>>मलेसियामा आठ नेपाली जेलमा उद्धारका लागि परिवारजनको अनुरोध
काठमाण्डौ पुस १५/
वैदेशिक रोजगारीका लागि मलेसिया पुगेका आठ जना नेपाली विगत केही समयदेखि त्यहाँको जेलमा रहेको उनीहरुका आफन्तले जनाएका छन् ।रोजगारीको खोजीका क्रममा मलेसिया पुगेका उनीहरुलाई प्रवेशाज्ञा नक्कली भएको भन्दै जेलमा राखिएकाले उनीहरुको अबिलम्ब रिहाईका लागि पहल गरिदिन उनीहरुका परिवारजनले सरकार तथा अन्य सम्बद्ध संस्थाहरुसँग आग्रह गरेका छन् ।माउन्ट एभरेष्ट कन्सल्टेन्सीमार्फत मलेसिया पुगेका ती आठ जना नेपाली कामदारमा नुवाकोट कृष्णप्रसाद ओझा, स्याङ्जाका गोविन्द थापा, मोरङका लेखनाथ खनाल, झापाका तर्कबहादुर घिमिरे र तमप्रसाद पनेरु, काठमाडौका मोहनबहादुर खत्री, लमजुङका विजय गुरुङ र कास्कीका रामचन्द्र बास्तोला रहेका छन् ।मलेसियाको तामन युनिभर्सिटी कम्पनीमा काम गर्न श्रम तथा रोजगार प्रवर्द्धन विभागबाट स्वीकृति दिई त्यसतर्फ गएका ती आठ जना नेपालीलाई केही समय काम गरेपछि मलेसियाको अध्यागमन कार्यालयले प्रवेशाज्ञा नक्कली भएको भन्दै गत वर्ष पक्राउ गरी जेलमा राखेको पीडितका परिवारजनले जानकारी दिएका छन् ।
No comments:
Post a Comment