नेपालको सम

Friday, December 29, 2006

>> हतियार अनुगमनमा खटिने गोर्खा भूपूहरुको छनोट सुरु

काठमाडौ १४ पुस २०६३ । हतियार व्यवस्थापनको अनुगमनमा संयुक्त राष्ट्रसंघलाई सघाउन सरकारको आव्हानपछि दरखास्त दिने पूर्व गोरखा सैनिकको छनौट गर्न गठित समितिले छनौट प्रक्रिया प्रारम्भ गरेको छ ।
हतियार व्यवस्थापनको अनुगमनका लागि राष्ट्रसंघको मिसन नआउँदासम्म अन्तरिम प्रबन्धको रुपमा भारतीय र बेलायती सेनामा कार्यरत पूर्व सैनिकलाई खटाउन सरकार र माओवादी सहमत भएपछि उनीहरुको छनौट प्रक्रिया सुरु गरिएको हो । समितिका सदस्य माओवादी डेपुटी कमाण्डर बलदेवका अनुसार पूर्व गोरखाहरुको दरखास्त अध्ययन गर्ने क्रम सुरु भएको छ । दरखास्तका लागि अस्तिसम्म तोकिएको समयमा ५ सय ७७ जना पूर्व गोरखा सैनिकले आवेदन दर्ता गरेका थिए । राष्ट्रसंघीय प्रतिनिधिको उपस्थितिमा सरकार र माओवादीबीच १ सय ११ पूर्व गोरखा सैनिकलाई परिचालन गर्न सहमति भए बमोजिम ती आवेदन दर्ता भएका हुन् ।
यसअघि सरकारी र माओवादीबीच सो समिति गठन गरी २/३ दिनभित्र छनौट कार्य पूरा गर्ने सहमति भएको थियो । सो समितिमा सरकार, माओवादी, राष्ट्रसंघ सम्मिलित संयुक्त अनुगमन समन्वय समितिका सदस्यहरु रहने सहमति भएको थियो । नवगठित समितिलाई केही समस्या परे त्यसको समाधानका लागि सरकारी वार्ताकार श्रम राज्य मन्त्री रमेश लेखक र माओवादी वार्ताकार देव गुरुङ सम्मिलित २ सदस्यीय रिभ्यु प्यानल समेत गठन गरिएको छ ।

No comments: