>>पूर्व गोर्खा सैनिक माओवादी शिविरतर्फ प्रस्थान
काठमाडौ २५ पुस२०६३ । सेना र हतियार अनुगमनका लागि गठित अन्तरिम कार्यदलका पूर्व गोर्खा सैनिकहरुलाई आजदेखि माओवादीको शिविरतर्फ पठाइएको छ।
१४/१४ जनाको सात वटा टोली बनाएर उनीहरुलाई माओवादी शिविरतर्फ पठाइएको बताइएको छ। प्रत्येक टोलीमा एक जना टोली नेता रहने व्यवस्था मिलाइएको बुझिएको छ। अन्तरिम कार्यदलका कमाण्डर भिमबहादुर गुरुङले आगामी शनिबारसम्ममा माओवादी जनमुक्ति सेनाको सात वटै शिविरमा टोली स्थापना भइसक्ने र आइतबारदेखि पूर्ण परिचालनमा आउने जानकारी दिनुभयो ।
पूर्व गोर्खा सैनिकलाई माओवादी सैन्य शिविरको चौबीस घण्टे अनुगमनको कार्यमा प्रयोग गरिनेछ । सोमबार सुरु भएको आधारभूत तालिम सकिनासाथ आज उनीहरुलाई शिविरतर्फ पठाइएको हो । संयुक्त राष्ट्र संघको पूर्ण टोली नआइपुगेसम्मका लागि पूर्व गोर्खा सैनिकलाई सेना तथा हतियार अनुगमनको काममा प्रयोग गर्ने सहमति अनुसार नै अन्तरिम कार्यदल गठन गरिएको थियो । अन्तरिम कार्यदलमा १ सय ११ पूर्व गोर्खा सैनिकहरु रहेका छन् ।
त्यसैगरी सेना तथा हतियार दर्तासम्बन्धी राष्ट्र संघीय विज्ञहरुको एक टोलीले आज सुर्खेतको दशरथपुर र रोल्पाको दहवनस्थित माओवादी सेनाको अस्थायी शिविरको निरीक्षण गरेको छ। आउने साता सुरु गरिने भनिएको हतियार र सेना दर्ता प्रक्रियाको तयारीका लागि सो निरीक्षण भ्रमण गरिएको बताइएको छ। रोल्पास्थित माओवादीको पाँचौ डिभिजनका कमाण्डर शरदले माओवादी हतियार भण्डारण गरिने कन्टेनर राख्ने स्थान, राष्ट्र संघीय अनुगमनकर्ता रहने भवन निर्माणलगायतका विषयमा छलफल भएको जानकारी दिए ।
सो टोलीले सोमबार चितवनको शक्तिखोर, नवलपरासीको अरुणखोला र रोल्पाको दहवनस्थित मुख्य शिविरको भ्रमण गरी सेना र हतियार दर्ता प्रक्रिया र त्यसको स्वरुपबारे सम्बन्धित डिभिजन कमाण्डरसँग विस्तृत छलफल गरेको थियो ।
यसै साताभित्र सात वटै शिविरको निरीक्षण भ्रमण गर्ने सो टोलीको कार्यक्रम रहेको बताइएको छ। त्यस्तै राष्ट्र संघीय अनुगमनकर्ताहरुको एक टोलीले नेपालगञ्जमा आफ्नो कार्यालय स्थापना गरी आजदेखि आफ्नो काम सुरु गरेको छ।
No comments:
Post a Comment