>>आज देशभरका कालोकोटधारीबीच भिडन्त
काठमाडौ २९ पुस २०६३
देशभरका करिब १० हजार कानुन व्यवसायीहरु नयाँ नेतृत्व चयनका लागि आज चुनावी प्रतिस्पर्धामा उत्रने भएका छन् । कालोकोटधारीहरु आज बिहानैदेखि कसलाई नेतृत्वमा ल्याउने र कुन पक्षमा मतदान गर्ने भन्नेमा व्यस्त थिए ।
नेपाल बार एसोसिएसनमा सक्षम नेतृत्व चयनका लागि देशभरका ९ हजार ५ सय ३९ जना वकिलले आज मतदान गर्दैछन् । काठमाडौ र बाहिर गरी ३३ मतदान केन्द्र तोकिएको बताइएको छ। सबैभन्दा बढी मतदाता काठमाडौमै रहेका छन् । काठमाडौमा वकिलहरुको मतदाता संख्या ५ हजार ९ सय २५ रहेको छ। त्यस कारण पनि काठमाडौमा खस्ने मतले ठुलो महत्व राख्दछ ।
यस पटक बारको अध्यक्षमा ४, उपाध्यक्षमा ५ पदका लागि ११ जना, महासचिव ३ जना, कोषाध्यक्षमा २ जना र सदस्यमा ९ पदका लागि २१ जनाले उम्मेदवारी दिएका छन् । यसअघि प्रजातान्त्रिक समूह भनिदै आएकोमा यस पटक लोकतान्त्रिक समूह नामाकरण गरिएको छ । लोकतान्त्रिक समूहबाट बसन्तराम भण्डारीले अध्यक्षमा उम्मेदवारी दिएका छन् भने प्रगतिशील समूहबाट विश्वकान्त मैनाली अध्यक्षमा उठेका छन् । अध्यक्ष पदका दुवै उम्मेदबार बरिष्ठ अधिवक्ता हुन् ।
राजावादीहरुले पनि अध्यक्ष लगायतका केही पदमा उम्मेदवारी दिएका छन् । त्रिलोचन गौतमले प्रजातन्त्रवादी नाम राखी अध्यक्षमा उम्मेदवारी दिएर राजावादी वकिलको मत बटुल्न खोजेका छन् भने अध्यक्षका अर्का स्वतन्त्र उम्मेदवार तारा ढुंगाना पनि छन् ।
संविधानसभाको चुनावमा देश प्रवेश गरिसकेकाले सबैजसो उम्मेदवारले संविधानसभाको चुनावमा निष्पक्ष भूमिका निर्वाह गर्ने कुरालाई आफ्नो मुख्य एजेण्डा बनाएका छन् । स्वतन्त्र न्यायापालिका चाहिन्छ भन्ने त सबैको आधारभूत नारा नै बनेको छ।
No comments:
Post a Comment