकले उल्टै आफू आन्दोलनमा उत्रिएको बताउँदै हातपात गर्दा एक जना घाइते भएका छन् ।
त्यस्तै हात भाँचिएर उपचारका लागि वीर अस्पताल पुर्‍याइएका एक स्कुले विद्यार्थीको उपचार गर्न चिकित्सक नमाने शिक्षकले जनाएका छन् । उनले हड्तालका बेला उपचार नगर्ने बताउँदै आक्रोशित चिकित्सकले आफूमाथि हातपात गरेको बताएका छन् ।
त्यसैगरी चिकित्सकको बन्दका कारण परेको प्रभावको समाचार संकलन गर्न गएका कान्तिपुर टीभीका सम्वाददाता र क्यामरा म्यानमाथि पनि चिकित्सकहरुले दुर्व्यवहार गरेका छन् । उक्त घटनाको पत्रकार महासंघ कान्तिपुर शाखाले भर्त्सना गरेको छ। आज वीरअस्पतालमा पत्रकार तोया दाहाल र क्यामराम्यान पुनम बाँस्कोटामाथि वीरअस्पतालमा कार्यरत डा. कृष्णप्रसाद पौडेल र अम्बुज कर्णसहितको समूहले आक्रमण प्रयास गरेको थियो ।

No comments: